महोत्तरीको मटिहानीमा नेपाल-भारत सिमाना जिल्ला समन्वय समिति बैठक सोमबार सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजनामा भएको सो बैठकको अध्यक्षता रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका हुन् ।
सीमा सुरक्षा र सीमा अपराध नियन्त्रण, सीमास्तम्भको सुरक्षा, मानव बेचबिखन, मदिरा तथा लागुऔषधको ओसारपसार नियन्त्रण,अवैध मुद्राको अपचलन नियन्त्रण तथा नक्कली नोट नियन्त्रणका साथै आपसी सहयोग र समन्वयका विविध विषयमा बैठक बसेको हो।
बैठकमा मित्रराष्ट्र भारतका तिरहुत डिभिजन मुजफ्फरपुरका डिआइजिपी बाबुराम, सीतामढीका डिएम रिची पाण्डे, सीतामढीका एसडिएम सञ्जीव कुमार, भारत सीतामढी जिल्लाका एसपी मनोजकुमार तिवारीका साथै महोत्तरी, सर्लाही, रौतहटका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुखहरू तथा राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरूसमेतको उपस्थिति थियो ।
दुई देशबिचको आपसी सम्बन्ध सुदृढ हुनुका साथै सिमानामा देखिने विभिन्न आपराधिक तथा अवैध गतिविधिसँगै सिमानामा हुन सक्ने सहकार्यहरूउपर बैठकमा चर्चा भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए। मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बैठकका लागि मटिहानी आएका आगन्तुक नेपाल तथा भारतका प्रशासनिक तथा सुरक्षा निकाय टोलीहरूलाई मटिहानीमा स्वागत तथा सम्मान गरेका हुन् ।