तिब्बतसँग जोडिएको नाका खोल्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता

सोमबार, २८ कार्तिक, २०७९
डिजिटल संस्करण

 माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि बन्ने सरकारले तिब्बतसँग जोडिएको गोरखाको नाका खुलाउन पहल गर्ने बताएका छन् । आइतबार उत्तरी गोरखाको छेकम्पार, सामागाउँ र सिर्दिवास पुगेर उनले तिब्बतसँग जोडिएका नाकाहरू खोल्न चीनसँग छलफल गर्ने आश्वासन दिएका हुन् । गोरखा १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका राजेन्द्र बजगाईं र (ख) का उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई भोट माग्न प्रचण्ड गोरखा पुगेका हुन् । 

तिब्बतसँग जोडिएका गोरखाको रुइला र ङुइला नाका लामो समयदेखि बन्द अवस्थामा छन् । सडक सञ्जाल नपुगेको चुमनुब्री गाउँपालिकाका स्थानीय तिब्बतबाट खाद्यान्नलगायत सामग्री आयात गर्दै आइरहेका थिए । तर, तीन वर्षदेखि नाका बन्द हुँदा सीमापारिको बजारबाट चामल, नुन, घिउ, तेल, चिनी, खुर्सानी, सिमेन्टलगायत सामग्री आयात ठप्प छ ।

छेकम्पारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले बेनीघाट–आरुघाट–सिर्दिवास–चुम्चेत–छेकम्पार–ङुइला भञ्ज्याङसम्मको उत्तर–दक्षिण लोकमार्गका लागि बजेट विनियोजन गर्ने आश्वासन दिए । ‘उत्तरी गोरखाको भूगोल र यहाँका जनतासँग धेरै परिचित छु, यहाँका समस्या समाधान गर्न लागिपर्नेछौँ,’ उनले भने । गोरखा १ का उम्मेदवार बजगाईंले पार्टी फरक भए पनि गठबन्धन विकासका लागि एक ठाउँमा रहेको बताए । यहाँका जनताको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्न र यस क्षेत्रको विकास गर्न गठबन्धन लागिपर्ने उनको भनाइ छ ।

सुझावित समाचार