संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड युनियन अधिकारसहित संघीय निजामती सेवा ऐन पारित हुने बताएका छन्।
बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा ट्रेड युनियनका नेताहरूलाई आश्वासन दिँदै उनले बजारमा हल्ला चलेअनुसार ट्रेड युनियन महासंघ खारेजीको पक्षमा सरकार नरहेको स्पष्ट पारे।
‘निजामती सेवा ऐन जारी गराउन राज्य व्यवस्था समितिमा हामी निरन्तर छलफलमा छौँ। धेरै सल्लाह त यो पनि आएको छ कि ट्रेड युनियन नै खारेज गरौँ, ट्रेड युनियनको जरुरत छैन। तर, तपाईंहरूको हकअधिकारका लागि ट्रेड युनियनको जरुरी छ। त्यो कुरा हामीले राम्रोसँग बुझेका छौँ र यसबारे अन्य छलफल पनि गरिरहेका छौँ,’ मन्त्री गुप्ताले भने, ‘ट्रेड युनियनको अधिकारका साथ यो ऐन आउँछ। तपाईंहरू ढुक्क हुनुहोस्।’
आफूले मन्त्रालयको कार्यभार सम्हाल्दादेखि नै निजामती सेवा विधेयकलाई प्राथमिकतामा राख्दै आएको दाबी गर्दै उनले आफ्नो एक सय र दुई सय दिनको प्रगति विवरण तथा प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौतामा समेत यो विषयलाई पहिलो प्राथमिकतामा राखेको बताए।