जबसम्म पार्टीले मजदुरको हितलाई साँचो अर्थमा प्राथमिकता दिँदैन, तबसम्म ती डेमोक्य्राट पार्टीमा फर्किनेछैनन्
अमेरिकी राष्ट्रपतीय चुनावमा ट्रम्पको जितभन्दा डेमोक्रेटिक पार्टीको हार बढी भएको छ । डेमोक्य्राटको पराजय राष्ट्रपति बाइडेनले लामो समयसम्म प्रतिस्पर्धाको मैदान नछोड्नु वा कमला ह्यारिस उम्मेदवार हुन अयोग्य भएको भन्ने पनि होइन । डेमोक्य्राटले मजदुरको समर्थन गुमाएर यसलाई पुनः प्राप्त गर्न असफल भएकाले यो नतिजा आएको हो । पार्टीको डिजिटल अवरोध, भूमण्डलीकरण, उच्च आप्रवासन र ‘वोक’ (उग्र–प्रगतिशीलता) ले पार्टीलाई अमेरिकी मजदुरबाट टाढा पुर्याएको छ । आज डेमोक्य्राटले मुख्यतया उच्च शिक्षा हासिल गरेका मतदातालाई आकर्षित गर्छन्, न कि मजदुरलाई । जहाँको लोकतन्त्रमा पनि मध्य–वामपन्थी पार्टी मजदुरका पक्षमा नदेखिए लोकतन्त्रमै असर पर्छ ।
डेमोक्य्राटले यसअघि सिलिकन भ्याली, अल्पसंख्यक, संगठित मजदुर र सहरी पेसेवरका समर्थनमा चुनाव जितेका थिए । यद्यपि यो समर्थन आधार निकै अस्थिर थियो र मजदुर र विशेषतः साना सहर तथा अमेरिकाको दक्षिणी भेगका मध्यम वर्ग उपेक्षित रह्यो । यो मुद्दा सन् २०१६ मै स्पष्ट थियो, जसले बाइडेनलाई सन् २०२० मा मजदुरपक्षीय औद्योगिक रणनीति अपनाउन प्रेरित गरेको थियो । उनको नीतिले रोजगारी सिर्जना गर्यो, औद्योगिक आधारलाई बलियो बनायो, पारिश्रमिक बढायो तथा आप्रवासन, संरक्षणवाद, युनियन निर्माण र सार्वजनिक लगानीमा परिवर्तन भयो । तथापि पार्टी संस्थापन विशेषतः तटीय क्षेत्रका शिक्षित सम्भ्रान्त कार्यकर्ताले मजदुरको सांस्कृतिक र आर्थिक सरोकारलाई सम्बोधन गर्नुको सट्टा तिनलाई पाठ पढाइयो वा हकारियो ।
अमेरिकी मजदुरसँग डेमोक्य्राटको सम्बन्ध बुझ्न एउटा प्रश्नकै उत्तर पर्याप्त हुनेछ । एक डेमोक्रेटिक सम्भ्रान्त कार्यकर्ताले उच्च–माध्यमिकस्तर मात्र पढेको मजदुर वा विदेशबाट स्नातकोत्तर शिक्षा हासिल गरेका पेसेवर, कोसँग चार घण्टा कुरा गर्न रुचाउँछ होला ? धेरैले उच्च–शिक्षा हासिल गरेको पेसेवरसँग बस्न रुचाउँछन् । सुरुमा मध्यम वर्ग र देशप्रेमलाई लिएर ह्यारिसको जोडले उनले यो असंगति सम्बोधन गर्न सक्ने देखिएको थियो । मजदुरलाई फिर्ता ल्याउने विश्वसनीय प्रयासले चुनावी नतिजा परिवर्तन गर्न सकिन्थ्यो । तर, चुनावी अभियान अन्ततः आफ्नो मत–निश्चित मताधारमा केन्द्रित भयो र मजदुरपक्षीय प्रयास भएनन् । गठबन्धनलाई बृहत् बनाउने मुख्य प्रयासमा लिज चेनीले उपनगरीय महिलालाई गर्भपतनको अपिल गर्नु समावेश थियो । तर, यो मुद्दाले मजदुर वर्ग विशेषतः पुरुषलाई आकर्षित गर्न असम्भव थियो ।
डेमोक्य्राटले रोजगारी र अवसरलाई प्रवद्र्धन गर्न सक्छन् । तर, त्यसका लागि पार्टीपंक्तिले ठुला प्रविधि र विश्वस्तरका व्यापार सम्भ्रान्तबाट आफूलाई टाढा राख्नुपर्नेछ र मजदुर वर्गले यसको महसुस गर्नुपर्छ । सिलिकन भ्याली पार्टीबाट टाढिन थालेको अवस्थामा विधि र तौरतरिका बदल्नेतर्फ लाग्नुपर्छ । यद्यपि यो परिवर्तन निकै गाह्रो छ, किनभने ट्रम्प र उपराष्ट्रपति निर्वाचित जेडी भान्सको रिपब्लिकन पार्टी मजदुरको मुख्य पार्टी बनेको छ । पार्टीमा विशेषतः निर्माण क्षेत्रमा काम गर्ने र साना सहरका मजदुरको आकर्षण देखिन्छ । डेमोक्रेटिक पार्टी सम्भ्रान्त सांस्कृतिक रूपमा मजदुर र मध्यम वर्गबाट विच्छेद भएको छ ।
