०८१ को बर्खामा नेपालबाट भारत र बंगलादेशमा १६ अर्ब ७० करोड आठ लाखबराबरको विद्युत् निर्यात भएको छ । त्यसमध्ये भारतमा मात्रै १६ अर्ब ६९ करोड ६५ लाख रुपैयाँको विद्युत् निर्यात भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
नेपालका अधिकांश जलविद्युत् आयोजनाहरू नदी प्रवाह (आरओआर)मा आधारित भएकाले बर्सातमा खोलामा पानी बढी हुँदा उत्पादन पनि बढी हुन्छ । यो समयमा विद्युत् निर्यात गर्न सकिन्छ, तर हिउँदमा खोलामा पानी कम हुँदा उत्पादन पनि स्वतः कम हुन्छ । त्यसैले यहाँको माग धान्न भारतबाट नै विद्युत् आयात गर्नुपर्ने बाध्यता छ । हिउँदमा नेपालमा क्षमताको ३० प्रतिशत मात्रै विद्युत् उत्पादन हुने गर्छ ।
गत वर्ष ०८० को बर्खामा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको थियो । त्यसअनुसार यसपालि बर्खामा विद्युत् निर्यात सामान्य दरमा बढेको छ ।
असोजमा आएको बाढीले चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ६ सय मेगावाटका परियोजना बन्द हुँदा यो वर्षको विद्युत् निर्यात प्रभावित भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘यो बर्खामा ३० अर्बभन्दा बढीको विद्युत् निर्यात गर्ने लक्ष्य थियो । तर, १०–१२ असोजमा आएको बाढीले माथिल्लो तामाकोशीसहित ६ सय मेगावाटका परियोजना बन्द हुँदा निर्यात केही प्रभावित भयो,’ उनले भने, ‘यसले हिउँदमा पनि विद्युत् उत्पादन प्रभावित हुने देखिएको छ ।’
प्राधिकरणका अनुसार जेठ र असारमा तीन अर्ब ६४ करोड ५१ लाखको विद्युत् निर्यात भएको छ । यसैगरी, साउनमा चार अर्ब १४ करोड ५० लाख, भदौमा तीन अर्ब ६७ करोड ८४ लाख, असोजमा तीन अर्ब ६ करोड ५१ लाख, कात्तिकमा एक अर्ब ८७ करोड र मंसिरमा २८ करोड १४ लाखको विद्युत् निर्यात भएको छ । यसबाहेक कात्तिक ३० गते बंगलादेशमा ३८ लाखबराबरको विद्युत् निर्यात भएको छ । यो वर्षदेखि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुन सुरु भएको छ ।
बंगलादेशमा असार १ देखि कात्तिक ३० गतेसम्म ४० मेगावाट विद्युत् निर्यात गर्न पाउने गरी सम्झौता भएको छ । यसबाहेक भारतमा भने करिब एक हजार मेगावाट विद्युत् निर्यात गर्न पाइन्छ । खोलामा पानी घटेर उत्पादनसमेत घटेपछि भारततर्फको विद्युत् निर्यात स्थगित गरिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।
साथै, स्वदेशी माग धान्न भारतबाट विद्युत् आयात पनि सुरु गरेको उनले बताए । ‘उत्पादन घटेसँगै स्वदेशी माग धान्न पुगेको छैन । त्यसपछि भारतबाट विद्युत् आयात पनि गर्न सुरु गरेका छौँ,’ उनले भने, ‘अहिले भारतबाट तीन सय मेगावाटसम्म विद्युत् आयात हुने गरेको छ ।’
प्राधिकरणले गत १३ मंसिरबाट आंशिक रूपमा विद्युत् आयात सुरु गरेको थियो । यद्यपि, निर्यात पनि कायमै थियो । यो सातादेखि भने विद्युत् निर्यात पनि स्थगित गरिएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार मंसिरमा भारतबाट १४ करोड ५१ हजार रुपैयाँको विद्युत् आयात भएको छ ।
भारतले यसपालि ६ सय ५४ मेगावाट विद्युत् खरिद गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृत दिएको छ । तर, साँझ ६ देखि ९ बजेसम्म भने विद्युत् किन्न पाइँदैन । विद्युत् बढी खपत हुने समयमा भारतले विद्युत् नदिएपछि प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत् कटौती गरेको छ । चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी सञ्चालनमा नआएसम्म औद्योगिक क्षेत्रको विद्युत् कटौती कायम हुने प्राधिकरणको भनाइ छ ।
आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मत–सम्भार भइरहेको छ । विद्युत् माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयको चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिने प्राधिकरणको भनाइ छ । आगामी जेठ मध्यबाट भने नेपाल पुनः विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नेछ ।
पाँच सय मेगावाट माग्दा भारतबाट ७० मेगावाट मात्रै आपूर्ति
अहिले भारतले साँझ ६ देखि ९ बजेसम्म विद्युत् दिन मानेको छैन । अन्य समयमा पनि भारतबाट विद्युत् पाउन मुस्किल भएको प्राधिकरणका एक उच्च अधिकारीले बताए । प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज मार्केटमा बिडिङ गरेर विद्युत् खरिद गर्ने हो । तर, त्यसमा अधिकतम सीमाको मूल्य प्रस्ताव गर्दा पनि विद्युत् पाउन नसकिएको प्राधिकरणका एक उच्च अधिकारीले बताए । ‘बिहीबार बिहान पाँच सय मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव गरेका थियौँ । त्यसका लागि अधिकतम मूल्य अर्थात् प्रतियुनिट १० भारु नै प्रस्ताव गरेका थियौँ । तर, हामीले ७० मेगावाट मात्रै विद्युत् पायौँ,’ उनले भने, ‘अहिले उच्च मूल्य प्रस्ताव गर्दा पनि भारतबाट मागअनुसार विद्युत् पाउन सकिएको छैन । यसले हामीलाई निकै चिन्तित बनाएको छ ।’
उद्योगीले दिएनन् आवश्यक विवरण
पहिला भारतबाट २४ घण्टा नै विद्युत् आयात गर्न पाइन्थ्यो । यद्यपि, प्रसारणलाइन अभावका कारण पूर्वी क्षेत्रका उद्योगमा भने विद्युत् कटौती हुने गरेको थियो । भारतबाट विद्युत् आयात गरेर पूर्वमा विद्युत् पठाउन सक्ने अवस्था थिएन । यसपालि प्रसारणलाइन बनिसकेको छ । तर, भारतले पिक समयमा विद्युत् नदिने भएपछि व्यवस्थापनमा निकै चुनौती भएको प्राधिकरणले जानकारी दिएको छ । यही वेला उद्योगीले पनि सहयोग नगरेको प्राधिकरणका कर्मचारीले बताएका छन् । विशेष गरी उद्योगीहरूले कति विद्युत् चाहिन्छ भनेर कुनै पनि विवरण नदिएको एक कर्मचारीले बताए । ‘हामीले उद्योगलाई भोलिपल्ट कति विद्युत् चाहिन्छ भनेर विवरण मागेका छौँ । त्यो भएको अवस्थामा हामीलाई सोहीअनुसार विद्युत् व्यवस्थापन गर्न सहज हुने थियो । त्यो विवरणले हाम्रो आधार समस्या समाधान गर्छ,’ उनले भने, ‘तर, पटक–पटक माग्दा पनि उद्योगीले त्यस्तो विवरण दिएका छैनन् ।’
भारतसँग राजनीतिक र कूटनीतिक पहल बढाउनुपर्छ : देवेन्द्र कार्की, पूर्वऊर्जासचिव
पूर्वऊर्जासचिव देवेन्द्र कार्कीले पिक आवरको विद्युत् व्यवस्थापन गर्न माथिल्लो तामाकोशी नै सञ्चालनमा आउनुपर्ने बताए । भारतबाट विद्युत् आयात गर्न राजनीतिक र कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ ।
‘माथिल्लो तामाकोशी सञ्चालनमा आयो भने पिक आवरको विद्युत् व्यवस्थापन गर्न सकिन्छ । साथै, पिक आवरमा भारतबाट विद्युत् आयात गर्न पाउने गरी भारतसँग राजनीतिक तथा कूटनीतिक पहल पनि गर्नुपर्छ । यसमा प्राधिकरणले चाहेर मात्रै हुँदैन,’ उनले भने ।
दीर्घकालीन रूपमा हिउँदको विद्युत्को माग व्यवस्थापन गर्न जलाशययुक्त परियोजना बन्नुपर्छ । तर, त्यो तत्काल बन्न सम्भव छैन । तसर्थ, त्यस्ता परियोजनाको निर्माण द्रुत गतिमा अघि बढाउनुपर्ने उनले बताए ।