Skip This
पुनर्निर्माण थालिएको ९ वर्ष हुँदा पनि रातो मत्स्येन्द्रनाथ अलपत्र 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ कार्तिक ३० शुक्रबार ११:३२:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

पुनर्निर्माण थालिएको ९ वर्ष हुँदा पनि रातो मत्स्येन्द्रनाथ अलपत्र 

एक वर्षदेखि मन्दिर पुनर्निर्माण कार्य नै ठप्प 

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार ११:३२:oo

नौ वर्षअघि (२ माघ ०७२ मा) तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र प्रधानमन्त्री केपी शर्मा ओलीले बुङमतीको रातो मत्स्येन्द्रनाथ मन्दिरबाट पुनर्निर्माण महाअभियान सुरु गरेका थिए । रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएर तीन वर्षअघि नै तत्कालीन पुनर्निर्माण प्राधिकरणले काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । तर, सोही समयमा पुनर्निर्माण थालेको मत्स्येन्द्रनाथ मन्दिर अझैसम्म अलपत्र परेको छ ।

निर्माण सम्पन्नको चरणमा पुगेको मत्स्येन्द्रनाथ मन्दिर पुनर्निर्माण एक वर्षदेखि रोकिएको छ । जसकारण मत्स्येन्द्रनाथको छानामा घाँस उम्रिन थालेको छ । पुनर्निर्माणको जिम्मा पाएको उपभोक्ता समितिले गत ४ असोजदेखि पुनर्निर्माण रोकिएको बतायो । समितिका अध्यक्ष अमिर शाक्यका अनुसार पुरातत्व विभागले काम गरेको भुक्तानी नदिएको र म्याद थप पनि नगरेकाले पुनर्निर्माण रोकिएको हो । ‘गत जेठ मसान्तसम्म समय बाँकी थियो । त्यसपछि हामीले १६ जेठमा म्याद थपका लागि पत्र पठायौँ । तत्कालीन महानिर्देशक दामोदर गौतम सरले काम गर्दै गर्नुस् । म्याद थप हुँदै गर्छ भन्नुभयो । तर, म्याद थप नभएपछि गत असोजदेखि काम रोकेका हौँ,’ अध्यक्ष शाक्यले भने, ‘विभागलाई हामीले विकल्प दिनुुुस् भन्दा पनि दिनुभएन । मन्दिर पुनर्निर्माणका लागि पैसा अभाव भएर होइन, पैसा त स्थानीय सरकारले पनि सहयोग गर्छु भनेको छ । भक्तजनबाटै पनि उठाएर पुनर्निर्माण सम्पन्न गर्न सक्छौँ । तर, म्याद थप नै भएन ।’ उनका अनुसार म्याद थपका लागि पटक–पटक विभिन्न निकायमा धाउँदा पनि कतैबाट सकारात्मक पहल हुन सकेन । 

तेस्रोपटक म्याद थपका लागि कानुन बाधक छ : विभाग 
मन्दिर पुनर्निर्माणका लागि विभागले दुईपटक समितिलाई म्याद थप गर्‍यो । पछिल्लोपटक जेठ मसान्त ०८० सम्मका लागि म्याद थप भएको थियो । त्यसपछि भने विभागको नेतृत्व फेरियो । विभागको नेतृत्वमा आएकी शौभाग्य प्रधानांगले सार्वजनिक खरिद ऐन ०६३ अनुसार समितिको म्याद थप गर्न नमिल्ने बताएको समितिको भनाइ छ । ‘मत्स्येन्द्रनाथ पुनर्निर्माणको दुईपटक म्याद थपियो । अब ६ महिना मात्र समय दिनुस् पुनर्निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्छौँ भन्दा महानिर्देशकज्यूले उपभोक्ता समितिलाई म्याद थप्न कानुनले भनेको छैन भन्नुभयो । त्यसैले काम रोक्यौँ,’ शाक्यले भने । उनका अनुसार विभागले म्याद नथपेको र भुक्तानी पनि नदिएका कारण सिकर्मी, डकर्मी, मन्दिर पुनर्निर्माणमा संलग्न कामदारलाई पैसा दिन सकिएको छैन । समितिलाई नौ लाख ऋण लागिसकेको छ । विभागले भने म्याद थपका लागि विभिन्न तहमा छलफल भइरहेको जनाएको छ । 

ठेकेदार कम्पनी प्रेरा भेगिम, थेगिस र तुलसी कन्स्ट्रक्सन जेभीले पुनर्निर्माणमा लापरबाही गरेको भन्दै बुङमतीवासीले विरोध गरेपछि उपभोक्ता समितिले जिम्मा पाएको थियो । ठेकेदार कम्पनीले ३० प्रतिशत मात्र काम गरेर अलपत्र छाडिदिएको थियो । त्यसपछि नौ सदस्यीय उपभोक्ता समितिले रातो मत्स्येन्द्रनाथ मन्दिरको पुनर्निर्माण तथा संरक्षण कार्यको बाँकी काम पूरा गर्ने भनेर तत्कालीन प्राधिकरणको १४ पुस ०७६ मा बसेको कार्यकारी समितिको बैठकले निर्णय गर्‍यो । सोहीअनुसार १५ असार ०७७ मा समितिसँग एक वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । 

एक वर्षमै पुनर्निर्माण सम्पन्न गर्ने भने पनि हालसम्म सम्पन्न नहुनुमा विभिन्न कारण रहेको समितिको दाबी छ । समितिका अनुसार ठेकेदारले एक तलासम्म निर्माण गरिसकेको भए पनि पुरानो ढोकामा भेन्टिलेसन नहुनु, अंगे्रजी अक्षर भएको इँटाको प्रयोग गर्नुलगायत कारण पूरै भत्काएर पुनर्निर्माण सुरु गर्नुपरेको, कोरोनाका कारण सामान उपलब्ध गराउन नसक्नु, पुरानो इँटाको डिजाइन बनाउन लामो समय लाग्नुलगायत कारण ढिलो भएको हो ।

मन्दिर बन्न कति बाँकी छ ?
मन्दिरको गजुर र आठवटा सहायक मन्दिर बनाउन बाँकी छ । ‘ठेकेदारले लापरबाही गरेर बनाएकाले पूरै भत्काएर बनाउनु पर्‍यो । एउटै झ्याल बनाउन तीनजनाले ९३ दिन काम गर्नुपर्यो । त्यो झ्याल सुक्न १३ महिना लाग्यो । 

पुरातात्विक महत्वको मत्स्येन्द्रनाथ बनाउन मापदण्ड पनि ख्याल गर्नु पर्‍यो । यस्ता विविध कारण ढिला हुन पुग्यो,’ समिति अध्यक्ष शाक्यले भने । समितिका अनुसार मन्दिरमा ५२ प्रकारका इँटा प्रयोग भएका छन् । तीन करोड आठ लाख लागतमा पुनर्निर्माण सुरु गरेको समितिले हालसम्म दुई करोड ४३ लाख मात्र भुक्तानी पाएको छ भने ठेकेदार कम्पनीले बनाएको मन्दिरलाई भत्काउन मात्र १९ लाख ८० हजार खर्च भएको छ । जुन रकम विभागले समितिलाई भुक्तानी दिन बाँकी रहेको छ ।