राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता भएका छन् । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिएर उनी आज स्वदेश फर्किएका हुन् ।
नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते अजरबैजान गएका राष्ट्रपति पौडेल शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्री एवम सरकारका उच्चपदस्थ अधिकारीले स्वागत गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडिले सलामी अर्पण गरेको छ । राष्ट्रपति पौडेलले कोप २९ अन्तर्गत कात्तिक २७ गते अजरबैजाको बाकुमा उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए ।
त्यस्तै, सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरिएको थियो ।
सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले अजरबैजान र माल्दिभ्सका समकक्षीसँग भेटघाट गर्नुका साथै संयुक्त राष्ट्रसंघका महासचिवले आयोजना गरेको कार्यक्रममा समेत सहभागी भएका थिए ।