मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २६ शुक्रबार
  • Friday, 10 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २६ शुक्रबार २१:२३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

स्काउटमा अराजकता : आफ्नो कार्यकक्ष गैरकानुनी व्यक्तिले कब्जा गरेको भन्दै स्काउटका कार्यकारी प्रमुखले सुरक्षा माग्दै लेखे पत्र 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २६ शुक्रबार २१:२३:oo

आफू बहाल रहेको कार्यकारी प्रमुखको  कार्यकक्षमा  गैरकानुनी व्यक्तिलाई बसालेपछि सुरक्षा माग्दै नेपाल स्काउटका कार्यकारी प्रमुख रामप्रसाद भट्टराईले युवा तथा खेलकुद मन्त्रालयलाई पत्र लेखेका छन्।

 शुक्रबार स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले एकलौटी निर्णय गरेर अजित लामालाई कार्यकारी प्रमुख बनाउने निर्णय गरेका थिए । सो निर्णय अवैध भएको स्टकाउटका कर्मचारीहरूको भनाइ छ । लामा युवा संघका केन्द्रीय सदस्य हुन्।

लामा जबर्जस्ती आफ्नो कार्यकक्षमा गएर बसेपछि कार्यकारी प्रमुख भट्टराईले असुरक्षित महसुस गरेका छन् । आफ्नो कुर्सीमा गैरकानुनी रूपमा अरूलाई जिम्मेवारी दिएको भन्दै कार्यकारी प्रमुख भट्टराईले प्रेस विज्ञप्ति नै जारी गरेका छन् । स्काउटका प्रमुख आयुक्त रञ्जितले अवैध र गैरकानुनी रूपमा लामालाई आफ्नो जिम्मेवारी रहेको कार्यालय प्रमुखको कुर्सीमा नाटकीय ढंगबाट बसालेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले जनाएका छन् । 

‘ती व्यक्ति (लामा) ले अपरिचित मानिसहरूको समूह परिचालन गरी कार्यालय प्रमुखको कार्यकक्ष एवं कार्यालय कब्जा गरेका कारण नेपाल स्काउटको सम्पत्ति तथा मसहित कार्यालयमा कार्यरत कर्मचारीलाई सुरक्षा खतरा पैदा भएको घटनाप्रति म अत्यन्त दुःखी र चिन्तित छु,’ भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘म मेरो कार्यकक्षमा बसी नियमित रूपमा काम गरिरहेको समयमा प्रमुख आयुक्त रञ्जितले अवैध रूपमा एकाएक मेरो कुर्सीमा अन्य कसैलाई राखेको घटनालाई कुनै आधारमा पनि कानुनी र वैध मान्ने अवस्था हुनै सक्दैन ।’ 

 

नेपाल स्काउट ऐन, २०५० (संशाेधनसहित), नेपाल स्काउट नियमावली, २०७७ (संशाेधनसहित),  नेपाल स्काउट कर्मचारी सेवा नियमावली, २०५२ (संशाेधनसहित) र प्रचलित कानुनको ठाडो उल्लंघन गरी यस्तो अवाञ्छित गतिविधि गरिएको विज्ञप्तिमा उल्लेख छ । नेपाल स्काउटका प्रमुख स्काउट तथा ‘राष्ट्रिय कार्यकारी समितिसँग समेत कुनै आधिकारीक छलफल र निर्णय नगराई प्रमुख आयुक्त एक्लैले मनोमानी ढंगबाट वहालवाला कार्यालय प्रमुखप्रति अवैध र अभद्र व्यवहार गर्दै अनधिकृत व्यक्तिलाई कार्यालय प्रमुखको कार्यकक्ष कब्जा गर्न दिएको घटनाले कानुनी राज्यको उपहास मात्र नभई समग्र स्काउट अभियानलाई नै अपमान गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । 

पछिल्लो केही समयदेखि नेपाल स्काउटको प्रमुख आयुक्तबाट भएका अवैधानिक, अनुशासनहीन र अराजक गतिविधिसँग डटेर लड्दै गर्दा आफूमाथि मानसिक रूपमा तनाव दिने र शारीरिक रूपमा समेत आक्रमण गर्न सक्ने गरी योजनाबद्ध ढंगबाट घटना गराइएको कार्यकारी प्रमुख भट्टराईले जनाएका छन् । 

लामालाई अनधिकृत रूपमा कार्यालय प्रमुखको कुर्सीमा बसालेको र ती व्यक्तिले आफूसमेत अपरिचित मानिसहरूको समूह परिचालन गरी कार्यालय प्रमुखको कार्यकक्ष एवं कार्यालय कब्जा गरी सार्वजनिक सम्पत्तिको असुरक्षा र कार्यालयका कर्मचारीलाई धाक–धम्की दिएकाले अविलम्ब कार्यालय र कर्मचारीको सुरक्षाका लागि कार्यकारी प्रमुख भट्टराईले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई पत्र लेखेका थिए ।

अनधिकृत मानिसहरूले गैरकानुनी रूपमा कब्जा गरिएको कार्यालयबाट अनधिकृत मानिसहरू हटाई प्रवेश निषेध गरी कार्यालय र कर्मचारीको शान्ति–सुरक्षा कायम अनुरोध गर्दै उनले मन्त्रीलाई पत्र बुझाएका थिए । 

स्काउटका तर्फबाट कार्यकारी प्रमुख भट्टराईले सुरक्षा व्यवस्थाको मागसहित पत्र दिएपछि मन्त्री चौधरीले काठमाडौं जिल्ला प्रशासनलाई पत्र पठाएका छन् ।


नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा कब्जा गरी बसेका अनधिकृत मानिसलाई हटाई प्रवेशमा रोक लगाई कार्यालय र  कर्मचारीहरूको शान्ति सुरक्षाका लागि तुरुन्त सुरक्षाकर्मीहरू परिचालन गर्न तोकआदेश भएकाले आवश्यक सहजीकरणका लागि भन्दै मन्त्री चौधरीको सचिवालयले काठमाडौं जिल्ला प्रशासनलाई पत्र पठाएको छ।