सफलताका लागि धैर्य

सोमबार, २८ कार्तिक, २०७९
डिजिटल संस्करण

एकपटक भगवान् बुद्ध आफ्ना केही शिष्यका साथ आफ्ना भक्तजनलाई विशेष प्रवचन दिने उद्देश्यले अर्कै गाउँतिर गइरहेका थिए । तीनचार दिनको यात्रापछि मात्र लक्षित गाउँ पुगिने र बाटामा कुनै पनि मानवबस्ती नभेटिने हुनाले उनीहरू खानपिन र विश्रामका सामग्रीसमेत साथमा लिएर हिँडेका थिए । 

हिँड्दै जाँदा उनीहरूले एउटा निर्जन स्थानमा प्रशस्त ससाना खाल्टा खनिएका देखे । जति अगाडि गयो, त्यति नै धेरै खाल्टा देखेपछि बुद्धका शिष्यहरूको मनमा खुल्दुली बढ्दै गयो । अन्ततः उनीहरूले बुद्धसामु आफ्नो जिज्ञासा राखिछाडे– भगवान्, हामी सबैले निकै अगाडिदेखि नै यस बाटाका दायाँबायाँ यति धेरै खाल्टा देखिरहेका छौँ । यति धेरै खाल्टा कसले कुन प्रयोजनका लागि खन्यो या खनायो होला ? हाम्रो खुल्दुली मेटिदिनुपर्यो प्रभु ! 

बुद्धले गम्भीर हुँदै भने– यी खाल्टा यहाँ पानीको खोजी गर्ने कुनै गाउँलेले खनेको हो । उसले एउटा खाल्टोमा पानी नभेटेपछि अर्को, फेरि अर्को गर्दागर्दै यति धेरै खाल्टा खनेको हो । यति धेरै ससाना खाल्टा खन्ने कार्यमा लगाएको शक्ति एउटै ठूलो र गहिरो खाल्टो खन्न प्रयोग गरेको भए उसले इनार नै खन्न सक्थ्यो र पानी पनि पाउन सक्थ्यो । त्यसैले तिमीहरूले यसबाट के बुझ भने कुनै पनि काममा लागेको मान्छेले सही ढंगले परिश्रम त गर्नैपर्छ, साथसाथै धैर्य पनि राख्न सक्नुपर्छ । अनि मात्र सफलता प्राप्त हुन्छ । अन्यथा, यी खाडल खन्ने परिश्रमीको जस्तै हालत हाम्रो पनि हुनेछ ।

सुझावित समाचार