एमाले महासचिव शंकर पोखरेलले देशमा अस्थिरता सिर्जना गर्न खोज्ने प्रवृत्तिमाथि लगाम लागेको बताएका छन्।
पार्टी कार्यालय, च्यासल ललितपुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रमुख सत्तारूढ दल कांग्रेस र एमाले साझा संकल्प र प्रतिबद्धतासहित स्थिरताका पक्षमा दृढतापूर्वक उभिएका कारण अस्थिरता सिर्जना गर्न खोज्ने प्रवृत्तिमाथि लगाम लागेको बताए।
दुईवटा कारणले उनीहरूको मनोबल घट्दै गएको दाबी गर्दै पोखरेलले भने, ‘अहिले दुईवटा कारणले नेपालमा अस्थिरता सिर्जना गर्नेहरूको मनोबल घटेको छ। एउटा, सरकारमा रहेका दलहरूले सामूहिक प्रतिबद्धता जनाउने कामले। यसले अस्थिरता सिर्जना गर्न खोज्ने प्रवृत्तिमाथि लगाम लागेको छ। अर्को, प्रमुख दलहरूले राजनीतिक स्थायित्व खोज्न जुन संकल्प गरेका छन्, त्यसमा उनीहरू दृढतापूर्वक उभिएका कारण अन्योलको अवस्था एक हदसम्म अन्त्य भएको छ।’