उसो त बाइडेनको एजेन्डाले मजदुरलाई लाभ पुर्याउन थालेको थियो र विश्वव्यापीकरण एवं असमानताको समाधान हुँदै थियो । ट्रम्पको आगामी कार्यकालले सम्भवतः धनाढ्य सम्भ्रान्तलाई नै समर्थन गर्नेछ । चिनियाँ आयातमा उच्च भन्सार लगाएर रोजगारी बढ्दैन वा मुद्रास्फीतिलाई रोक्न सकिँदैन । जबकि बाइडेनको महामारी नीति ट्रम्पको अघिल्लो कार्यकालले मुद्रास्फीति बढाएको अवस्थामा आएको थियो, तैपनि संघीय बैंक (फेडरल रिजर्भ) ले मूल्य स्थिरता पुनस्र्थापित गरेको थियो । तथापि, ट्रम्पले बैंकलाई आफ्नो लोकप्रियता बढाउन ब्याजदर कटौतीका लागि दबाब दिएमा मुद्रास्फीति घट्न सक्छ । तर, क्रिप्टो क्षेत्रमा ट्रम्पको समर्थनले थप अनियमितता र अराजकता निम्त्याउन सक्छ, जसले मजदुर वा उपभोक्तालाई कुनै लाभ पुर्याउनेछैन ।
आगामी चार वर्षको प्रविधि नीति मजदुरका लागि विनाशकारी हुन सक्छ । एआईमा बाइडेनको कार्यकारी आदेश केवल एक सुरुवात थियो । उचित नियमनविना एआईले उद्योगलाई क्षति पुर्याउन सक्छ, उपभोक्तालाई ठग्न सक्छ र मजदुरअनुकूल संयन्त्रका रूपमा एआई आफ्नो क्षमतालाई सदुपयोग गर्न असफल हुन सक्छ । ठुला कम्पनी र उद्यम पुँजीपतिका लागि ट्रम्प प्रशासनको समर्थनले मजदुरलाई अटोमेसनले प्रतिस्थापित गर्न सक्छ । यसबाहेक अमेरिकी संस्थालाई ट्रम्पको धम्कीले मजदुरको हितलाई जोखिममा पार्छ । उनका कामले लोकतान्त्रिक मान्यतालाई कमजोर बनाउने, नीतिगत अनिश्चितता सिर्जना गर्ने, ध्रुवीकरणलाई गहिरो बनाउने र अदालतजस्ता संस्थामाथिको विश्वासलाई कमजोर बनाउनेछ । यसले ट्रम्पले रुचाएका क्षेत्र अर्थात् पेट्रोलियमलगायत उद्योगमा अल्पकालीन लगानी बढाए पनि दीर्घकालीन रूपमा कमजोर संस्था र घटेको विश्वासले लगानी एवं दक्षतामा क्षति पुर्याउनेछ ।
संस्थागत कमजोरीले आर्थिक रूपमा ठुलै क्षति निम्त्याउँछ र बलियो समझदारी, विश्वास र कानुनी शासनका लागि आवश्यक पर्ने उन्नत प्रविधिमा निर्भर नवप्रवर्तन–सञ्चालित अर्थतन्त्रका लागि विनाशकारी हुन सक्छ । विशेषज्ञको नेतृत्वमा नियमनविना, स्वास्थ्य सेवा, शिक्षा र अनलाइन सेवाजस्ता क्षेत्र कम गुणस्तरका उत्पादनको भेल झेल्ने जोखिममा छन् । यदि नवप्रवर्तन र उत्पादककत्व वृद्धि रोकियो भने ज्याला पनि स्थिर हुनेछ । यी चुनौतीका बाबजुद मजदुर डेमोक्य्राट पार्टीमा फर्किनेछैनन् । जबसम्म पार्टीले मजदुरको हितलाई साँचो अर्थमा प्राथमिकता दिँदैन, तबसम्म ती डेमोक्य्राट पार्टीमा फर्किनेछैनन् । यसका लागि मजदुरपक्षीय नीति मात्र नभई उनीहरूसँग मिल्दोजुल्दो ढंगले घुलमिल हुन पनि आवश्यक छ । यो किसिमको परिवर्तन पार्टी चलाउने तटीय सम्भ्रान्तका लागि चुनौतीपूर्ण हुन सक्छ ।
(एसिमोग्लु सन् २०२४ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कारका सहविजेता हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट