डिसेम्बरमा बसर अल असदलाई पदच्युत गरेदेखि देशमा वास्तविक शक्ति अभ्यास गर्दै आएका अहमद अल सारा बुधबार देशको अन्तरिम राष्ट्रपति घोषित भएका छन् ।
अल सारा अन्तरिम राष्ट्रपति
तत्कालीन राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेको झन्डै दुई महिनापछि सिरियाले नयाँ राष्ट्रपति पाएको छ । पूर्वविद्रोही कमान्डर र पछिल्लो दुई महिना सिरियामा वास्तविक शीर्ष शक्ति अभ्यास गरिरहेका अहमद अल सारा संक्रमणकालीन अवधिका लागि राष्ट्रपति नियुक्त गरिएको सिरियाली राज्य मिडियाले जनाएका छन् । अन्तरिम राष्ट्रपतिका रूपमा अल साराको नियुक्तिसँगै सिरियाली सरकारले गर्ने गरेका कामको वैधानिक रूपमा जिम्मेवारी लिने नेताको स्पष्ट चित्र बाहिरिएकाले देशको अगाडिको बाटोले थप स्पष्टता पाएको विश्लेषकले औँल्याएका छन् ।
सिरियाली सरकारी समाचार एजेन्सी ‘सिरियन अरब न्युज एजेन्सी (साना)’ले बुधबार कमान्डर हसन अब्देल घानीलाई उद्धृत गर्दै आगामी आम चुनाव नभएसम्म अल सारा राष्ट्रपतिको रूपमा नियुक्त भएको समाचार लेखेको छ । अल सारालाई यसअघि नै संक्रमणकालीन अवधिका लागि अस्थायी व्यवस्थापिका परिषद् गठन गर्ने अधिकार पनि दिइसकिएको छ । उक्त विधायिकी परिषद्ले नयाँ संविधान पारित नभएसम्म काम गर्नेछ ।
को हुन् अहमद अल सारा ?
विद्रोहकालमा अबु मोहम्मद अल जुलानीको नामले परिचित अल सारा हाल विघटित ‘एचटिएस’का नेता थिए । सिरियाको सबैभन्दा शक्तिशाली सशस्त्र समूह रहेको एचटिएसले गत डिसेम्बरमा अल असदलाई पदच्युत गर्ने प्रत्याक्रमणको नेतृत्व गरेको थियो । एचटिएस पहिले अल कायदाको सहयोगी थियो । तर, पछिल्लो समय उसले आफ्ना अडान मत्थर गर्ने प्रयास गरेको छ । अल साराले आफूलाई र उनी नेतृत्वका सरकारलाई अल असदबाट मुक्त सिरियाको विश्वसनीय संरक्षकको रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् । वर्तमान सिरियाली अन्तरिम सरकारका अधिकांश शीर्ष पदमा हिजो एचटिएसले इदलिब प्रान्तमा शासन चलाउन अधिकारीलाई स्थान दिइएको छ । पछिल्लो समय अल साराले विदेशी नेताहरू र कूटनीतिज्ञको भेटघाटलाई तीव्र बनाइरहेका छन् ।
चार वर्षभित्र चुनावको वाचा
सिरियामा संक्रमणकालीन अवधि कति लामो हुनेछ भन्ने हालसम्म कुनै स्पष्ट खाका प्रस्तुत गरिएको छैन । यसैले गर्दा त्यहाँ आमचुनाव गराउने सम्बन्धमा समयतालिकाको कुनै अत्तोपत्तो छैन । अल साराले यसअघि निर्वाचनबारे टिप्पणी गर्ने क्रममा उनको युद्धग्रस्त देशमा चुनाव गराउन कम्तीमा चार वर्ष लाग्न सक्ने बताएका थिए । डिसेम्बरमा साउदी अरेबियाली टिभी ‘अल अरेबिया’सँग कुरा गर्दै अल साराले देशको नयाँ संविधानको मस्यौदा तयार गर्न तीन वर्षसम्म लाग्न सक्ने र त्यसपछि मात्र चुनाव हुने बताएका थिए । उनले देशमा योग्य मतदाताको संख्या निर्दिष्ट गर्न नयाँ जनगणनासमेत गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । यी दुई कारणले गर्दा चार वर्षभित्र चुनाव हुने सम्भावना नरहेको उनको दाबी थियो । ‘कुनै पनि अर्थपूर्ण चुनावका लागि जनसंख्याको यकिन संख्या थाहा पाउनुपर्ने हुन्छ । यसका लागि जनगणना सञ्चालन गर्न आवश्यक हुनेछ,’ अल साराले भनेका थिए ।
राष्ट्रिय सेनासहित सम्पूर्ण सशस्त्र समूह भंग
