कास्कीबाट धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीमा मुद्दा दायरको प्रक्रिया अघि बढेको छ । प्रहरीले शुक्रबार रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलनमा लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस भएको छ । एक अर्ब १२ करोड हिनामिना भएको प्रहरीको अनुसन्धान प्रतिवेदन छ । यो सहकारीबाट रवि लामिछानेको नाम देखाएर चार करोड रुपैयाँ गोर्खा मिडियामा गएकाले सो रकमलाई बिगो कायम गर्न माग गरिएको छ ।
प्रहरीको प्रतिवेदन अध्ययन भइरहेको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए। स्रोतका अनुसार आगामी साता जिल्ला अदालत, रुपन्देहीमा मुद्दा सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर गर्ने तयारी छ।
लामिछानेविरुद्ध यसअघि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको अपचलनमा पनि मुद्दा दायर भइसकेको छ । जसमा उनी आइतबार अदालतमा उपस्थित हुँदैछन् । उनीविरुद्ध चितवन र पर्सा प्रहरीले पनि मुद्दा दायरको तयारी गरिरहेको छ ।