आफ्नो दोस्रो कार्यकालको एक सातामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिकी इतिहासमा सबैभन्दा ठुलो संख्यामा रहेका अनधिकृत आप्रवासीलाई फिर्ता गर्ने’ आफ्नो चुनावी वाचा पूरा गर्दै उनीहरूविरुद्धको दमन तीव्र पारेका छन् । जनवरी २० मा ट्रम्पको शपथदेखि अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आइसिई)ले अमेरिकाभर तीन हजार ५०० भन्दा बढी अनधिकृत आप्रवासीलाई पक्राउ गरेको छ । ट्रम्प प्रशासनले पनि आप्रवासीलाई उनीहरूको मूल देश वा तेस्रो राष्ट्रमा लैजाने प्रक्रिया चलाएको छ ।
प्यु रिसर्च सेन्टरको अनुमानअनुसार ३४ करोड १० लाख जनसंख्या भएको अमेरिकामा एक करोड १० लाख अनधिकृत आप्रवासी छन् । ट्रम्पको निसानामा परेका धेरै देशले आआफ्नो तर्फबाट विभिन्न कदम चालिरहेका छन् । केही ट्रम्पको मागप्रति झुकेका छन् भने अन्यले आप्रवासी फिर्ता गर्दै छन् ।
मेक्सिको : ४० लाख
प्यु रिसर्चअनुसार २०२२ सम्म अमेरिकामा मेक्सिकोका ४० लाखभन्दा बढी अनधिकृत आप्रवासी थिए । आफ्नो शपथ समारोहमा ट्रम्पले मेक्सिकोसँग साझेदारी गरेको अमेरिकी दक्षिणी सीमामा राष्ट्रिय आपत्काल घोषणा गर्दै कार्यकारी कार्यमा हस्ताक्षर गरे । अमेरिकी सेनाले दक्षिणी सीमामा १५ सय सक्रिय सेना खटाएको छ । आफ्नो कार्यालयको पहिलो दिनमा मेक्सिकोलाई उल्लेख गर्दै ट्रम्पले अन्तर्राष्ट्रिय ड्रग कार्टेलहरूलाई ‘आतंकवादी संगठन’ भनेका थिए । उनले मेक्सिकोको खाडीको नाम परिवर्तन गरी अमेरिकाको खाडी बनाउने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका छन् ।
मेक्सिको अमेरिकाद्वारा निर्वासित आफ्ना नागरिकलाई लैजान सहमत भएको छ । मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाउमको प्रशासनले ‘मेक्सिको एम्ब्रेसेस यू’ नामक डिपोर्टी सहयोग कार्यक्रम स्थापना गरेको छ, जसअन्तर्गत निर्वासितहरूले खाना, चिकित्सा हेरचाह र मेक्सिकन कागजात प्राप्त गर्न मद्दत गर्नेछन् । सेनबाउमले जनवरी २२ मा मेक्सिकोले अमेरिकाद्वारा निर्वासित गैरमेक्सिकन आप्रवासीलाई स्वीकार नगर्ने घोषणा गरेकी थिइन् । तर, उनले यसै साता एक विज्ञप्ति जारी गर्दै अन्य देशबाट पनि अनुमानित चार हजार ९४ अनधिकृत आप्रवासी आएको बताइन् ।
एल साल्भाडोर : ७ लाख ५० हजार
सन् २०२२ सम्ममा अमेरिकामा सात लाख ५० हजार अनधिकृत साल्भाडोरियाली आप्रवासी थिए, जुन मेक्सिकनपछि दोस्रो उच्च संख्या हो । ट्रम्पले यस मध्यअमेरिकी देशसँग अमेरिकाबाट निर्वासित आप्रवासीलाई राख्न वार्ता गरिरहेका छन् । वार्तापछि आप्रवासीलाई एल साल्भाडोरमा शरण लिन अनुमति दिइनेछ । प्युको अनुमानअनुसार सन् २०२२ सम्म अमेरिकामा दुई लाख ७५ हजार भेनेजुएली आप्रवासी थिए ।
