सन् २०१४ विश्वकपका नायक मारियो गोट्जे पाँच वर्षपछि जर्मन फुटबल टोलीमा फर्किएका छन् । जर्मनीले बिहीबार कतार विश्वकपका लागि घोषणा गरेको खेलाडीको सूचीमा गोट्जे पनि समावेश भएका छन् । जर्मन प्रशिक्षक हान्सी फ्लिकले आफ्नो २६ सदस्यीय टोलीमा गोट्जेलाई स्थान दिएका हुन् ।
सन् २०१७ यता गोट्जेले राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका थिएनन् । गोट्जेले विश्वकपभरि बोरुसिया डर्टमन्डका जुलियन ब्रान्ड, बायर्न म्युनिखका लिओन गोरेट्जका र जोसुआ किमिच, बोरुसिया मोन्चेनग्लाडबाचका जोनास होफम्यान र म्यानचेस्टर सिटीका इल्काय गुन्डोगानसँग मिडफिल्डरमा रहेर प्रतिस्पर्धा गर्नेछन् ।
गोट्जेको त्यो गोल
सन् २०१४ मा जर्मनीलाई फिफा विश्वकपको उपाधि जिताउन गोट्जेले निर्णायक गोल गरेका थिए । अर्जेन्टिनाविरुद्ध वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका गोट्जेले अतिरिक्त समयमा गोल गरेका थिए । ब्राजिलमा भएको विश्वकपमा कम अवसर पाएका गोट्जेको त्यो गोलसँगै जर्मनीले चौथोपटक फिफा विश्वकप उपाधि उचाल्यो । गोट्जेको गोलसँगै लियोनल मेसी र अर्जेन्टिनाको फिफा विश्वकप उपाधि चुम्ने सपना अधुरै रहन पुग्यो ।