१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ भदौ २२ शनिबार o६:३६:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

१३औँ सागमा स्वर्णसहित २०७ पदक विजेतामध्ये १०० खेलाडी विदेश पलायन

Read Time : > 4 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार o६:३६:oo

राज्यको उपेक्षा र भविष्यको चिन्ताले बिदेसिन विवश राष्ट्रका गहना खाडीदेखि युद्धग्रस्त रुससम्ममा संघर्ष गर्दै

अन्तर्राष्ट्रिय मैदानमा कुनै खेलाडीले पदकसहित राष्ट्रिय झन्डा फहराउँदा सिंगो देशले गर्व महसुस गर्छ । देशको प्रतिष्ठा बढाउँदै नागरिकमा खुसी छर्ने ती खेलाडी भने असीमित दुःख र बाध्यतामा बाँचेका छन् । राज्यले औसत जीवनयापनको समेत सुनिश्चितता नगर्दा अन्तर्राष्ट्रिय प्रतियोगितामा पटक–पटक पदक जितेका खेलाडी पनि फटाफट विदेश पलायन भइरहेका छन् । 

०७६ मंसिरमा काठमाडौंमै भएको १३औँ सागमा नेपाललाई पदक जिताएका १०० खेलाडी विदेश पलायन भइसकेका छन् । सो प्रतियोगितमा नेपालले ५१ स्वर्णसहित कुल २०७ पदक जितेको थियो । सम्बन्धित खेल संघ र प्रशिक्षकले नयाँ पत्रिकालाई उपलब्ध गराएको विवरणअनुसार पदक जितेका आधा खेलाडी अहिले विदेशी भूमिमा छन्, जसमा स्वर्ण विजेता २८ खेलाडी छन् । 

१३औँ सागमा ४३७ नेपाली खेलाडी सहभागी थिए । प्रतियोगितामा समावेश २९ वटै खेलमा प्रतिस्पर्धा गरेको नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य जितेको थियो । दक्षिण एसियाका सात राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो भएको थियोे । 

उक्त प्रतियोगितामा देशलाई सर्वाधिक २९ (१२ स्वर्ण, ६ रजत, ११ कांस्य) पदक दिलाएको तेक्वान्दोका खेलाडी नै धेरै पलायन भएका छन् । आठजना स्वर्ण विजेतासहित १८ खेलाडी बिदेसिएका छन् । जसमध्ये १२ जना अहिले अस्ट्रेलियामा छन् । 

त्यस्तै, कराँतेबाट १० स्वर्ण, चार रजत र पाँच कांस्य गरी १९ पदक भित्रिएको थियो । पदक विजेता १७ खेलाडी विदेश पलायन भएका छन् । जसमध्ये १२ खेलाडी अस्ट्रेलिया पुग्दा दुई खेलाडी खाडी मुलुक कतार र कुवेतमा संघर्ष गरिरहेका छन् । कांस्य जितेका अर्जुनकुमार बागचन त ज्यान जोखिममा राखेर रसियन सेनामा भर्ती भएका छन् । दाङका यी खेलाडी कमजोर आर्थिक अवस्थाका कारण रसियन आर्मीमा पुगेको कराँतेकै खेलाडीहरू बताउँछन् । जुडोकी कांस्य पदक विजेता सोनिया भट्ट भने डिभी परेर अमेरिका पुगेकी छिन् । 

टिम गेममा सबैभन्दा धेरै फुटबल र बास्केटबलका खेलाडी विदेश भासिएका छन् । दुवै खेलका पदक विजेता १२–१२ खेलाडी बिदेसिएका छन् । फुटबलमा मात्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका करिब ६० भन्दा धेरै खेलाडी बिदेसिएको अनुमान छ । त्यसैले, अहिले फुटबल टोलीमा अनुभवी खेलाडी नै छैनन् । त्यस्तै, १३औँ सागमा ब्याडमिन्टनमा पदक भित्र्याउने नौ खेलाडी पलायन भएको सम्बन्धित खेल संघले जनाएको छ । 

