नेपाल प्रहरीमा सुरु हुन लागेको ‘लिडरसिप एन्ड स्टाफ कलेज’को प्रवेश परीक्षाका लागि १३१ प्रहरी अधिकृतको सूची प्रकाशित भएको छ। प्रहरी प्रधान कार्यालयले ५६ डिएसपी र ७५ इन्स्पेक्टरको सूची प्रकाशित गरेको हो।
उनीहरूमध्ये ३५ जना स्टाफ कलेज कोर्समा आबद्ध हुन पाउनेछन्। नेपाल प्रहरीमा यही वर्षदेखि स्टाफ कलेज सुरु हुन लागेको हो।
२०७० सालको चैतमा भर्ना भएका इन्स्पेक्टरको ब्याचबाट स्टाफ कलेज सुरु गर्न लागिएको हो। सो ब्याचका १४४ जना रहेकोमा विविध कारण १३ जना प्रवेश परीक्षामा सहभागी हुन नसक्ने जानकारी गराएका छन्। जसमा ११ डिएसपी र दुई इन्स्पेक्टर छन्।
डिएसपीहरू चेतना पोखरेल, सुरक्षा केसी, नवराज ढुंगेल, रघुसिंह विष्ट, राजेशराज पुरी, चन्द्रबहादुर थापा, बोधराज रेग्मी, राजेन्द्रकुमार उपाध्याय, ईश्वरीप्रसाद भण्डारी, सुभद्रा लामा बाइवा, शंकर पोखरेल तथा इन्स्पेक्टरहरू विष्णुप्रदीप बश्याल र दिवसबहादुर जिसीले प्रवेश परीक्षामा भाग नलिने जानकारी दिएका हुन्। उनीहरूमध्ये आठजना शान्ति मिसनमा छन्। एक प्रहरी अधिकृतले बढीमा तीनपटकसम्म मात्र प्रवेश परीक्षा दिन सक्ने प्रावधान यससम्बन्धी कार्यादेशमा उल्लेख छ। स्टाफ कलेज नगर्ने अधिकृतहरूलाई बढुवाको दोस्रो लटमा राख्ने र एसएसपीभन्दा माथिल्लो तहमा बढुवा नगर्ने गरी कानुन संशोधन गर्न लागिएको छ।
प्रहरी एकेडेमीले फागुनको अन्तिम साता प्रवेश परीक्षा लिएर चैतदेखि नै कोर्स सुरु गर्ने प्रक्रिया अघि बढाएको छ।
प्रवेश परीक्षामा छनोट भएकाहरूको अन्तिम सूचीः