अमेरिकाको वासिंटन डिसीनजिकै अमेरिकी एयरलाइन्सको विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको छ । विमानमा ६० जना यात्रु र चारजना चालक दलका सदस्यसहित ६४ जना सवार थिए ।
बम्बार्डियर कम्पनीको सिआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिंटनतर्फ जाँदै थियो । अमेरिकी सञ्चार माध्यमका अनुसार विमान दुर्घटनापछि हावामा दुई टुक्रा भई पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । नदीमा खोजी तथा उद्धार कार्य जारी छ । स्थानीय समयअनुसार राति ९ बजे वासिंटन रेगन नेसनल एयरपोर्टनजिकै दुई विमान एक–आपसमा ठोक्किएका थिए । घटनाको अनुसन्धान सुरु गरिएको छ ।
एक अमेरिकी सैनिक अधिकारीले अमेरिकी समाचार च्यानल सिबिएसलाई बताएअनुसार सेनाको हेलिकोप्टरमा तीन सैनिक सवार थिए । ती सैनिकको अवस्था पनि स्पष्ट छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनापछि सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै मृतकका आत्मालाई भगवान्ले शान्ति प्रदान गरून् भनेर लेखेका छन् ।
पानीमा यात्रुको खोजीकार्य भइरहेको तर रातको समय, चिसोले जमेको पोटोम्याक नदीमा खसे ठिहिर्याउने पानीका कारण उद्धार कार्य गरिरहेका उद्धारकर्मीले ‘अत्यन्त कठिन’ अवस्थाको सामना गर्नुपरेको वासिंटनका अग्नि नियन्त्रक जोन डोनेलीले जानकारी दिए । ‘करिब ३०० आपत्कालीन उद्धारकर्ताले पोटोम्याकमा खोजी गरिरहेका छन् । तर, उच्च हावा, रातको समयमा कम दृश्यता, चिसो मौसम र धमिलो पानीका कारण उद्धारमा कठिनाइ भइरहेको छ,’ डानेलीले भने । नदीमा खसेका यात्रु जीवित भेट्टाउने सम्भावना निकै कम देखिन्छ । विशेषज्ञका अनुसार ३० मिनेटभित्र हाइपोथर्मिया निम्त्याउन सक्नेसम्मको न्यून तापक्रम भएको नदीबाट ३० भन्दा बढी शव निकालिएको स्थानीय मिडियाले जनाएको छ ।
उता एयर ट्राफिक कन्ट्रोलरहरूले दुर्घटनाअघि अमेरिकी सेनाको हेलिकोप्टरलाई उक्त वाहन यात्रु विमानसँग ठोक्किने मार्गमा रहेको चेतावनी दिएको बताएका छन् । चेतावनीपछि हेलिकोप्टरमा सवार मानिसको सास रोकिएको आवाज सुनिएको तिनले बताए ।