फेन्सिङका प्रशिक्षकमा अनुप कपालीले सागका पदक विजेता तीन खेलाडी विदेश पलायन भएको बताए । नेपाल आर्चरी संघका महासचिव रमेश शिवाकोटीले पनि पदक विजेता खेलाडी बाध्य भएर बिदेसिएको बताए । 

पौडीमा चार स्वर्ण र दुई रजत जितेर १३औँ सागमा सनसनी मच्चाएकी गौरिका सिंह अहिले अमेरिकामा छिन् । उनी विगतमा बेलायतमा बसेर ट्रेनिङ गर्थिन् र नेपालका घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न आउँथिन् । पछिल्लो समय अमेरिका बस्ने गरेकी उनी नेपालमा प्रतिस्पर्धा गर्न नआएको पनि ६ महिना भएको छ ।

राज्यले खेल क्षेत्रलाई उपेक्षा गर्दा खेलाडीमा पनि ‘खेलबाट भविष्य बन्दैन’ भन्ने मनोविज्ञानले जरा गाड्दै गएको देखिन्छ । आर्थिक रूपमा जीवनयापन गर्न कठिनाइ हुने मात्रै होइन, देशभित्र नियमित खेलकुद गतिविधि नहुँदा उनीहरूमा निराशा बढाएको छ । बिदेसिने धेरै खेलाडीको रोजाइ अमेरिका, अस्ट्रेलिया र बेलायत देखिन्छ । केही उज्ज्वल भविष्यको सपनासहित खाडी मुलुकमा पनि संघर्ष गर्न बाध्य छन् भने केही ज्यान जोखिममा राखेर रुसी सेनामा समेत भर्ती भएका छन् । 

फुटबलले १३औँ सागमा कांस्य पदक विजेता ब्याडमिन्टनका रत्नजित तामाङ अमेरिका पलायन भएका छन् । ‘प्रायः नेपाली खेलाडीको समस्या भनेकै भविष्य हो । नेपालमा खेलेर नि के गर्नु ? खेलपछि के गर्ने भन्ने टुंगो नै छैन । एउटा त खेल र पढाइ सँगै लैजान गाह्रो छ, त्यसमाथि खेलबाट सन्न्यासपछि भविष्य केही छैन । राष्ट्रले हेर्दै हेर्दैन । त्यसैले पनि विदेशमै बस्नुपरेको हो,’ हाल क्यालिफोर्नियामा रहेका उनले टेलिफोनमा भने, ‘यहाँ राम्रो छ । म ब्याडमिन्टन खेलाइरहेको छु, खेलिरहेको पनि छु । यहाँ राम्रो अवसर भएरै आएका हौँ ।’

करिब एक दशक राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य रहेका आशिष लामा अहिले अस्ट्रेलियामा छन् । देशमा खेलकुदमै भविष्य नदेखेर अस्ट्रेलिया आउन बाध्य भएको उनले सुनाए । ‘भन्न पनि दुःख लाग्छ, हामीकहाँ खेल्दा मात्रै खेलाडीलाई वाहावाही पाइन्छ, त्यसपछि बिर्सिन्छन् । उसले आफ्नो, परिवारको जीवन कसरी धान्नेबारे कसैले चासो देखाउँदैनन् । धेरै खेलाडीको साझा समस्या यही हो । त्यसैले नेपालमा भविष्य नदेखेरै अस्ट्रेलियालाई गन्तव्य बनाएको हुँ,’ लामाले टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘अस्ट्रेलियामा दुःख गरेपछि कम्तीमा आर्थिक रूपमा आफूलाई र परिवारलाई बलियो बनाउन सहज भएको छ ।’

नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले खेलाडीलाई आत्मनिर्भर बनाउन नसक्दा पलायन हुने गरेको बताए । ‘देशको प्रतिष्ठा बढाउन पसिना बगाउने खेलाडीलाई पारिश्रमिक दिन सक्ने अवस्था छैन । त्यसैले आफ्नो र परिवारको भविष्यका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक भित्र्याएका खेलाडी पनि बाध्यताले विदेश पलायन भएका छन्,’ उनले भने ।

