मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
२o८१ माघ २ बुधबार २o:२४:oo
Read Time : > 1 मिनेट
समाचार

कञ्चनपुर–कमला सडक : दोस्रोपटकको म्याद सकिँदा ५५ प्रतिशत मात्रै काम 

तत्काल निर्माण थाल्ने प्रतिबद्धतापछि मिर्चैयावासीले रोके आन्दोलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २ बुधबार २o:२४:oo

पूर्व–पश्चिम लोकमार्गको कञ्चनपुर–कमला सडक योजनाको पश्चिम खण्डअन्तर्गत मिर्चैया खण्ड अलपत्र छाडेको भन्दै स्थानीयवासीले बुधबार बिहान एक घण्टा सडक अवरुद्ध पारेका छन्। मिर्चैया मुख्य बजार क्षेत्रको सडक तत्काल निर्माणको माग गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका हुन्।

सिराहाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख, सडक योजनाका प्रतिनिधिसहितको बैठकले ७ माघदेखि निर्माण थाल्ने प्रतिबद्धता जनाएपछि अवरुद्ध सडक खुलेको छ। 

प्रमुख जिल्ला अधिकारी बासुदेव दहाल, प्रहरी उपरीक्षक रमेश पण्डित, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारी, निर्माण व्यवसायी चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप, सडक योजना प्रमुख उज्ज्वल श्रेष्ठ, इन्जिनियर सरोजकुमार कोइराला, स्थानीय उद्योगी व्यापारीसहितको बैठकले मिर्चैयाको मुख्य बजार क्षेत्रको सात सय ५० मिटर खण्डको दक्षिणपट्टि सर्भिस लेन निर्माण ७ माघदेखि थाल्ने सहमति भएको हो।

बैठकले उक्त खण्डमा सडक स्तरोन्नति थालनी गर्न सडक क्षेत्रभित्र रहेका बिजुलीको पोलले अवरोध गरेको ठहरसहित नेपाल विद्युत् प्राधिकरणको मिर्चैया वितरण केन्द्रसँग समन्वय गरी दुई दिनभित्र बिजुलीको पोल स्थानान्तरण गर्ने सहमति भएको मिर्चैया उद्योग वाणिज्य संघका सचिव भरत महासेठले बताए।

दुईपटक म्याद थप्दा ५५ प्रतिशत निर्माण
एसियाली विकास बैंकको ७१ दशमलव २२ प्रतिशत ऋण र नेपाल सरकारको २८ दशमलव ७८ प्रतिशत गरी कुल आठ अर्ब ३८ करोड ९९ लाख ६८ हजार सात सय ४८ रुपैयाँ ३६ पैसा लागतमा निर्माण भइरहेको योजनाको पश्चिम खण्ड चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनीले निर्माण गरिरहेको छ।

सडक विभागअन्तर्गत कञ्चनपुर–कमला सडक योजना पश्चिम खण्ड प्राविधिक शाखाका इन्जिनियर सरोजकुमार कोइरालाका अनुसार कम्पनीले सन् २०२० को अक्टोबरमा सम्झौता भएको तीन वर्षभित्र ४७.४० किलोमिटर सडक र २५ वटा साना ठुला पुल निर्माण गरिसक्नुपर्ने थियो। ‘सम्झौता भएको तीन वर्ष र थप १४ महिना चार वर्ष दुई महिनाको अवधिमा ५५.१३ प्रतिशत अर्थात् २६.०२ किलोमिटर सडक कालोपत्रे भएको छ,’ इन्जिनियर कोइरालाले भने, ‘पश्चिम खण्डमा पर्ने साना ठुला गरी २५ वटा पुलमध्ये २२ वटामा सुपरस्ट्रक्चरको काम सम्पन्न भइसकेको र बाँकी तीनवटा पुलमा सबस्ट्रक्चरको काम भइरहेको छ।’

अन्तिमपटकका लागि एक वर्ष म्याद 
सप्तरीको कञ्चनपुरदेखि सिराहा धनुषा जोड्ने कमला नदीसम्मको ८६ दशमलव ८२ किलोमिटर कञ्चनपुर कमला सडक चार लेनमा स्तरोन्नतिका लागि ग्रुपले सप्तरीको कुसहादेखि पूर्व ३९ दशमलव ४२ किलोमिटर खण्ड सात अर्ब २७ करोड ७६ हजार ३४ रुपैयाँ ३४ पैसा र पश्चिम खण्ड आठ अर्ब ३८ करोड ९९ लाख ६८ हजार सात सय ४८ रुपैयाँ ३६ पैसा ठेक्का सम्झौता गरेको कोइरालाले बताए। 

उनका अनुसार २९ अक्टोबर २०२० मा सुरु भई २८ अक्टोबर २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि निर्माण सम्पन्न नभएपछि पहिलोपटक २३ डिसेम्बर २०२४ सम्मका लागि थप गरिएको म्यादभित्र निर्माण सम्पन्न नभएपछि ३१ डिसेम्बर २०२५ सम्म थप गरिएको छ। लहान र मिर्चैयामा बन्ने अन्डरपास तथा फ्लाइओभरको काम पनि निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।