विश्व निर्वाचनका रोचक पक्ष

शुक्रबार, २५ कार्तिक, २०७९
डिजिटल संस्करण

निरंकुश तानाशाही हुन् वा लोकतान्त्रिक, विश्वका सबैजसो मुलुकमा निर्वाचन हुने गरेको छ । केही मुलुकले निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न मत सर्वेक्षणका साथै प्रचारप्रसारमा समेत अंकुश लगाउने गरेका छन् भने केही मुलुकमा चाहिँ नाम मात्रैका निर्वाचन हुने गर्छन् ।

न्युजिल्यान्ड : प्रक्षेपण र प्रचार गर्न पाइँदैन
न्युजिल्यान्डमा मतदान हुँदा सम्पूर्ण देश मौन हुन्छ । न्युजिल्यान्डमा निर्वाचनका कुनै पनि पक्षबारे छलफल गर्न रोक लगाइन्छ । चुनावी विज्ञापनमा प्रतिबन्ध लगाइएको हुन्छ भने उम्मेदवारहरूको सामाजिक सञ्जालका पेजहरू निष्क्रिय रहन्छन् । एक्जिट पोल, अनुमानलगायत निर्वाचनलाई प्रभाव पार्ने विषयमा सञ्चार माध्यममा प्रकाशन वा प्रसारण गर्न पाइँदैन । किन सेन्सरसिप लगाइन्छ त ? निर्वाचनअघिका सर्वेक्षण, पूर्वानुमानले मतदाताको छनोटमा असर गर्ने भएकाले यस्ता कार्यमा रोक लगाइन्छ । 

न्युजिल्यान्डको निर्वाचन आयोगको यति कडा नियम छ कि कुनै पनि सञ्चारमाध्यम वा कसैले पनि मतदान बन्द हुनुअघि मतदातालाई प्रभाव पार्न सक्ने कुनै पनि शब्द वा तस्बिर प्रसारण गर्न पाउँदैन । नियम उल्लंघन गर्नेलाई हजारौँ डलरसम्म जरिवाना गरिन्छ ।

लाइबेरिया  ः इतिहासमै दुर्नाम निर्वाचन
लाइबेरिया ठूलो देश होइन । सन् १९२७ मा जब चाल्र्स डिब. किङ दुई लाख ३४ हजार मतका साथ राष्ट्रपतिमा पुनः निर्वाचित भए, अन्तर्राष्ट्रिय समुदाय तीन छक परेको थियो । यो निर्वाचनको सबभन्दा अनौठो पक्ष के थियो भने लाइबेरियामा त्यसबखत केवल १५ हजार मानिस मतदाताको सूचीमा दर्ता थिए । निर्वाचित भएको केही समयपछि लिग अफ नेसन्सले किंग र उनको पार्टीलाई सडक र सार्वजनिक कार्य निर्माणमा बधुवाँ श्रमको प्रयोग गराएको रिपोर्ट प्रकाशित गरेपछि उनी पदमुक्त भए । त्यसैले गिनिज बुक अफ वल्र्ड रेकर्डले अहिलेसम्मकै सबैभन्दा धाँधली भएको चुनाव भनी कीर्तिमानी दर्ज गरेको यो चुनावले खासै अर्थ राखेन ।

इराकले गरेको देखावटी निर्वाचन
सन् १९७९ मा सत्ता कब्जा गरे पनि सद्दाम हुसेनले सन् १९९५ मा जनताबाट अनुमोदन हुने समय आएको निर्णय गरे । एउटा राष्ट्रपतीय जनमत संग्रह सम्पन्न गरियो, जसमा सोधिएको थियो, ‘के तपाईं राष्ट्रपति सद्दाम हुसेनलाई गणतन्त्रको राष्ट्रपति बन्न अनुमोदन गर्नुहुन्छ ?’ मतदानमा ‘गर्छु’ भन्ने विकल्पलाई कडाइकासाथ प्रोत्साहित गरिएको थियो । सबैले अनिवार्य रूपमा मत खसाल्नुपर्ने भनिएको यो जनमतसंग्रहमा ९९ दशमलव ९९ प्रतिशत मतदान भएको थियो । अधिकांश मत ‘हुन्छ’ भन्ने परेको थियो भने केही दर्जन मत मात्रै ‘होइन/गर्दिनँ’ भन्नेमा खसेका थिए । सद्दामले सन् २००२ मा पनि जनमतसंग्रहको आयोजना गरे र त्यसमा पनि अनुमोदित भएका थिए । यसपटक हुसेनले इराकी रेडियोमा निरन्तर एउटा गीत बजाउन लगाएर निर्वाचनको प्रचार गरेका थिए ।

