Skip This
आइसिसी विश्वकप लिग २ : नेपाल आज ओमानविरुद्ध खेल्दै 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज २ बुधबार o५:५९:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी विश्वकप लिग २ : नेपाल आज ओमानविरुद्ध खेल्दै 

सात महिनापछि एकदिवसीयमा फर्किएको नेपालको क्यानडासँग चौथो भेटमा मंगलबार १ सय ३ रनको नमिठो हार, लिग २ को दोस्रो सिरिजमा कमजोर सुरुवात

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार o५:५९:oo

क्यानडासँग एक सय तीन रनले पराजित भएको नेपाल आइसिसी विश्वकप लिग २ अन्तर्गत दोस्रो सिरिजमा बुधबार ओमानसँग खेल्दै छ । क्यानडाको किंग्स मैदानमा नेपालले आफूभन्दा एक स्थानमाथि रहेको ओमानविरुद्ध गतिलो प्रदर्शन गर्ने योजना बनाएको छ । लिगमा नेपालले पाँच खेलमा चार हारको सामना गरेको छ । ओमानले चार खेलमा एक जित निकाली तीन अंक जोडेको छ । 

तथ्यांकअनुसार नेपाल र ओमानबीच अहिलेसम्म सात एकदिवसीय खेल भएका छन् । जसमा ओमानले चार र नेपालले तीन जित निकालेका छन् । नेपालले अन्तिमपटक ओमानविरुद्ध २१ अप्रिल २०२३ मा प्रतिस्पर्धा गरेको थियो । सो खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो । त्रिवि क्रिकेटमा भएको खेलमा नेपालका लागि कुशल मल्लले एक सय आठ रनको शतकीय इनिङ्स खेलेका थिए । उनले केवल ६४ बलमा १० छक्का र नौ चौका प्रहार गरे । ओमानविरुद्ध सोमपाल कामीले ४८ बलमा ६३ रन बनाए । 

नेपालले ओमानविरुद्ध पहिलोपटक तीन सय रनको योगफल कटाएको थियो । विश्वकप लिग २ मा ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन गरिरहेको नेपालले बुधबार ओमानविरुद्ध सुधारिएको प्रदर्शन गर्नुपर्नेछ । नेपालका शीर्ष तथा मध्यक्रमका ब्याट्सम्यान चल्न सकेका छैनन् । बलिङमा पनि मुख्य बलरले चाहिएको समयमा विकेट निकाल्न नसक्नु प्रमुख कमजोरी बनेको छ । क्यानडासँगको खेलमा नेपाल यी दुई पक्षमा चुकेको थियो । अझ डेथ ओभरमा नेपाली बलर निकै कमजोर देखिए । 

ओमानले प्रतियोगिताका लागि राम्रो तयारी गरेको छ । ओमानले चालू सिरिजका लागि ब्याटिङमा मिहिनेत गरेको छ । ओमानले क्यानडाको पिचअनुसार स्पिन पक्षमा विशेष ध्यान दिएको छ । ओमानको शीर्ष तथा मध्यक्रम ब्याटिङ बलिङ मानिन्छ । नेपालका सिमरहरूले उनीहरूका भरपर्दा ब्याट्सम्यानलाई क्रिजबाट हटाउने प्रयास गर्नेुपर्ने देखिन्छ । 

क्यानडाविरुद्ध कमजोर 
क्यानडाको किंग्स सिटीमा नेपाल सात महिनापछि एकदिवसीय फर्म्याटमा फर्कियो । तर, नेपालले एकदिवसीय खेलमा सुखद सुरुवात गर्न सकेन । आइसिसी विश्वकप लिग २ को आफ्नो दोस्रो सिरिज खेलेको नेपाल क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भयो । एकदिवसीय फर्म्याटमा नेपाल पहिलोपटक क्यानडासँग हारेको हो । यसअघि तीन अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपालले क्यानडामाथि जित निकालेको थियो । 

त्रिवि क्रिकेट मैदानमा नेपालले गत ८–१२ फेब्रुअरीमा क्यानडाविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा नेपालले ३–० को क्लिन स्विप गरेको थियो । नेपालले क्यानडामाथि नौ विकेट, चार विकेट र सात रनको जित निकालेको थियो । क्यानडासँग आइसिसी विश्वकप लिग २ मा प्रतिस्पर्धामा उत्रिएको नेपाल ब्याटिङ, बलिङ र फिल्डिङमा चुक्यो । मंगलबार बिहान किंग्स सिटीमा क्यानडाले नेपालविरुद्ध अन्तिम १० ओभरको ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । पहिलो ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ५३ रनको चुनौती योगफल खडा गरेको थियो । 

