बहराइनमा हुने डेभिस कप टेनिस प्रतियोगितामा पोखराका खेलाडी अभिषेक बाँस्तोलाले प्रतिस्पर्धा गर्ने भएका छन् । २० देखि २३ नोभेम्बरसम्म हुने प्रतियोगितामा सहभागी हुन बाँस्तोलाको बिहीबार बिदाइ गरिएको छ । नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, बुबा अनुजकुमार बाँस्तोलालगायतले उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफलताको कामना गर्दै बिदाइ गरेका हुन् ।
डेभिस कपमा नेपालबाट बाँस्तोलासँगै प्रदीप खड्का, प्रणव खनाल, प्रणव मानन्धर र रीतिक राणाले प्रतिस्पर्धा गर्नेछन् । एसिया ओसियानाअन्तर्गतका १५ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा समान तीन राष्ट्र पाँच समूहका विजेताबिच प्रतिस्पर्धा गराइने उपाध्यक्ष कायस्थले जानकारी दिए । नेपाली टोलीका प्रशिक्षकमा सन्तोष खत्री छन् ।
२५ देखि ३० नोभेम्बरसम्म बहराइनमै हुने महिला बिलिजन कपमा नेपालबाट अभिलाषा विष्ट, सुनिरा थापा, स्वस्तिका विष्ट, प्रकृति श्रेष्ठ र प्राज्ना मानन्धरले समेत प्रतिस्पर्धा गर्ने उपाध्यक्ष कायस्थले जानकारी दिएका छन् ।