मुख्य सहरसँग जोडिने सबैजसो सडक जीर्ण, किसानले पाउँदैनन् मल
शोभा भट्टराईको घर सीतापाइला–धार्के सडकखण्डअन्तर्गतको भीमढुगांमा पर्छ । वर्षाैँदेखि अलपत्र रहेको सीतापाइला–धार्के सडक बनाउँछु भन्दै भोट माग्न आउनेहरूलाई उनले थुप्रैपटक भोट हालिसकिन् । उनीजस्तैका भोटले कति विजयी भए हिसाबै छैन । तर, यो सडकखण्ड उस्ताको उस्तै छ ।
सडक नबन्दा हिउँदमा धुलाम्मे हुन्छ, वर्षामा हिलोले हिँड्नै सकिँदैन । यसपटकको निर्वाचनमा पनि यही सडकलाई एजेन्डा बनाएर उम्मेदवारहरू गाउँमा भोट माग्न आएका छन् । गाउँ आएका उम्मेदवारहरूलाई उनले सधैँझैँ सडक छिटो बनाइदिन आग्रह गरिन् । तर, सडक बन्ला भन्ने उनलाई आसै छैन । ‘भोट माग्न आउँछन् । बाटो बनाउँदैनन् । हामीलाई सधैँ धुलो, हिलो खुवाउँछन्,’ उनले भनिन्, ‘यहीँको नेताले पनि गरे भने सक्दा हुन् । तर, पनि मन लगाएनन् ।’
सीतापाइलादेखि करिब चार किलोमिटर दूरीमा छ धार्के । यो सडकखण्डमा साना–ठूला गरी दैनिक सयौँ सवारीसाधन चल्छन् । निर्वाचन नजिकिएसँगै यो सडकमा राजनीतिक दलका नेता–कार्यकर्ता र जनप्रतिनिधिको दौडाहा झनै बाक्लिएको छ । सडक सुधारतर्फ भने कोही पनि गम्भीर नभएको उनको भनाइ छ । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले त केही समयअघि एक टेलिभिजन अन्तर्वार्तामा सीतापाइलादेखि ठूलोखोलासम्म कालोपत्रे भइसकेको भनेर ढाँटेको उनले बताइन् । ‘हाम्रो मेयरले त सीतापाइलादेखि ठूलोखोलासम्म कालोपत्रे नै भइसक्यो भने । बाटो कस्तो छ, तपाईंले देखिहाल्नुभयो । मेयरले आफ्नो घर जाने बाटो पिच गरे होलान्, तर यहाँ त कच्ची नै छ,’ उनले भनिन् । यस्तो झुटो बोल्ने नेता अब निर्वाचित हुनुनहुने उनको भनाइ छ ।
चार किलोमिटर सडक ३५ वर्षदेखि जस्ताको तस्तै
भीमढुंगाकै प्रह्लाद कुँवर वर्षौँदेखि जीर्ण रहेको सडक नबनेका कारण आफू यस क्षेत्रको मतदाता हुँ भन्नसमेत लाज लाग्ने गरेको बताउँछन् । ‘हरेक निर्वाचनमा बाटो.. बाटो... भनेर भोट माग्छन् । तर, जितेर गएपछि कसैले सम्झँदैनन्,’ उनले भने, ‘०४४ सालमा ट्र्याक खोलेको चार किलोमिटर यो सडक ३५ वर्षसम्म पक्की भएको छैन । यो ठाउँ त ढुंगे युगमै छजस्तो लाग्छ ।’ किराना र तरकारी पसल चलाउने रामकोटका बालकृष्ण गिरी बिहान ल्याएको तरकारी मध्यदिनमै धुलाम्य हुँदा मन कुँडिने गरेको बताउँछन् । तर, के गर्नु उनीसँग विकल्प छैन । ‘बिरामी आफँै हिँडेर अस्पताल गए एक घन्टा लाग्ला । तर, एम्बुलेन्समा जाँदा दुई घन्टाभन्दा बढी लाग्छ,’ उनले भने, ‘बाटोको हालत यस्तो हुँदासमेत जितेर पठाएका नेता देख्दैनन् ।’ अबको निर्वाचनमा जसले जिते पनि बाटोको हालतमा सुधार आए हुने भन्ने उनको चाहना छ ।
देशकै पहिलो जलविद्युत् परियोजना पुग्ने बाटो अलपत्र
नेपालकै पहिलो जलविद्युत् परियोजना चन्द्रज्योति हाइड्रोपावर फर्पिङ (विसं १९६७) सोखेलमा छ । तर, यही सोखेलसम्म पुग्ने बाटो भने वर्षौँदेखि जीर्ण र अलपत्र छ । फर्पिङकी विनु श्रेष्ठ आफ्नो क्षेत्रमा सडकको पहुँच भए पनि व्यवस्थित नभएको गुनासो गर्छिन् । ‘सडकको पहुँच सबै ठाउँ छ । तर, राम्रो कहीँ छैन । नेपालको पहिलो जलविद्युत् आयोजनासमेत यहीँ छ । तैपनि, बाटो जीर्ण छ । बर्खामा त हिँड्नै सकिँदैन,’ उनले भनिन् ।
