सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान सकिएको छ । बिहीबार अबेर बयान सकिएका कारण उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमै राखिएको छ । उनीसँग तीन दिनसम्म झन्डै २३ घण्टा बयान लिइएको थियो । पहिलो दिन मंगलबार तीन घण्टा ३५ मिनेट, बुधबार नौ घण्टा र बिहीबार झन्डै १० घण्टा बयान लिइएको जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।
बयानमा लामिछानेसँग सुप्रिम सहकारीमा भएको अपचलनको सम्बन्धमा विभिन्न प्रश्न सोधिएको थियो । बयानमा उनले सहकारीको रकम दुरुपयोगमा आफ्नो संलग्नता अस्वीकार गर्दै जवाफ दिएको स्रोतले जनाएको छ । बिहीबार उनीसँग बिहान सवा १० बजेबाट बयान लिन सुरु गरिएको थियो । बयान लिने र तीन दिनसम्मको बयान रुजु गर्ने र अन्तिम रूप दिँदा राति ८ बजेको जिल्ला न्यायाधिवक्ता पौडेलले बताए । उनका अनुसार लामिछानेलाई ७४ प्रश्नमा सवालजवाफ गरिएको छ । बयानमा खटिएका अर्का एक अधिकृतका अनुसार उनको बयान ४३ पेजको भएको छ । लामिछानेसँग बयान लिन नौजनाको टिम खटिएको थियो । पाँचजना अनुसन्धान अधिकृतसहित सरकारी वकिलहरूको टिम थियो ।
बिहीबार दिउँसो बयान सकेर साँझ पोखरा पठाउने तयारी गरिए पनि नसकिएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही लगिएको प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताए । शुक्रबार मौसमको अनुकूलताअनुसार पोखरा पठाइने प्रहरीले जनाएको छ ।
गत २ कात्तिकमा पक्राउ परेका लामिछानेलाई कास्की लगिएको थियो । कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बयानका लागि मंगलबार भैरहवा ल्याइएको थियो । सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनलाई आइतबार मात्रै कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो । सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न ल्याएको थियो ।
बिहीबार रास्वापाका कार्यकर्ताले रुपन्देहीमा मोटरसाइकल र्याली निकालेका थिए । लामिछानेका पक्षमा उनीहरूले र्याली निकालेका हुन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीसँग पनि रुपन्देहीमा दुई दिनसम्म बयान लिइएको थियो । उनी पनि पोखरामा प्रहरी हिरासतमा छन् ।