१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Sunday, 08 September, 2024
उद्घाटन समारोहमा ओलम्पिक टर्च बोक्दै ढुंगामा सवार फ्रान्सका ओलम्पियन खेलाडी । तस्बिर : एजेन्सी
नयाँ पत्रिका काठमाडाैं
२o८१ श्रावण १२ शनिबार o६:४o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पेरिस ओलम्पिकको नदीमै भव्य उद्घाटन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार o६:४o:oo

इतिहासमै पहिलोपटक ओलम्पिक खेल रंगशालाबाहिर उद्घाटन, आयोजक फ्रान्सले पेरिस सहर भएर बग्ने प्रसिद्ध सेन नदीमा गर्‍यो नौलो उद्घाटन

ओलम्पिक खेलको इतिहासमा पहिलोपटक रंगशालाबाहिर उद्घाटन समारोह भएको छ । ३४औँ संस्करणको उद्घाटन अहिलेसम्मकै नौलोपना दिलाउन आयोजक राष्ट्र फ्रान्सले रंगशालाबाहिर उद्घाटन समारोह राखेको हो । विश्वचर्चित आइफल टावर हुँदै बग्ने सेन नदीमा ओलम्पिकको भव्य उद्घाटन भएको हो । सय वर्षपछि फ्रान्सले तेस्रोपटक आलम्पिक आयोजना गर्ने अवसर पाएको हो । 

नेपाली समयअनुसार शुक्रबार ११:१५ बजे सुरु भएको उद्घाटन समारोहमा एक सय २० भन्दा बढी राष्ट्रका विशिष्ट नेता तथा प्रशासकीय अधिकृत सहभागी भएको एजेन्सीले जनाएको छ । प्रतियोगितामा सहभागी दुई सय ६ राष्ट्रका खेलाडीले डुंगामा मार्च पास गरेका थिए । अंग्रेजीको अल्फाबेटअनुसार मार्च पासमा नेपालको पालो १३१औँ स्थानमा रह्यो ।

नेपालबाट टेबलटेनिसका स्यान्टु श्रेष्ठ र र जुडोकी मनिता श्रेष्ठले राष्ट्रिय झन्डा फर्फराए । स्यान्टु र मनिता रहेको डुंगामा नामिबिया र नाउरु राष्ट्रका खेलाडी थिए । ‘ओलम्पिकको उद्घाटनमा नेपालको झन्डा बोक्न पाउनु मेरा लागि गर्वको विषय हो,’ स्यान्टुले भने । प्रत्येक डुंगामा तीन राष्ट्रका खेलाडीले आ–आफ्नो राष्ट्रिय झन्डा बोकेका थिए । पेरिसबाट बग्ने सेन नदीको ६ किलोमिटर लामो खण्डमा विभिन्न देशका खेलाडीले डुंगामा परेड गरेका थिए । फ्रान्सले सहभागी खेलाडी, अफिसियल, दर्शक तथा भिआइपी पाहुनाहरूलाई फ्रान्सेली संस्कृति झल्कने कार्यक्रम राखेको हो । 

उद्घाटन समारोहमा कडा सुरक्षा व्यवस्था मिलाएको थियो । तीन लाखभन्दा बढीले प्रत्यक्ष रूपमा अवलोकन गरेको उद्घाटन समारोह दुई घण्टा लामो समयसम्म चल्यो । फ्रान्सले ओलम्पिकको नारा ‘गेम्स वाइड ओपन’ राखेको छ । १६ दिनसम्म चल्ने ओलम्पिकमा स्यान्टु र मनितासहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्स शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल छन्‌ । पछिल्ला संस्करणमा जस्तै नेपाली टोलीमा खेलाडी, प्रशिक्षकभन्दा अफिसियल बढी रहेको भन्दै एनओसीको आलोचना हुँदै आएको छ । पेरिसमा सात खेलाडीसहित नेपाली टोलीमा २७ जना सदस्य छन् । 

अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)मा आबद्ध दुई सय ६ राष्ट्रका १० हजार ६ सय खेलाडीले पेरिसमा प्रतिस्पर्धा गर्ने छन् । ३२ खेलमा १० हजार ७१४ खेलाडीले आ–आफ्नो चुनौती प्रस्तुत गर्नेछन् । पेरिस ओलम्पिकमा ३२९ इभेन्ट्स हुनेछ । ओलम्पिकका लागि पेरिसमा मात्रै १५ खेलस्थल तयार पारिएको छ । जहाँ ३२ मध्ये २१ खेल सञ्चालन गरिनेछ ।