कार्तिक शुक्ल पूर्णिमाको दिन शुक्रबार सिराहा र धनुषा जोड्ने कमला नदीमा नुहाउने क्रममा तीन किशोर बगेर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार नुहाउने क्रममा दिउँसो १२ बजेतिर कमलाले बगाएर बेपत्तामध्ये सिराहाको कर्जन्हा नगरपालिका– १ उत्तरवाहिणी क्षेत्रमा करिब १६ वर्षीय रोशन मण्डलको शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको छ।
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार मृतक मण्डल मिर्चैया नगरपालिका– ५ का बिन्देश्वर मण्डलका छोरा हुन्। मण्डलसँगै कमलामा नुहाउन पसेका मिर्चैया– ५ का रामनाथ साहका छोरा करिब १५ वर्षीय लक्ष्मण साह भने नभेटिएको उनले बताए।
त्यस्तै, सिराहा नगरपालिका– ६ बसबिट्टास्थित कमला पुलनजिकै दक्षिणपट्टि नुहाउने क्रममा बिहान करिब साढे नाै बजेतिर सिराहा– १५ बुधौरा गाउँका कपिलदेव यादवका छोरा करिब १४ वर्षीय अभिषेक यादव पनि बेपत्ता भएका छन्। कमलाकिनारमा लाग्ने ‘भूतप्रेत’ हटाउने मेला हेर्न गाउँलेहरूसँग गएका यादव नुहाउने क्रममा बेपत्ता भएको सूचना पाएलगत्तै जिल्ला प्रहरी र मातहतको प्रहरी टोली परिचालन गरी खोजी गरिए पनि फेला नपरेको प्रहरीले जनाएको छ।
खोजी गर्न गोताखोर परिचालन
मेला हेर्न गएका किशोरहरू नुहाउने क्रममा कमलामा डुबेर बेपत्ता भएपछि खोजी गर्न शुक्रबार दिउँसोदेखि नै प्रहरीसहित नेपाली सेनाको चोहर्वास्थित नन्दाबक्स गणको गोताखोर टोली परिचालन गरिएको छ।
डुबेर बेपत्ता भएकामध्ये एकजना मृत भेटिए पनि बाँकी दुईजनाको खोजीका लागि गोताखोर परिचालन गरिएको छ। यद्यपि, उत्तरवाहिणी र बसबिट्टामा कमलाको पानीको बहाव तेज भएकाले साँझसम्म पनि फेला नपरेको प्रनाउ पासवानले बताए। ‘मेला हेरेर घर फर्किनेहरूको भिडभाड भए पनि साँझसम्म खोजी गरियो,’ उनले भने, ‘अँध्यारोमा जोखिम हुने भएकाले स्थगित गरी शनिबार बिहान पुनः गोताखोरसहित भारतीय सीमावर्ती क्षेत्रसम्म खोजी गरिनेछ।’