सिरियामा हिजोको दिनमा अल असद सरकारविरुद्ध लडेका सबै सैन्य समूहलगायत सिरियाको राष्ट्रिय सेना र अन्य सुरक्षा निकाय यसअघि विघटित भएको घोषणा गरिएका छन् । एकीकृत राष्ट्रिय सैन्य बल गठन गर्न उठाइएको यस कदमअन्तर्गत अल साराको हयात तहरिर अल साम (एचटिए)’समेत भंग गरिएको छ । त्यसबाहेक नयाँ व्यवस्थासँगै देशको संविधान खारेजी भएको छ भने अल असद नेतृत्वमा रहेको बाथ पार्टीमाथि प्रतिबन्ध लागेको छ । बाथ पार्टीले अल असदको सरकार पतन हुनुअघि ६० वर्षभन्दा लामो समय देशमा शासन गरेको थियो । डिसेम्बर ८ मा अल असदलाई सत्ताबाट हटाउन अल साराको एचटिएस सँगसँगै लडेका सशस्त्र समूहका कमान्डरहरूको उपस्थितिमा दमास्कसमा भएको बैठकमा यी घोषणा आए । अल साराले विगतमा आफूसँग लडेका विद्रोही समूहका नेतालाई सरकारमा प्रतिनिधित्व गराउने कुरा विश्वस्त गराउन तिनका कमान्डरलाई हरेक निर्णयमा सहभागी गरेका छन् । कुनै पनि समयमा पूर्वविद्रोहीमाझ मतविभाजन आएर नयाँ द्वन्द्व आउन नदिन अल साराले तिनलाई नयाँ सिरियाको समेत हिस्सा बनाइने आश्वस्त पार्ने प्रयास गरिरहेजस्तो देखिन्छ ।
पश्चिमी प्रतिबन्ध केही खुकुलो
यो साता युरोपेली संघका विदेशमन्त्रीहरूको ब्रसेल्समा बसेको बैठकमा सिरियामाथिको पश्चिमा प्रतिबन्धको विषयमा छलफल भएको थियो । फ्रान्सका विदेशमन्त्रीले दमास्कसलाई सहज बनाउन विगतमा संघले सो मुलुकमाथि लगाएको प्रतिबन्ध हटाइने बताएका छन् । संयुक्त राज्य अमेरिका र युरोपेली संघले सन् २०११ यता सिरियामाथि कैयौँ प्रतिबन्ध घोषणा गरे । ती प्रतिबन्ध विद्रोहीमाथिको क्रुर दमनमा उत्रिएको असद सरकारको पुँजी बजार र व्यापार राजस्वमाथिको पहुँच कटौती गर्ने उद्देश्यले लगाइएको पश्चिमको तर्क छ । पश्चिमी प्रतिबन्धहरूले सिरियाको औपचारिक अर्थतन्त्रलाई बाँकी संसारबाट लगभग अलग गरेको छ ।
अल–शारा र उनको सरकारले पश्चिमी नेताहरूको भेटमा पटक–पटक प्रतिबन्ध हटाइए मात्र सिरियाको भविष्य सहज हुने स्पष्टीकरण दिइरहेका छन् । यी प्रतिबन्धले सिरियाली समाजक सबै पक्षहरूमा प्रभाव पारिरहेका छन् । सिरियाको अर्थतन्त्र राम्ररी काम गर्न पनि यी प्रतिबन्ध हट्नुपर्ने बताइन्छ । तर, पश्चिमले भने वर्तमान सरकारका नेताको विगत अतिवादी भएकाले तिनको भावी कार्यशैली हेरेर मात्र प्रतिबन्ध पूर्ण फुकुवा गरिने बताएको छ ।
बाथ पार्टी प्रतिबन्धित, संविधान खारेज
अल अपदस्थ भएसँगै उनको शासनको सबै अवशेषलाई मेट्ने प्रयास भइरहेको छ । यस क्रममा उनको पालाको संविधान खारेज भइसकेको छ । त्यस्तै अल असद नेतृत्वको ‘अरब समाजवादी बाथ पार्टी’माथि प्रतिबन्ध लागेको छ । अरब राज्यलाई एउटै राष्ट्रका रूपमा एकताबद्ध गर्ने घोषित उद्देश्य बोकेको बाथ पार्टीलाई दुईजना सिरियाली अरब राष्ट्रवादीहरू मिसेल अफलाक र सलाह अल दिन अल बितारले स्थापित गरेका थिए । सन् १९४९ मा आफ्नो पहिलो विधान सार्वजनिक गरेको पार्टीले एक समय यस पार्टीले दुई वटा अरब देश इराक र सिरियामा शासन गरेको थियो ।
सिरियामा बाथ पार्टी सन् १९७० मा सत्तामा आयो । पछिल्लो समय यो पार्टी मुख्यतः अल असदको परिवारसँग अभिन्न रूपमा गाँसिने गरेको छ । दशकौँसम्म यस परिवारले देशमाथि शासन गर्न सो पार्टी र यसको अरब जोड्ने विचारधारालाई प्रयोग गर्यो । प्रायः अधिकांश शीर्ष सैन्य पदहरू अल असद परिवार र सो परिवार जोडिएको अलाविट सम्प्रदायका सदस्यले ओगटेका थिए । (‘अलाविट’ सिरियाको जनसंख्या १० प्रतिशत मात्र रहेको अल्पसंख्यक सिया धार्मिक सम्प्रदाय हो ।) तथापि बाथ पार्टीको सदस्यता भने साम्प्रदायिक रूपमा भन्दा अरब राष्ट्रवाद उछालेर सबैलाई दिइन्थ्यो । यही आवरणले अल्पसंख्या सम्प्रदायबाट आएको परिवारले दशकौँ सिरियालीमाथि शासन गर्यो । अल असदको सरकार ढलेपछि बाथ पार्टीका अधिकांश नेतृत्व तथा चर्चित सदस्य अहिले भूमिगत भएका छन् । सक्नेहरू देश छाडेर भागेको बताइन्छ ।
– अल जजिराबाट