सन् १९९० को दशकमा भुटानबाट विस्थापित हुन बाध्य भुटानी शरणार्थीको कथामा ‘ल्हो–छाम्पा’ चलचित्र बन्ने भएको छ । चलचित्रले भुटानबाट नेपालीभाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्वन्द्वलाई प्रस्तुत गर्नेछ। ‘ल्हो–छाम्पा’ भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने शब्द हो ।
चलचित्रलाई नक्षत्र लाइभ म्युजिकका लागि अर्जुन सुवेदीले निर्माण गर्नेछन् । तेस्रो देश पुनर्वासका क्रममा हाल अमेरिकामा रहेका सुवेदीले नक्षत्र फाउन्डेसन र नक्षत्र लाइभ म्युजिकमार्फत नेपाली गीत, संगीत र कलाका विविध विधामा योगदान गरिरहेका छन्।
निर्माता सुवेदीले आफूले भोगेको कालवेलालाई आउँदा पुस्तालाई दस्ताबेजीकरण गर्ने उद्देश्य साथ चलचित्र निर्माणमा अग्रसर भएको बताए। ‘भुटानदेखि नेपालका शरणार्थी शिविरसम्म हाम्रो पुस्ताले जे भोग्यो, त्यो कुरा पछिको पुस्ताका लागि पनि दृश्यको माध्यममा संरक्षित रहोस् भन्ने उद्देश्यले यो चलचित्र निर्माण गरेका हौँ । तर, यो कथालाई हामी रमाइलो गरी वाचन गर्नेछौँ,’ सुवेदीले भने।
चलचित्रलाई नरेशकुमार केसीले निर्देशन गर्नेछन्। उनको यो तेस्रो निर्देशकीय चलचित्र हुनेछ । नरेशले यसअघि ‘डाइङ क्यान्डल’ र ‘रोमियो एन्ड मुना’ निर्देशन गरेका छन्।
चलचित्रमा सामीप्यराज तिमल्सेनाको पटकथा र अर्जुनको पोखरेलको संगीत रहनेछ । चलचित्रका लागि कलाकार तथा प्राविधिकको टुंगो लाग्न बाँकी छ । निर्माता सुवेदीले केही दिनमै कलाकार र प्राविधिकको नाम सार्वजनिक गर्ने बताए।