एमालेले ७ मंसिरमा भृकुटीमण्डपमा जागरणसभा आयोजना गर्नुको पाँच कारण अघि सारेको छ। राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न, गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रस्ट पार्न सभा आयोजना गर्न लागिएको एमालेले जनाएको छ।
त्यस्तै, वर्तमान संयुक्त सरकारले गरेका काम, उपलब्धि र आगामी योजनाबारे जनतालाई स्पष्ट गर्न, सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन तथा आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्न सभा आयोजना गर्न लागिएको तयारी समितिका संयोजक डा. राजन भट्टराईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए।
पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले सरकारबारे उठेका प्रश्नको जवाफ जनतामा गएर दिने कुराको परम्परा विश्वव्यापी रहेको उल्लेख गर्दै सत्तारूढ दल पनि जनतामा जाने कुरालाई अन्यथा अर्थमा लिन नहुने बताए।
‘त्यसमा पनि हामी उपचुनावको सम्मुखमा छौँ, उपचुनावमा आफ्नो पक्षमा जनमत निर्माण गर्नका लागि सरकारमा रहेका दल र स्वयं प्रधानमन्त्रीले नै भारतमा पनि अगुवाइ गरेको देखिन्छ,’ पोखरेलले भने, ‘छिमेकी भारतमा भइरहेको उपचुनावमा प्रधानमन्त्री स्वयं भाषण गर्दै हिँड्नुभएको छ। तसर्थ, सत्तापक्ष जनताबिच जानै हुन्न भन्ने होइन। सत्तापक्ष पनि जनतामा जान्छ, दृष्टिकोण स्पष्ट पारेर भ्रमहरूलाई चिर्दछ, जनतालाई आश्वस्त बनाउँछ। त्यो राज्यपक्षको पनि कर्तव्य हाे भन्ने ठान्नुपर्छ ।’
महासचिव पोखरेलले ७ मंसिरमा एमालेले आयोजना गर्ने जागरणसभाले अराजकतावादीहरूले फैलाइरहेको भ्रमबारे जनतालाई स्पष्ट पार्ने जिकिर गरे।