प्रत्युत्तरमा नेपाल ४०.१ ओभरमा एक सय ५० रनमा समेटियो । क्यानडाको सानदार जितमा डिलोन हेलिगेरले ब्याटिङ र बलिङमा अलराउन्ड प्रदर्शन गरेका थिए । उनले ब्याटिङमा २७ बलमा ३० रन तथा बलिङमा ३१ रन खर्चेर पाँच विकेट लिए । उनकै अलराउन्ड प्रदर्शनमा नेपालले पहिलो खेलमै हारको सामना गरेको हो । नेपालले अन्तिमपटक एकदिवसीय खेल २५ फेब्रुअरीमा नेदरल्यान्ड्सविरुद्ध खेलेको थियो । त्यसपछि एकैपटक नेपाल क्यानडाविरुद्ध एकदिवसीय खेलमा फर्किएको हो । विशेषगरी, नेपाली ब्याट्सम्यानले खराब प्रदर्शन गरे । 

डेथ ओभर कमजोर
पछिल्लो समयमा नेपालको समस्या नै डेथ ओभरमा उत्कृष्ट बलिङ प्रदर्शन र ब्याटिङ गर्न नसक्नु नै हो । ५० ओभर तथा टी–२० फर्म्याटमा नेपालको बलिङ र ब्याटिङ फितलो हुने गरेको छ । इनिङ्सको सुरुवात र मध्यमा उत्कृष्ट प्रदर्शन गर्ने नेपालका खेलाडी यसै डेथ ओभरमा चुक्ने गरेका छन् । क्यानडाले पनि नेपालविरुद्ध यसैको फाइदा उठायो । इनिङ्सको एक समयमा क्यानडा ४३.१ ओभरमा १७२–६ को स्थितिमा थियो । यस अवस्थामा नेपालले सहजै खेल नियन्त्रणमा राख्न सक्थ्यो ।

तर, अन्तिम १० ओभरमा खराब बलिङका कारण नेपालले क्यानडालाई मध्यम योगफलमा रोक्न सकेन । क्यानडाले यसै समयमा तीन राम्रो साझेदारी गर्दै नेपाललाई दुई सय ५४ रनको लक्ष्य दियो । किर्टन र हेलिगेरले छैटौँ विकेटका लागि ३७ बलमा ३९ रन बनाए । सादविन जाफरले किर्टनसँग सातौँ विकेटका लागि २४ बलमा ४८ रनको साझेदारी गरे । केलिम सानाले किर्टनसँग आठौँ विकेटका लागि १६ बलमा ३२ रन जोड्दा नेपालले खेल आफ्नो हातबाट गुमायो । 

नेपालले क्यानडाविरुद्धको बलिङमा अन्तिम १० ओभरमा १ सय ४ रन खर्चेको थियो । यो डेथ ओभरमा नेपालले प्रतिओभर १०.१ रन खर्चियो । क्यानडाले ४० ओभरमा सुस्त गतिमै रन बनाएको थियो । क्यानडाले डेथ ओभरण्घिसम्म ३.७२ रन प्रतिओभरमा ब्याटिङ गरेको थियो । 

ब्याटिङमा संयमित नभएको नेपाल 
विश्वकप लिग २ मा नेपालले दोस्रो जित निकाल्न प्रतिओभर पाँच रन मात्र जोड्नुपर्ने थियो । धैर्यपूर्वक ५० ओभरसम्म ब्याटिङ गर्दा नेपालले क्यानडाले दिएको दुई सय ५४ रनको लक्ष्य भेटाउन सकिन्थ्यो । तर, नेपालको परम्परागत कमजोर ब्याटिङ प्रदर्शन फेरि दोहोरिँदा क्यानडाले सानदार जित निकाल्यो । इनिङ्सको १७.२ ओभरमा नेपालले शीर्ष पाँच महत्वपूर्ण विकेट गुमाउँदा स्कोर बोर्डमा ६२ रन मात्र चढाएको थियो । यस क्रममा ओपनर कुशल भुर्तेल (१), आसिफ सेख (२०), भीम सार्की (१८), कप्तान रोहितकुमार पौडेल (५) दीपेन्द्रसिंह ऐरी (८) रनमा पेभेलियन फर्के । 

शीर्ष खेलाडीले गतिलो रन बनाउन नसक्दा मध्यक्रममाथि दबाब परेको थियो । तर, मध्यक्रममा पनि फितलो नै देखियो । कुशल मल्लले ४१ बल सामना गरी १२ रन तथा पिन्च हिटरका रूपमा आएका सोमपाल कामीले ६ रन मात्र जोडे । सोमपाल पेभेलियन फर्किदा नेपाल २५.१ ओभरमा ८०–७ को कमजोर अवस्थामा पुग्थ्यो ।