राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण वरिष्ठतम् सहसचिव डा. भीष्मकुमार भुसालले कार्यकारी प्रमुखको जिम्मेवारी पाउने भएका छन्।
गृह मन्त्रालयले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, ०७६ संशोधन गरेर नियुक्ति नहुन्जेलसम्मका लागि प्राधिकरणमा कार्यरत वरिष्ठतम् सहसचिवलाई कार्यकारी प्रमुखको रुपमा काम गर्नेगरी जिम्मेवारी दिनसक्ने व्यवस्था गरेसँगै भुसाललाई जिम्मेवारीको बाटो खुलेको हो। उनी भोलि शुक्रबारदेखि जिम्मेवारी सम्हाल्दैछन् ।
नियमावलीमा नियम ५ ग थप गरेर कार्यकारी प्रमुखको कार्यकाल समाप्त भएमा वा कुनै कारणले सो पद रिक्त भएमा कार्यकारी प्रमुखको नियुक्ति नभएसम्मका मन्त्रालय (गृह)ले प्राधिकरणमा कार्यरत वरिष्ठतम् सहसचिवलाई कार्यकारी प्रमुखको रुपमा काम गर्नेगरी जिम्मेवारी दिन सक्नेछ’ व्यवस्था गरिएको हो। संधोधित नियमावली बिहीबार मात्र राजपत्रमा प्रकाशित भएको छ।
प्राधिकरणमा भुसालसँगै चारजना सहसचिव रामबन्धु सुवेदी, रोशनीकुमारी श्रेष्ठ र इन्जिनियर अर्जुनकुमार बम कार्यरत छन्। प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी अनिल पोखरेल १ मंसिरमा पाँच वर्षे कार्यकाल सकेर घर फर्के पछि नयाँ नियुक्ति हुन सकेको छैन । कर्मचारीलाई जिम्मेवारी दिने कानुनी प्रावधान पनि थिएन।
नियुक्ति प्रक्रिया अड्कियो
प्राधिकरणको कार्यकारी प्रमुखका लागि १६ जना प्रतिस्पर्धामा रहे पनि प्रक्रिया अड्किएको छ। गृहले गठन गरेको सिफारिस समितिले गत मंसिरमा दरखास्त आह्वान गरेपछि परेको आवेदनका आधारमा १६ जना उम्मेदवार काम भएका थिए। तीमध्ये उत्कृष्ट समान अंक प्राप्त गर्ने चारजना छन्। वसन्तराज अधिकारी ९२४.५०, सुमनकुमार कर्ण ९२४.५०, मन्दीप सुवेदी ९२४.५० र गणेशकुमार जिमी ९२४.५० अंक छ। त्यस्तै, पाँचौँ नम्बरमा धर्मराज उप्रेती ९२३.५० छन्। तर, यसपछि सिफारिस समितिले प्रक्रिया अगाडि बढाएको छैन। सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले कार्यकारी प्रमुख नियुक्त गर्छ।
प्रधानमन्त्रीको अध्यक्षतामा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् छ भने गृहमन्त्रीको अध्यक्षतामा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति छ। परिषद् र समितिको सदस्य सचिवका रूपमा प्राधिकरणका कार्यकारी प्रमुख रहने व्यवस्था छ।