कोलम्बिया : १ लाख ९० हजार
सन् २०२२ सम्म अमेरिकामा कोलम्बियाका एक लाख ९० हजार अवैध आप्रवासी थिए । सप्ताहन्तमा कोलम्बिया र अमेरिकाको निर्वासन उडानमा केही गतिरोध आयोे । कोलम्बियाका राष्ट्रपति पेट्रोले निर्वासित कोलम्बियाका नागरिकले भरिएका दुई अमेरिकी सैन्य विमानलाई आफ्नो देशमा अवतरण गर्न स्वीकार गरेसँगै उडान पुनः सुरु भयो । ट्रम्पले आप्रवासीसँग सम्मानजनक व्यवहार नगरेको पेट्रोले बताए । एक्समा एक भिडियो सेयर गर्दै ब्राजिलको एक एयरपोर्टमा अमेरिकाबाट निर्वासित भएकाहरूलाई हात र खुट्टा बाँधिएको देखाइएको थियो । ट्रम्पले कोलम्बियाका सामानमा कर लगाउने र कोलम्बियाका अधिकारीलाई भिसा प्रतिबन्ध लगाउने धम्की दिएपछि विवाद चर्कियो । पेट्रोले अमेरिकी सामानमा भन्सार शुल्क लगाउने भन्दै जवाफ दिए । कोलम्बियाका विदेशमन्त्री लुइस गिल्बर्टो मुरिलोले अमेरिकाले पठाएका आप्रवासीलाई स्वीकार गरेका छन् ।
चीन : ३ लाख ७५ हजार
सन् २०२२ सम्म अमेरिकामा चीनका तीन लाख ७५ हजार अनधिकृत आप्रवासी थिए । त्यो संख्यामा हङकङ र ताइबानका आप्रवासी पनि समावेश छन् । चीनले मुख्य भूमिबाट गएका आप्रवासीलाई मात्र स्वीकार गर्ने बेइजिङले जवाफ दिएको छ । ‘स्वदेश फिर्ता गर्ने सम्बन्धमा चीनको सिद्धान्त पहिले प्रमाणित गर्ने र त्यसपछि स्वदेश फिर्ता गर्ने हो । चीनको मुख्य भूमिबाट पुष्टि भएका चिनियाँ नागरिकलाई हामी स्वीकार गर्नेछौँ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार बेइजिङमा पत्रकारहरूलाई भने । मुख्य भूमि चीनमा हङकङ, मकाउ र ताइबान समावेश छैन । चीनले ताइबानलाई स्वशासित क्षेत्र दाबी गर्दै आएको छ । बेइजिङले किन मुख्य भूमिबाट आप्रवासीलाई मात्रै फिर्ता लैजाने योजना बनाएको भन्नेबारे प्रवक्ता माओले बताएनन् ।
भारत : ७ लाख २५ हजार
सन् २०२२ सम्म अमेरिकामा भारतका सात लाख २५ हजार अनधिकृत आप्रवासी थिए । यो मेक्सिको र एल साल्भाडोरपछि तेस्रो ठुलो संख्या हो । ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच सोमबार भएको टेलिफोन वार्तामा अध्यागमनलगायत विषयमा कुराकानी भएको ट्रम्पले सोही दिन फ्लोरिडामा बताएका थिए । ट्रम्पले थप विवरण प्रदान त गरेनन्, तर गैरकानुनी आप्रवासनमा भारतले ‘जे ठिक छ त्यही गर्ने’ विश्वास व्यक्त गरे । मोदीले फेब्रुअरीमा अमेरिका भ्रमण गर्दै छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जनवरी २४ मा साप्ताहिक मिडिया ब्रिफिङमा भनेका थिए, ‘हामी अवैध आप्रवासीविरुद्ध छौँ, किनकि यो संगठित अपराधको विभिन्न स्वरूपसँग सम्बन्धित छ ।’
ग्वाटेमाला : ६ लाख ७५ हजार
