Skip This
धितोपत्र बजार प्रभावित पार्ने अर्थमन्त्री पौडेलको गतिविधि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ असोज ३ बिहीबार o७:२५:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

धितोपत्र बजार प्रभावित पार्ने अर्थमन्त्री पौडेलको गतिविधि

कारोबार समयमै नेप्से पुगेर अर्थमन्त्रीले सोधे– ‘३००० पुगेको परिसूचक २५०० मा किन झर्‍यो ?’

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार o७:२५:oo

सेयर बजारमा कारोबार चलिरहेको समयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल स्टक एक्सचेन्जको आकस्मिक निरीक्षण गरेका छन् । बुधबार सेयर कारोबार सकिन आधा घण्टाअघिको समय दिउँसो २.३४ बजे अर्थमन्त्री पौडेल राजस्वसचिव दिनेशकुमार घिमिरे, धितोपत्र बोर्डका अध्यक्ष महेश बराल, नेप्सेका अध्यक्ष शोभाकान्त पौडेल, सहसचिव महेश आचार्यसहितका टोली लिएर नेपाल स्टक एक्सचेन्जको कार्यालय पुगे । उनले नेप्सेका अधिकारीहरूसँग परिसूचक र कारोबार घट्नुका कारणबारे सोधपुछ पनि गरे । बुधबार नेप्से ४ अंकले घटेर २५७६.७६ विन्दुमा आइपुगेको छ ।  

सेयर बजार संवेदनशील क्षेत्र भएकाले कारोबार चलिरहेको समयमा नीतिनिर्माता तथा नियामकीय नेतृत्वले धितोपत्र बजारलाई प्रभावित पार्ने गरी सार्वजनिक गतिविधि गर्नु बजारको सर्वमान्य सिद्धान्तविपरीत भएको जानकारहरू बताउँछन् । बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरीले भने, ‘अर्थमन्त्रीले तालुक मन्त्रालयमातहतको निकायमा निरीक्षण गर्नु, सोधपुछ गर्नु सामान्य विषय हो । तर, कारोबार भइरहेको समयमा गएर सार्वजनिक गतिविधि गर्दा सेयर मूल्य प्रभावित हुने जोखिम रहन्छ कि कारोबार सुरु नहुँदै यस्तो कार्यक्रम गर्नुपर्छ कि कारोबार समाप्त भएपछि यस्तो कार्यक्रम राख्नुपर्छ ।’

धितोपत्र बजारमा सूचनाले प्रभाव पार्ने भएकाले कारोबार भइरहेको अवधिमा सेयर बजारसँग सम्बन्धित सार्वजनिक समारोहमा अर्थमन्त्री वा कुनै नीतिनिर्माताजस्ता जिम्मेवार व्यक्तिले दिने अभिव्यक्ति पनि संवेदनशील हुने उनको बुझाइ छ । नीतिगत फेरबदलको सूचना कारोबार भइरहेको अवधिमा दिँदा कारोबारीहरूले चलखेल गर्ने जोखिम रहने उनले बताए । अर्थमन्त्री पौडेलले छोटो समयमै आफू आउने जानकारी दिएर त्यहाँ पुगेको नेप्सेका अधिकारीहरूले जनाएका छन् । गत २४ साउनमा प्रतिनिधिसभाको अर्थ समितिमा पुँजीबजार सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको थियो । सो समयमा पनि समिति सदस्य सूर्य थापाले कारोबार समयमा बजारलाई प्रभावित पार्ने गरी छलफल आयोजना गरेकोमा आपत्ति जनाएका थिए । 

बजारलाई केही असर नगरोस् भनेर नै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दा सजगता अपनाएको देख्न सकिन्छ । राष्ट्र बैंकले हरेकपटक शुक्रबार या कारोबार समय सकिएपछि मौद्रिक नीति सार्वजनिक गर्ने गरेको छ । 

धितोपत्र बजारलाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिन वा कार्यक्रम गर्न नपाइने अन्तर्राष्ट्रिय मान्यता रहे पनि नेपालका नीतिनिर्माता तथा सार्वजनिक व्यक्तिहरूले यसमा ध्यान दिने गरेका छैनन् । यस सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नभएपछि धितोपत्र ऐनको दफा ९६ ले कसैले धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैँले वा अरूसँग मिली कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने, स्थिर राख्ने वा घटाउन नपाउने व्यवस्था गरेको छ । सार्वजनिक व्यक्ति वा नीतिनिर्मातालाई धितोपत्र बजार प्रभावित गराउने गतिविधिलाई निरुत्साहन गर्न कानुनी व्यवस्था आवश्यक रहेको जानकारहरू बताउँछन् । 

अर्थमन्त्रीलाई सेयर बजारकै ध्याउन्न
अर्थ मन्त्रालय सम्हालेको दुई महिनामा विष्णुप्रसाद पौडेलले समष्टिगत अर्थतन्त्रका समस्या समाधानभन्दा पनि सेयर बजार बढाउने ध्याउन्नमा खर्चिएर बिताएका छन् । 

