रोमाञ्चक जितसँगै आर्मी फाइनलमा

शनिबार, २६ कार्तिक, २०७९
डिजिटल संस्करण

नेपाल पुलिस क्लबलाई रोमाञ्चक दोस्रो सेमिफाइनलमा दुई विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आर्मीले अब उपाधिका लागि एपिएफ क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । त्रिवि क्रिकेट मैदानमा पुलिसले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा चार विकेट गुमाएर तीन सय चार रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा आर्मीले ४९.५ आठ विकेट गुमाएर तीन सय नौ रन बनाएको थियो । लक्ष्य पछ्याएको इनिङ्समा आर्मीलाई अन्तिम ओभरमा आठ रन आवश्यक थियो । इनिङ्सको १९.२ बलमा आर्मीका राजु पुलामीले चार रन लिए । त्यसपछि उनले १९.५ ओभरमा दीपेन्द्रसिंह ऐरीको बललाई छक्का प्रहार गर्दै आर्मीलाई सनसनी जित दिलाउन सफल भए । 

दीपेन्द्रको दोस्रो शतक ओझेलमा
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीले प्रतियोगितामा दोस्रो शतकीय इनिङ्स खेलेका थिए । तर, आर्मीको उत्कृष्ट ब्याटिङका कारण दीपेन्द्रसिंहको शतक ओझेलमा पर्यो । दीपेन्द्रसिंहले एक सय ४० रनको उत्कृष्ट योगदान दिएका थिए । यसक्रममा उनले एक सय २५ बलमा ११ चौका र पाँच छक्का प्रहार गरे । उनी इनिङ्सको ४८.१ ओभरमा विक्रम सोबद्वारा आउट भए । समूह चरणमा दीपेन्द्रसिंहले बागमती प्रदेशविरुद्ध एक सय आठ रन बनाएका थिए । 

पुलिसले तीन सय रन योगफल कटाउनमा आरिफ सेखले ९१ रनको योगदान दिएका थिए । उनले एक सय नौ बलमा आठ चौका र दुई छक्का प्रहार गरेका थिए । दीपेन्द्रसिंह र सेखबीच चौथो विकेटका लागि दुई सय चार रनको साझेदारी भएको थियो । दुवैले पुलिसलाई ६७–३ बाट २७१–४ को स्थितिमा राखे । दुई खेलाडीले चौथो विकेटका लागि दुई सय चार रनको साझेदारी गरेका थिए । यसअघि ओपनर कुशल भुर्तेलले ३१ रन र सुनील धमलाले १३ रन जोडेका थिए । बलिङतर्फ आर्मीका विक्रम सोबले सर्वाधिक तीन विकेट लिएका थिए । 

आर्मीको बलियो ब्याटिङ
लक्ष्य पछ्याएको इनिङ्समा पुलिसको कमजोर सुरुवात भएको थियो । इनिङ्सको ६.२ ओभरमा अर्जुन साउदलाई आर्मीले गुमाएको थियो । आर्मीले ८.६ ओभरमा भीम सार्कीलाई गुमायो । साउदले ११ रन र तेस्रो नम्बरमा आएका सार्कीले १० रन जोडेका थिए । यी दुवै खेलाडी पेभिलियन फर्किंदा आर्मी ४६–२ को अवस्थामा थियो । 

तेस्रो विकेटका लागि हरि चौहान र रोहितकुमार पौडेलले एक सय ३५ रनको बलियो साझेदारी गरेका थिए । रोहितले ८७ बलमा नौ चौकासहित सर्वाधिक ८९ रन बनाएका थिए । हरिले ९२ बलमा आठ चौका र एक छक्का मद्दतमा ७५ रनको योगदान गरे । यसैगरी, प्लेअर अफ दी म्याच राजेशले ४३ रन जोडे । कप्तान विनोद भण्डारीले ३२ रन र विक्रम सोबले ३० रन जोडे ।

करणको ६ विकेट
दोस्रो सेमिफाइनलमा पुलिसका करण केसीले उत्कृष्ट प्रदर्शन गरी आर्मीका ६ ब्याट्सम्यानलाई पेभिलियन पठाएका थिए । १० ओभर पूरा बलिङ गरेका करणले ५२ रन खर्चिएका थिए । पुलिसका अन्य बलरले करणलाई गतिलो साथ नदिँदा उनको घातक बलिङसमेत खेर गयो । करणले अर्जुन साउद, भीम सार्की, विनोद भण्डारी, कुशल मल्ल, विक्रम सोब र सुसन भारीको विकेट लिएका थिए । 

प्रतियोगितामा करणले १३ विकेट लिएका छन् । उनले मधेसविरुद्ध तीन, लुम्बनीविरुद्ध दुई तथा बागमतीविरुद्ध दुई विकेट हात पारेका थिए । आर्मीसँगको प्रतिस्पर्धामा रसिद खान र ललित राजवंशीले एक–एक विकेट लिएका थिए । 

सुझावित समाचार