प्यु रिसर्चको अनुमानअनुसार सन् २०२२ सम्म अमेरिकामा ग्वाटेमालाबाट ६ लाख ७५ हजार अनधिकृत आप्रवासी बसोवास गरेका थिए । यसै साता ६४ आप्रवासी बोकेको अमेरिकी सेनाको विमान टेक्सासबाट उडेको र सोमबार दिउँसो ग्वाटेमालामा अवतरण गरेको अमेरिकी र ग्वाटेमालाका अधिकारीले रोयटर्सलाई बताए । यो शुक्रबारदेखि आप्रवासीसहित ग्वाटेमाला पुगेको तेस्रो अमेरिकी सैन्य उडान थियो । डिसेम्बर २०२४ को अन्तमा ग्वाटेमाला र अन्य मध्यअमेरिकी देशबाट निर्वासित प्राप्त गर्न ग्वाटेमाला खुला छ । यद्यपि, ग्वाटेमालाका आप्रवासीलाई पुनः एकीकरणका लागि प्राथमिकता दिइने ग्वाटेमालाका एक अधिकारीले रोयटर्सलाई भने ।
होन्डुरस : ५ लाख २५ हजार
सन् २०२२ सम्म अमेरिकामा होन्डुरसका पाँच लाख २५ हजार अवैध आप्रवासी छन् । तर, धेरै अन्य राष्ट्रहरूविपरीत होन्डुरसले अहिलेसम्म ट्रम्पको योजनाबद्ध निर्वासनलाई पछाडि धकेल्यो । राष्ट्रपति जिओमारा क्यास्ट्रोले जनवरी १ मा भनेका थिए, ‘हाम्रा नागरिकको सामूहिक निष्कासन भएमा अमेरिकासँगको सहयोगको सैन्य नीतिमा परिवर्तनबारे पुनर्विचार गर्नुपर्नेछ ।’ उनले आफ्नो देशमा अमेरिकी सैन्य आधार बन्द गर्ने धम्की नै दिए । आर्थिक वर्ष २०२० देखि २०२३ सम्म अमेरिकी विदेश मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य एजेन्सी (युएसएड) ले होन्डुरसलाई ७८५ मिलियन डलर सहयोग प्रदान गरेको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ग्लोबल विटनेसका अनुसार अमेरिका होन्डुरसको सबैभन्दा ठुलो सहायता प्रदायक हो ।
ब्राजिल : २ लाख ३० हजार
सन् २०२२ सम्म ब्राजिलका दुई लाख ३० हजार अनधिकृत आप्रवासी अमेरिकामा थिए । गत साता अमेरिकाबाट ८८ ब्राजिलियन आप्रवासीलाई लिएर एउटा उडान मिनास गेराइस राज्यको बेलो होरिजोन्टे सहरमा पुग्ने तालिका थियो । ब्राजिलले एमाजोनस राज्यको मानौसमा अप्रत्याशित रोक लगायो । राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आप्रवासीहरूलाई बेलो होरिजोन्टेमा लैजान ब्राजिलको वायुसेनाको विमान तोकेका थिए । ब्राजिलको संघीय प्रहरीका अनुसार ट्रम्पले पदभार ग्रहण गरेपछि अमेरिकी सेनाको विमान प्रयोग गरी ब्राजिलमा आप्रवासी फिर्ता गर्ने यो दोस्रो उडान हो ।
फिलिपिन्स : १ लाख ३० हजार
सन् २०२२ सम्म अमेरिकामा फिलिपिन्सका एक लाख ३० हजार अनधिकृत आप्रवासी थिए । ट्रम्पले दोस्रोपटक पदभार ग्रहण गरेदेखि फिलिपिनीलाई पक्राउ गरेको वा हिरासतमा राखेको कुनै रिपोर्ट प्राप्त नगरेको वासिंटन डिसीमा रहेको फिलिपिनो दूतावासका अधिकारीले बताएका छन् । अमेरिकाका लागि फिलिपिन्सका राजदूत जोसे म्यानुएल रोमुआल्डेजले अमेरिकामा रहेका अनधिकृत फिलिपिनो आप्रवासीलाई देश छाड्न र निर्वासनको प्रतीक्षा नगर्न बारम्बार आग्रह गरेका छन् ।