काठमाडौंका बालगृहमै बालबालिका असुरक्षित रहेको पाइएपछि काठमाडौं महानगरपालिकाले उद्धार गरेको छ । महानगरले बुधबार वडा नम्बर २ खुर्सानीटारमा रहेको बेसहारा असहाय बाल सुधार संघ नामक संस्थामा राखिएका १० बालक र एक बालिका गरी १२ को उद्धार गरेको हो ।
उद्धार भएका बालबालिकाको पारिवारिक लेखाजोखा र मनोविमर्श गरिने उद्धारमा खटिएकी बाल संरक्षण अधिकृत सुनिता शाहले बताइन् । उद्धारपछि राष्ट्रिय बाल अधिकार परिषद्ले सबै बालबालिकाको अस्थायी संरक्षणको व्यवस्था मिलाएको छ । उनका अनुसार महानगरपालिकाको हटलाइन नम्बर ११८० मा बालबालिकाको नाजुक अवस्था रहेको, उनीहरूका नाममा अवैध चन्दा संकलनलगायत काम भइरहेको सूचना प्राप्त भएको थियो ।
वडा नम्बर २ मा दर्ता देखिएको बेसहारा असहाय बाल सुधार संघले वडा नम्बर ४ मा समेत कार्यालय स्थापना गरेर जब सेन्टर (रोजगार केन्द्र)मार्फत स्वयंसेवक कर्मचारी भर्ना गर्ने गरेको, गैरकानुनी रूपमा चन्दा उठाउने गरेको, संकलित रकम अपारदर्शी परिचालन भएको सूचना महानगरलाई प्राप्त भएको थियो । सूचनाको आधारमा अनुगमन गर्दा, मासिक २२ हजार रुपैयाँ तलब दिने भनेर १४ जना कर्मचारी भर्ना गरिएको पाइएको महानगरका बाल कल्याण अधिकारी शान्ता पहाडीले बताइन् ।
महानगरले मंगलबार मात्र नक्सालमा रहेको एउटा खाजाघरबाट जोखिमपूर्ण श्रममा भेटिएका १४ वर्षीय बालकलाई उद्धार गरेको थियो । महानगरले जोखिममा रहेका बालबालिकाको उद्धारका लागि टोली नै परिचालन गरेको छ । बालबालिका राखिएको ठाउँमा उद्धार कार्यदलका संयोजक रसला तण्डुकारको नेतृत्वमा र गैरकानुनी गतिविधि सञ्चालन गर्ने संस्थाको अनुगमनका लागि कार्यदलका सदस्य धीरज जोशीको नेतृत्वमा टोली परिचालन गरिएको छ ।
पहिलो चरणमा उद्धार गरिएका ५१ मध्ये २४ बालबालिका परिवारमा पुनर्स्थापना
महानगरले यसअघि उद्धार गरेका ५१ मध्ये २४ बालबालिकालाई परिवारमा पुनः स्थापन गरेको छ । पहाडीले उद्धार गरिएकामध्ये परिवारमा फर्काउन सम्भव भएकालाई परिवारमा पुनः स्थापन गरिएको बताइन् । तर, परिवारमा फर्काउँदा हित नहुने देखिएका बालबालिकालाई शिक्षा, स्वास्थ्योपचारसहित दीर्घकालीन स्याहारको समेत प्रबन्ध गरिएको उनले बताइन् ।
महानगरपालिकाले गत वर्ष बाल संरक्षण तथा बालबालिकासम्बन्धी कार्यविधि, २०८० जारी गरेको थियो । ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने नारा राखेर बालबालिकालक्षित कार्यक्रमका लागि चालू आव ०८१÷८२ मा सामाजिक विकास विभागअन्तर्गत ४ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । कार्यविधिअनुसार उपमेयर सुनिता डंगोलको संयोजकत्वमा महानगर बाल अधिकार समितिको गठन भइसकेको छ ।