 जिम्मी कार्टरले जितेको त्यो निर्वाचन 
कहिलेकाहीँ सर्वसाधारणले अघिल्लो सरकारले गरेका गल्तीका लागि त्यसको भुक्तानी गराउँछन् वा सजाय दिन्छन् । सन् १९७६ मा ठ्याक्कै त्यस्तै भयो, जतिवेला पूर्व बदाम किसान जिम्मी कार्टरले बहालवाला राष्ट्रपति गेराल्ड फोर्डलाई आश्चर्यजनक रूपमा हराए । विशेषगरी फोर्डसँगको तुलनामा कार्टर खासै प्रभावशाली उम्मेदवार थिएनन् । तर, जनतामा छाएको वाटरगेटविरोधी भावनाले फोर्डलाई क्षति पुग्यो । यसले कार्टरलाई बल दियो र उनी सहजै अमेरिकाको ३९औँ राष्ट्रपति बन्न पुगे । राष्ट्रपतिको कार्यकाल सकिएपछि कार्टर आफ्नो नाममा फाउन्डेसन नै खोलेर समाजसेवामा लागे । सामाजिक तथा मानवीय कार्यका लागि उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए । 

अमेरिकामा अन्तरिक्षबाट पनि मतदान  
सन् १९९७ मा पारित टेक्सासको कानुनले अन्तरिक्षमा रहेका अमेरिकी अन्तरिक्ष यात्रीहरूलाई संघीय चुनावमा अन्तरिक्षबाट नै इलेक्ट्रोनिक रूपमा मतदान गर्न अनुमति दिन्छ । उनीहरूले विद्युतीय रूपमा खसालेका मतपत्रहरू सुरक्षित इमेलमार्फत जोन्सन स्पेसफ्लाइट सेन्टरमा पठाइन्छ र त्यसपछि अन्तरिक्षयात्रीहरूको गृह काउन्टी टेक्सासमा पठाइन्छ । टेक्सास मात्र किन ? किनभने लगभग सबै वर्तमान अन्तरिक्षयात्रीहरू ह्युस्टनको जोन्सन स्पेसफ्लाइट सेन्टरनजिकै बस्छन् । अन्तरिक्षबाट पहिलो भोट अमेरिकी अन्तरिक्षयात्री डेभिड वुल्फले सन् १९९७ मा रुसी अन्तरिक्ष केन्द्र मिर स्टेसनमा रहेका बखत खसालेका थिए । 

जोक्करले जितेको ब्राजिलको निर्वाचन
एउटा चर्चित गीतसँगै अभिनेता तथा हास्य कलाकारको करिअर बनाएका फ्रान्सिस्को एभेरार्डो ओलिभेरा सिल्भा राजनीतिमा प्रवेश गर्नुअघि ब्राजिलका एक स्टार थिए । उनले आफ्नो गृहसहर साओ पाओलोबाट नेसनल कंग्रेस अफ ब्राजिलमा प्रतिनिधित्व गरे । सिल्भाले तल्लो सदनमा चुनाव लडेपछि अन्तर्राष्ट्रिय ख्याति कमाए । ‘एक संघीय कंग्रेसले के गर्छ मलाई साँच्चै थाहा छैन, तर मलाई भोट दिनुहोस् म तपाईंलाई जानकारी दिनेछु’, भोट माग्दा उनी भन्ने गर्थे । उनका विपक्षीहरू उनलाई निरक्षर, जातिवादी भनी निन्दा गर्थे । उम्मेदवारी फारममा नक्कली हस्ताक्षर गरे पनि सिल्भाले सन् २०१० को चुनावमा अन्य उम्मेदवारको भन्दा धेरै मत प्राप्त गरेर सजिलै विजयी भएका थिए । विजय भएपछि उनले साक्षरताको परीक्षा दिनुपरेको थियो, जुन उनले उत्तीर्ण गरे ।

सुझावित समाचार