राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनका लागि दलका तर्फबाट धारणा बनाउन कार्यदल गठन गरेको छ । शनिबार र आइतबार गरी दुई दिन बसेको केन्द्रीय समिति बैठकले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा संविधान परिमार्जन सुझाव कार्यदल गठन गरेको हो ।
कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार समितिमा सोबिता गौतम, गणेश पराजुली, असीम शाह, गणेश कार्की, मेघ आले, क्रान्तिशिखा धिताल, डा. नन्दन यादव र कुसुम महर्जन सदस्य छन् । कार्यदलले संविधान परिमार्जनका लागि सुझाव संकलन गर्न सातै प्रदेशमा छलफल चलाउने र संविधानविद् एवं सरोकारवालासँग आवश्यक परामर्श गरी दलको तर्फबाट धारणा सार्वजनिक गर्ने झाले बताए । उनका अनुसार प्रदेश तहमा गर्ने छलफलको संयोजन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेश सभापतिलाई तोकिएको छ ।
बैठकले संघीय सदनबाहिर रहेका राजनीतिक दल–शक्तिहरूका जनपक्षीय र राष्ट्रहितका आवाजलाई सदनमा प्रतिनिधित्व गर्ने गरी आवश्यक कार्य अगाडि बढाउने निर्णय गरेको पनि गरेको छ । बैठकले सरकारले हालै ल्याएको सहकारी अध्यादेश सभापति रवि लामिछानेलक्षित रहेको ठहर गर्दै प्रतिवाद गर्ने निर्णय लिएको छ ।
दुईमहिने संगठन निर्माण अभियान
रास्वपाले २ माघदेखि पार्टीको संगठन निर्माण अभियान सञ्चालन गर्ने भएको छ । केन्द्रीय समितिको निर्णयअनुसार दुई महिनासम्म सञ्चालन हुने अभियानको नेतृत्व केन्द्रीय सदस्यहरूले गर्नेछन् । अभियानमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग, जिल्ला–निर्वाचन क्षेत्र समितिसमेतको सहभागिता रहनेछ । अभियानले सदस्यता विस्तारका साथै पालिका तथा वडा समितिहरू निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिहरूलाई सहजीकरण गर्ने कार्यवाहक प्रवक्ता झाले बताए ।
केन्द्रीय कार्यसम्पादन एकाइ गठन
रास्वपाले महामन्त्रीको संयोजकत्वमा केन्द्रीय कार्यसम्पादन इकाइ गठन गरेको छ । पार्टीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पार्टी महामन्त्रीको संयोजकत्वमा सहमहामन्त्री पदेन रहने गरी केन्द्रीय सदस्य, केन्द्रीय सल्लाकार र केन्द्रीय विभाग सदस्य सम्मिलित इकाइ गठन गर्ने निर्णय गरिएको प्रवक्ता झाले बताए । यसैगरी, विभिन्न विषयहरूमा राजनीतिक, बौद्धिक परामर्शका लागि पार्टी केन्द्रीय तहमा सल्लाहकार परिषद्–थिंकट्यांक सदस्यहरू मनोनीत गर्दै जाने निर्णय गरेको छ ।
केन्द्रीय समितिले प्रयोजन पूरा भएका विभिन्न कार्यदलहरू विघटन गरेको छ । जसमा नीति विचार कार्यदल, केन्द्रीय उपनिर्वाचन परिचालन समिति, विधान संशोधन सुझाव कार्यदल, केन्द्रीय समिति सदस्य सिफारिस समिति रहेको छ । प्रवक्ता झाका अनुसार हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षामा पार्टीका प्रदेश महामन्त्रीहरू, केन्द्रीय संगठन विभाग तथा केन्द्रीय प्रशिक्षण विभागका सदस्यहरूको सहभागितामा उपनिर्वाचनमा पार्टीका अनुभव, सिकाइ र चुनौती समेटिएको समीक्षा प्रतिवेदन बैठकबाट पारित भएको छ ।
बैठकमा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक सन्दर्भमा जानकारी गराउँदै पार्टीका गतिविधिबारे पनि अवगत गराएका थिए । साथै, पार्टीका संस्थापक सभापति रवि लामिछानेका सम्बन्धमा चलिरहेको अदालती प्रक्रियासम्बन्धी पछिल्लो अवस्थाका सम्बन्धमा जानकारी गराएको प्रवक्ता झाले बताए ।