तेक्वान्दोकी अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी आयशा शाक्यले देशभित्र खेलकुद गतिविधि सुस्ताउँदा पनि धेरै खेलाडी भविष्य खोज्दै विदेश पलायन हुनुपरेको बताइन् । ‘कोभिड महामारीको समयमा धेरै खेलाडी अस्ट्रेलिया पलायन भए । अभ्यास पनि नहुनु र खेल पनि नहुँदा खेलाडी निराश थिए । खेलाडीलाई सधैँ खेल खेल्न र अभ्यास चाहिन्छ । त्यसैले भविष्यको खोजीमा धेरै खेलाडी बिदेसिए,’ उनले भनिन् । केहीले अस्ट्रेलिया पुगेर पनि अभ्यास जारी राखेको उनको भनाइ छ । 

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्य खेलाडीले भविष्य खोजेको बताए । ‘कति वर्षसम्म खेल्ने ? खेलाडी फिट छ या छैन अर्काे कुरा हो । मुख्य कुरा राज्यले खेलाडीलाई खेलमै समर्पित हुन कस्तो वातावरण बनाएको छ भन्ने हो । खेलाडीले आफ्नो भविष्य हेर्नु स्वाभाविक छ,’ उनले भने । तर, केही खेलाडीले विदेश पुगेर पनि खेल्न नछाडेको उनले बताए । ‘टेबुलटेनिसमा स्यान्टुलाई धेरैले पलायन भएको भने । तर, उसले स्वदेश फर्किएर पनि राम्रो प्रदर्शन गर्दै ओलम्पिकमा स्थान बनाएको छ । केही त्यस्ता खेलाडी पनि विदेश पुगेका छन्,’ राजवैद्यले भने ।

खेलाडीलाई खेलमै समर्पित बनाउन र विदेश पलायन रोक्न राज्यसँग पनि कुनै ठोस योजना छैन । यद्यपि, पछिल्लो समय खेलकुदमा केही सकारात्मक र खेलाडीलाई हौसला दिने परिणाम पनि देखिएका छन् । पदक विजेता खेलाडीलाई तत्काल पुरस्कारसहित रोजगारीको प्रबन्ध गर्नेतर्फ सरकारले ध्यान दिने खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए । ‘म आएपछि नै दुई चिजमा ध्यान दिएको छु । एक खेलाडी, अर्काे प्रशिक्षक । अहिले फुटबलदेखि धेरै खेलका खेलाडी विदेश पुगेका छन्,’ उनले भने, ‘उता पुगेपछि पैसा कमाएका छन् । पैसा कमाउने वातावरण यो देशमा किन बनाउन सकेनौँ ? सोच्नुपर्छ । अब, राज्यले खेलाडीलाई विभिन्न संघसंस्थामा जागिर लगाउनुपर्छ । त्यो भयो भने मात्रै खेलाडी नेपालमा रहन्छन् ।’

काठमाडौं, पोखरा र जनकपुरमा भएको सागको १३औँ संस्करणका विजेता खेलाडी, प्रशिक्षक र संघलाई सरकारले २२ करोड ७६ लाख पुरस्कार वितरण गरेको थियो । सागमा कीर्तिमानी पदक जितेकी गौरिकाले सरकारबाट मात्रै पुरस्कारबापत ६२ लाख रुपैयाँ प्राप्त गरेकी थिइन् । गौरिकापछि तेक्वान्दोकी आयशा शाक्य, कराँतेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले समान २२–२२ लाख पाएका थिए । 

पछिल्लोपटक पारा ओलम्पिककी कांस्य विजेता तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धनलाई सरकारले ६५ लाख नगद दिने घोषणा गरेको छ भने काठमाडौं महानगरसहित विभिन्न संघसंस्थाले दिएको र दिने घोषणा गरेको रकम गरेर करिब एक करोडहाराहारी पुगेको छ । त्यस्तै, पलेसाका प्रशिक्षक कविराज नेगीलाई पनि राष्ट्रिय खेलकुद परिषद्मा प्रशिक्षकको जागिर दिने निर्णय सरकारको छ । त्यसअघि काभा नेसन्स कपमा उपविजेता बनेको टोलीलाई पनि सरकार र काममाडौं महानगरले नगद पुरस्कारसहित सम्मान गरेको थियो । यसले खेलाडीमा हौसला बढाएको छ ।