१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २८ बुधबार
  • Thursday, 14 November, 2024
लुम्बिनीमा सामूहिक तस्बिर खिचाउँदैै विष्णुपुर गाउँपालिकाको भ्रमण टोली ।
२o८१ कार्तिक २८ बुधबार १o:३९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विष्णुपुर गाउँपालिकै रित्याएर जनप्रतिनिधिसहित ३७ जना भ्रमणमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २८ बुधबार १o:३९:oo

वडाबाट नाता प्रमाणित, चार किल्ला,  नागरिकता र राहदानीको सिफारिससमेत रोकियो

सिराहाको विष्णुपुर गाउँपालिकाका २४ जनप्रतिनिधि र १३ कर्मचारीसहित ३७ सदस्यीय टोली नै भ्रमणमा निस्किएपछि पालिका र वडाको सेवा ठप्प भएको छ । अध्यक्ष सत्यनारायण यादव, उपाध्यक्ष गीताकुमारी सिंह, वडा नम्बर ३ बाहेक १ देखि ५ का वडाध्यक्ष क्रमशः भोगेन्द्रप्रसाद यादव, प्रमोदकुमार यादव, रामबाबु यादव, जैनाथ महतोसहित गाउँ सभा सदस्यहरू २५ कात्तिकमा ‘जनप्रतिनिधि कर्मचारीको असल अभ्याससम्बन्धी अवलोकन भ्रमण’मा छन् । 

त्यस्तै, जिन्सी शाखा प्रमुखसमेत रहेका सूचना प्रविधि अधिकृत शम्भुकुमार यादव, रोजगार संयोजक दीपक मण्डल, राजस्व शाखाका सुन्दर गोइत, आर्थिक प्रशासन शाखाका रामसुफल साह, एमआइएस अपरेटर नवलकिशोर यादव, प्राविधिक शाखाका सबइन्जिनियर रामचन्द्र यादव पनि भ्रमणमा छन् ।

लुम्बिनी भ्रमणपश्चात् मंगलबार साँझ पोखरा पुगेको टोली नवलपरासी घुम्ने योजनामा छ । भ्रमणमा सहभागी वडा नम्बर २ का वडाध्यक्ष प्रमोदकुमार यादवले बुधबार नवलपरासीको सिजीधामलगायत ठाउँ घुमेर बिहीबारसम्म गाउँपालिका फर्किने बताए ।

मारमा सेवाग्राही
पाँचवटा वडा रहेको गाउँपालिकामा वडा नम्बर ३ का वडाध्यक्ष जयकुमार यादवबाहेक सबै वडाका वडाध्यक्ष भ्रमणमा गएका छन् । जसकारण वडा कार्यालयबाट नागरिकता, राहदानी, चार किल्ला प्रमाणितको सिफारिससमेत रोकिएको छ । ‘जग्गाको चार किल्ला प्रमाणित गराई सिफारिस लिन वडा कार्यालय गएको थिएँ, तर कोही पनि नभेटिएपछि खाली हात फर्किनुपर्‍यो,’ विष्णुपु–र १ का ४६ वर्षीय हरिदेव यादवले गुनासो गरे । उनले ‘सेवाग्राहीले सिफारिस लिन पनि नपाउने, जनप्रतिनिधि र कर्मचारी सबै भ्रमणमा निस्कने ? कस्तो असल अभ्यासको अवलोकन गर्न गएका हुन्’ भनेर प्रश्न पनि गरे । 

नाता प्रमाणित सिफारिसका लागि १ नम्बर वडा कार्यालय पुगेकी ५५ वर्षीया सरिता कर्णले वडामा कोही पनि नभेटिँदा दुई दिनदेखि त्यतिकै फर्किनुपरेको गुनासो गरिन् ।

वडामा कार्यवाहक पनि दिइएको छैन 
वडा नम्बर १ र ५ नम्बर वडा कार्यालयले कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी दिएका छैनन् । वडा नम्बर ५ मा त वडाध्यक्षसहित सबै जनप्रतिनिधि भ्रमणमा गएका छन् । ‘कम्तीमा कार्यवाहक दिएर गएको भए सेवाग्राहीलाई समस्या हुँदैनथ्यो,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिएका जनस्वास्थ्य निरीक्षक श्यामबाबु यादवले बताए ।

प्रशासनलाई छैन जानकारी
गाउँपालिका रित्याएर जनप्रतिनिधि र कर्मचारीको टोली अवलोकन भ्रमणमा जाँदा वा अन्य भ्रमणमा जाँदा निमित्त तोकेको वा कार्यवाहक तोकेको विषयमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइनुपर्छ । तर, मंगलबारसम्म कुनै जानकारी नआएको जिल्ला प्रशासन कार्यालय सिराहाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महतले बताए ।

त्यसबाहेक जनप्रतिनिधिसहित कर्मचारी भ्रमणमा जाँदा लिएर जाने सवारीसाधनको पनि पास लिनुपर्ने उनले बताए । ‘तर, न वडा, पालिकामा निमित्त वा कार्यवाहक तोकेको जानकारी छ, न सवारीसाधनको पास लिएका छन्,’ उनले भने ।