बिहीबार धरहरा क्षेत्रवरपर देखिएको वायु प्रदूषण । चिसो सुरु भएसँगै काठमाडौं उपत्यकाको हावा अस्वस्थकर बनेको छ । पछिल्ला दिनमा काठमाडौं विश्वका प्रदूषित सहरको अग्रसूचीमा पर्न थालेको छ ।
स्विट्जरल्यान्ड मुख्यालय रहेको आइक्युएअर नामक संस्थाको वेबसाइटमा उल्लेख भएअनुसार काठमाडौंको वायु प्रदूषण बिहीबार राति १६७ एक्युआई छ । यसको अर्थ यहाँँको हावामा पार्टिकुलेट म्याटर (पिएम) २.५ भनिने आँखाले देख्न नसकिने र रौँभन्दा पनि साना धुलोका कण प्रतिघनमिटर १६७ पुगेको हो ।
यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यसरी काठमाडौं सबैभन्दा बढी प्रदूषित सहरको सूचीको सातौँ नम्बरमा छ । पाकिस्तानको लाहोर पहिलो, भारतको दिल्ली दोस्रो स्थानमा छन् ।