Skip This
सुन प्रतितोला १ लाख ६० हजारमाथि
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ १८ शुक्रबार o७:o१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुन प्रतितोला १ लाख ६० हजारमाथि

९ मंसिरमा भन्सार महसुल ५० प्रतिशत घटाएपछि सस्तिएको सुन पुनः महँगिन थाल्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार o७:o१:oo

सुनको भाउ प्रतितोला एक लाख ६० हजार रुपैयाँ नाघेको छ । ९ मंसिरमा सुनको भन्सार दर ५० प्रतिशत घटाएयता मूल्य उकालो लाग्न थालेको हो । सुनचाँदी व्यसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँ निर्धारण भएको थियो । त्यस्तै, चाँदीको भाउ प्रतितोला १८ सय ८५ रुपैयाँ निर्धारण भएको थियो ।

अर्थ मन्त्रालयले ९ मंसिरमा सुनको भन्सार महसुल ५० प्रतिशत घटाएर १० प्रतिशत कायम गरेको थियो । जसकारण प्रतितोला एक लाख ६७ हजार दुई सय रहेको सुन भन्सार महसुल घट्नासाथ एक लाख ४८ हजार सात सय रुपैयाँमा झरेको थियो । भन्सार घट्नासाथ एकै दिन सुनको भाउमा १५ हजार नौ सय रुपैयाँले गिरावट आएको थियो । त्यसपछि मंसिर र पुसमा डेढ लाखआसपासमै रहेको सुनको भाउ अहिले पुनः बढ्न थालेको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कर बढाउने त्रासले विश्वभर महँगियो सुन
रोयटर्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयात महसुल तथा शुल्कमा वृद्धि गर्न सक्ने नीतिको त्रासले लगानीकर्ता सुनमा लगानी बढाइरहेका छन् । साथै, लगानीकर्ताले अमेरिकी केन्द्रीय बैंक फेडर रिजर्भको आगामी नीति थाहा पाउन मुद्रास्फीति प्रतिवेदन पर्खिरहेका छन् । 

मुद्रास्फीति बढी भएमा फेडले ब्याजदर स्थिर राख्ने वा घटाउने नीति लिनेछ । त्यस्तै, मुद्रास्फीति न्यून भएमा ब्याजदर बढाउने जोखिम उत्तिकै रहन्छ । ब्याजदर घटाउने नीति लिएमा लगानीका अरू क्षेत्रमा लगानीकर्ता आकर्षित हुने अवसर मिल्ने सम्भावना रहन्छ । यदि ब्याजदर बढाएमा लगानीकर्ता सबैभन्दा सुरक्षित मानिएको सुनमा आकर्षित हुन्छन् । 

अनिश्चित भए पनि ट्रम्प प्रशासनले सुनमा महसुल बढाउन सक्ने जोखिमलाई लगानीकर्ताले आकलन गरिसकेका छन् । त्यसैले भविष्यमा महसुल वृद्धिको जोखिमलाई न्यूनीकरण गर्न उनीहरूले सक्दो सुन खरिद गरिरहेको रोयटर्सले जनाएको छ । त्यसैले ट्रम्पको अनिश्चित राजस्व नीतिले लगानीकर्तामा मनोवैज्ञानिक दबाब बढ्दा सुनमा लगानी बढेको र यसले मूल्य बढाएको रोयटर्सको विश्लेषण छ । हालसम्म ट्रम्पले आफ्नो राजस्व नीतिमा सुनलाई उल्लेख गरिसकेका छैनन् ।