श्रीलंकाकामा बिहीबार संसदीय निर्वाचन भयो । यस निर्वाचनमा राष्ट्रपति अनुरा कुमारा दिसानायकेको पार्टीले बहुमत ल्याउने प्रक्षेपण गरिएको छ । दुई वर्षअघि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सत्ताच्युत गरिएपछि सुरु भएको देशको आर्थिक मन्दी सुधारका लागि अघि बढ्न ५५ वर्षीय दिसानायकेले विधायिकाको २२५ सिटमध्ये दुईतिहाइ सिट जित्ने आशा गरेका छन् ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान स्थानीय समयअनुसार साँझको ४ः०० बजे सम्पन्न भयो । भ्रष्टाचारविरुद्ध लड्ने र देशको चोरी भएको सम्पत्ति फिर्ता गर्ने वाचाका साथ गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा दिसानायके निर्वाचित भएपछि उनले समयअघि नै संसद्को निर्वाचन आह्वान गरेका थिए ।
करिब एक करोड ७१ लाख मतदाता रहेको श्रीलंकामा यसपटकको संसदीय निर्वाचनमा आठ हजार ८०० मानिसले उम्मेदवारी दिएका थिए । प्रहरी प्रवक्ता निहाल थलडुवाले ८० हजार प्रहरी अधिकारी परिचालन गरिएको निर्वाचनको अनुगमनका लागि पहिलोपटक ड्रोनको प्रयोग गर्न लागिएको जानकारी दिए ।
दिसानायकेको जेभिपी वा पिपुल्स लिबरेसन फ्रन्ट सम्मिलित गठबन्धनको जम्मा तीन सिट रहेकाले शासन सञ्चालनमा कठिनाइ हुन सक्ने भन्दै उनले मध्यावधि निर्वाचन आह्वान गरेका थिए । उनको जेभिपी पार्टीले सन् १९७१ र १९८७ मा दुई विद्रोहको नेतृत्व गरेको थियो, जसका कारण कम्तीमा ८० हजारको मृत्यु भएको थियो ।