उत्पादनशील उद्योगधन्दा पूर्णरूपमा सञ्चालनमा नआउँदा बैंक तथा वित्तीय संस्थाहरूको लगानीयोग्य पुँजी चाङ लागिरहेको छ । समयमा निर्माण व्यवसायीले कामको भुक्तानी नपाउँदा निर्माण क्षेत्र समस्यामा छ । उपभोग बढ्न नसक्दा बजारमा शिथिलता कायम छ । सरकारबाट ब्याज अनुदानको भुक्तानी नपाएपछि बैंक तथा वित्तीय संस्था सहुलियतपूर्ण कर्जा कार्यक्रम ठप्प पारेर बसेका छन् । वित्त नीतिका कमजोरीले देखापरेका समस्यालाई समाधान गर्नुपर्ने अर्थ मन्त्रालयको नेतृत्व भने दुई महिनादेखि सेयर बजार बढाउनमै बढी केन्द्रित देखिन्छन् । 

पदभार ग्रहण गरेलगत्तै उनले सेयर बजार जुवाघर नभएको टिप्पणी गरेर लोकप्रिय मन्तव्य राखेका थिए । पौडेल आएकै दिनदेखि लगातार बढ्न थालेको नेप्से परिसूचक करिब एक हजार अंकले बढेको थियो । 

३१ असारमा पदभार सम्हालेपछि बढेको नेप्से ३१ साउनमा आइपुग्दा ३०००.८१ विन्दुमा पुग्यो । उच्च विन्दुमा पुगेको वेलामा सेयर कारोबार पनि २९ अर्ब ३० करोड रुपैयाँसम्म भयो । तर, करिब एक महिनापछि बुधबार (२ असोजमा) परिसूचक २५७६.७६ विन्दुमा आइसकेको छ । बुधबार कारोबार खुम्चिएर पाँच अर्ब ५४ करोडमा सीमित भएको छ ।

बजार घटेकोमा नेप्सेका अधिकारीसँग अर्थमन्त्रीको प्रश्नैप्रश्न

एक महिनाको अन्तरालमा घटेको परिसूचक र कारोबारलाई लिएर बुधबार अर्थमन्त्री पौडेलले नेप्सेका अधिकारीहरूसँग सोधपुछ गरेका छन् । उनले भने, ‘सेयर बजारलाई राजनीतिक परिवेशले प्रभावित पार्छ भनिन्छ । साताभरमा राजनीतिक हलचल देखिएको छैन । पुँजीबजारको प्रवृत्तिमा किन परिवर्तन आयो ? पुँजीबजार ३० अर्ब रुपैयाँ हाराहारी पुगेको आज पाँच अर्बको अवस्थामा आइपुगेको छ । नेप्से ३००० पुगेको २५०० आसपासमा छ । मेरो मनमा उब्जिएको छ । यो प्रश्नको जवाफ खोज्न आएको हुँ । ३००० को आसपासको नेप्से २५०० मा झर्‍यो । यो जवाफ मसँग, सचिवज्यूसँग, बोर्ड र नेप्सेसँग पनि खोज्छु । म आफैँसँग पनि खोज्छु ।’

उनले गत आर्थिक वर्षमा पाँच अर्ब मात्रै पुँजीबजारबाट राजस्व संकलन भएकोमा पछिल्लो दुई महिनामा करिब सात अर्बको राजस्व उठेको तथ्य प्रस्तुत गरे । उनले भने, ‘साउनमा चार अर्ब २३ करोड भदौमा पनि दुई अर्ब ५७ करोड राजस्व उठेको छ । वर्षभरिको राजस्व दुई महिनामा उठेको छ । हामीले कारोबार प्रणालीमा विश्वसनीयता कसरी बढाउन सक्छौँ ?’

ब्याजदर घटेपछि सेयर बजार बढ्नुपर्नेमा घटिरहेको विषयमा पनि चासो व्यक्त गरेका थिए । उनले भने, ‘मैले १२ बजेसम्म दोस्रो बजारको कारोबार प्रणाली (टिएमएस)मा अवरोध सिर्जना भयो भन्ने गुनासो सुनेँ । किन भयो ? यो प्रणालीले कतिसम्म धान्छ ? कारोबारीहरूको गोपनीयता कति सुरक्षित छ ? ब्याजदर घटिरहेको छ । सुरुमा ब्याजदर घटेन भनेर भनिरहनुभएको थियो । तर, ब्याजदर घट्दा पनि कारोबार घटिरहेको छ । विनाविलम्ब पुँजीबजारको दिगो, भरपर्दाे र विश्वसनीय उपाय खोज्नुहोला ।’ उनले कसैलाई अनैतिक तथा अवाञ्छित क्रियाकलापबाट पुँजीबजारलाई प्रभावित हुन नदिन सतर्क रहन नेप्से र बोर्डका अधिकारीहरूलाई निर्देशन दिएका छन् । उनले इनसाइडर ट्रेडिङजस्ता अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न र सामाजिक सञ्जाललाई प्रयोग गरेर लगानीकर्तालाई उक्साउन नदिने उपाय खोज्न निर्देशन दिए ।