Skip This
वार्ताका लागि ‘नो केबलकार’ समूहले अघि सार्‍यो तीन सर्त
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १७ बिहीबार
  • Thursday, 30 January, 2025
२o८१ माघ १७ बिहीबार o७:३३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वार्ताका लागि ‘नो केबलकार’ समूहले अघि सार्‍यो तीन सर्त

पाथीभरामा केबलकार बन्दा ताप्लेजुङवासीलाई फाइदा हुन्छ : एमाले सचिव भट्टराई 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १७ बिहीबार o७:३३:oo

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न नहुने माग राख्दै आन्दोलनरत समूहले कोशी प्रदेश सरकारसँग वार्ताका लागि तीनवटा सर्त अघि सारेको छ । समूहले केबलकार निर्माणको काम तत्काल रोक्नुपर्ने, केबलकार निर्माण क्षेत्र काफ्लेपाटीबाट सशस्त्र प्रहरीको टोली हटाउनुपर्ने र पक्राउ परेका तीनजनालाई विनासर्त रिहा गरेपछि मात्रै वार्तामा बस्न सकिने बताएको हो । 

‘केबलकार निर्माणको काम तत्काल रोक्नुपर्ने, केबलकार निर्माण क्षेत्र काफ्लेपाटी क्षेत्रबाट सशस्त्र प्रहरीको टोली हटाउनुपर्ने र पक्राउ परेका तीनजनालाई विनासर्त रिहा गरेपछि मात्र हामी वार्तामा बस्छौँ, होइन भने आन्दोलन जारी रहन्छ,’ पाथीभरा केबलकार खारेजी संयुक्त समिति (नो केबलकार समूह)का संयोेजक खगेन्द्र फेम्बूले भने । 

गत १२ माघमा पाथीभरा क्षेत्रको काफ्लेपाटीमा नो केबलकार समूह र प्रहरीबिच झडप भएको थियो । घटनामा घाइते तीन आन्दोलनकारीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । त्यस्तै, आन्दोलनरत लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बू घटनास्थलबाट पक्राउ परेका थिए भने आन्दोलनको नेतृत्व गरेको र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई ज्यान मार्ने धम्की दिएको अभियोगमा प्रदीप मादेनलाई मंगलबार सदरमुकाम फुङलिङबाट पक्राउ गरेको थियो । 

१२ माघको घटनापछि पाथीभरा क्षेत्र अशान्त छ भने आन्दोलनरत पक्षले यातायात नै ठप्प पारेका छन् । आन्दोलनरत पक्षको माग सम्बोधन गर्न भन्दै संसद्मै आवाज उठेपछि कोशी सरकारले मंगलबार मात्र आर्थिक मामिलामन्त्री रामबहादुर मगरको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति बनाएको थियो । मन्त्री मगरले  आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरिएको र वार्ताबाटै माग सम्बोधन हुने बताए । ‘उहाँहरूका माग के के हुन् बसेर छलफल गरौँ भनेका छौँ, धेरै कुरा केन्द्र सरकारसँग जोडिएका छन्, हामी यसका लागि समन्वयको काम गर्छाैँ,’ उनले भने ।

आन्दोलनरत समूहको एक घटक याक्थुङ–चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम यक्तेनले भने केबलकार निर्माण र प्रहरी हस्तक्षेपको विषय केन्द्र सरकारसँग जोडिएकाले प्रदेशसँगको वार्ताको खासै औचित्य नरहने बताए । 

पाथीभरामा केबलकार बन्दा ताप्लेजुङवासीलाई फाइदा हुन्छ : एमाले सचिव भट्टराई 
एमाले सचिव एवं ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभरामा केबलकार बन्दा जिल्लावासीलाई फाइदा हुने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरेर उनले ताप्लेजुङमा क्रियाशील राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरू पाथीभरामा केबलकार बन्नुपर्छ भन्ने पक्षमा रहेको दाबी गरे । 

भौगोलिक रूपले विकट पाथीभरासम्म सहज ढंगले पुग्न, वृद्ध–वृद्धा एवं बालबालिका तथा अपांगता भएकालाईसमेत सहज पहुँच पुर्‍याउने उद्देश्यले केबलकार उपयुक्त विकल्प हुने भट्टराईको भनाइ छ । उनले निर्माणका लागि सहयोग पुर्‍याउन सबैलाई अनुरोध पनि गरे । निर्माण कम्पनीले प्रस्तुत गरेको र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताव तथा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा हेर्दा केबलकार सञ्चालनले कुनै पनि धर्म, संस्कृति र आस्थालाई कमजोर नपार्ने उनले बताए ।