उनले नेताहरूले घोषणापत्रमा उल्लेख गरेको विषय मात्रै पनि इमानदारीपूर्वक लागू गरिदिए हुने अपेक्षा गरिन् । ‘उहाँहरूले आफ्नै घोषणापत्रमा जेजे भनेका छन्, त्यही मात्रै पनि इमानदारीपूर्वक गरिदिए हुने,’ उनले भनिन्, ‘सपना बाँड्ने काम मात्र नहोस् । सपनालाई पूरा गर्नेतर्फ पनि ध्यान पुगोस् । निर्वाचनबाहेक अरू वेला पनि के–कस्तो छ ? समस्या के छन् ? भनेर ध्यान पुगोस् ।’स्थानीय कमला कुँवर पनि सडकको धुलो र हिलो आजित भएको बताउँछिन् । ‘कतै–कतै ढलान छ । खाल्डाखुल्डीले हिँड्नै सकिँदैन । चन्द्रज्योति हाइड्रोपावर जाने बाटोको केही ठाउँमा ढलान छ । गाउँ क्षेत्रको हालत सधैँ उस्तै,’ उनले भनिन् । उनले ग्रामीण भेगका महिलालाई सक्षम बनाउन सीपमूलक तालिमको व्यवस्थासमेत गर्नुपर्ने जोड दिइन् ।
स्थानीय अशोक राउत काँठ क्षेत्र कृषि उब्जाउमा अब्बल भए पनि समयमै मल, बिउबिजन उपलब्ध नहुँदा किसानहरू मारमा परिरहेको बताउँछन् । ‘हाम्रो अपेक्षा भनेको जितेर जानेले कृषि क्षेत्रमा पनि ध्यान दिऊन् भन्ने हो । कृषिका लागि समयमै बिउबिजन, मलको व्यवस्था हुनुपर्यो भन्ने हो,’ उनले भने, ‘कृषि, पर्यटनसँगै विकास पूर्वाधार, बाटोघाटो र शैक्षिक क्षेत्रमा काम भए राम्रो हुन्थ्यो ।’
मल, बिउ र कृषि उत्पादन बिक्री झनै कठिन
नारायण बुढाथोकी बाटोको समस्या मात्र होइन, किसानका लागि समयमै मल, बिउ व्यवस्था झन् जटिल रहेको बताउँछन् । ‘चाहिएका वेला मल, बिउ नपाउने समस्या सधँै छ । किसानले चाहिएजति मल नपाएको एक वर्ष भयो । साथीभाइसँग भएको एक–दुई पाथी मल सापट गरेर काम चलाइरहेका छौँ । यही कारण धान कम फल्यो । छँदै छैन भन्दा पनि भो,’ उनले दुखेसो पोखे । रामकोटकै बद्रीप्रसाद रिमाल नेताहरूले काँठ क्षेत्रलाई ध्यान नदिएको आरोप लगाउँछन् । ‘जितेर गएपछि बिहे, व्रतबन्धमा जसरी आइपुग्छन् । विकास निर्माणका काममा यस्तो छ है..., भन्दा कोही आउँदैनन्,’ उनले भने । धादिङ–धुनीबेँसी २४ किलोमिटर सडकमध्ये सीतापाइला–धार्केको चार किलोमिटर नागार्जुन नगरपालिकाभित्र पर्छ । नागार्जुन नगरपालिका १, २, र ३ वडा काठमाडौं–७ मा पर्छ । वडा नम्बर ४ र ५ काठमाडौं–८ मा पर्छ । वडा नम्बर ६, ७, ८, ९, १० काठमाडौं–१० क्षेत्रमा पर्छ ।
सडक नापजाँच मात्रै हुन्छ, स्तरोन्नति कहिल्यै भएन
कीर्तिपुर, ज्वालादेवी टोलका मोहन हमाल यस क्षेत्रको मुख्य सडक विस्तारका लागि पटक–पटक नापजाँच भए पनि कहिल्यै नबढेको बताउँछन् । ०७४ को निर्वाचनपछि एकपटक कालोपत्रे भने भएको उनले बताए ।
यही बाटो विस्तारको एजेन्डा बोकेका कारण गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारीले वडाध्यक्षमा जिते । ‘जो आउँछन्, बाटो नापेर जान्छन् । भइहाल्छ भन्छन् । कसैले केही नगर्ने रहेछन् । सबैले आश्वासन मात्र दिने रहेछन्,’ हमालले भने, ‘हामीलाई चामल किनिदेऊ भनेको होइन । छोराछोरीको फिस तिरिदेऊ भनेको होइन । सार्वजनिक बाटो बनाइदेऊ भनेको हो ।’ बाटो मात्र होइन, यो क्षेत्रमा खानेपानीदेखि यातायातसम्मको समस्या भएको उनी बताउँछन् । स्थानीय रमेश अर्याल अब भोट नै नहाल्ने कि भन्ने सोचमा पुगेको बताउँछन् । ‘जति भोट हाले पनि बाटोको ताल यही हो । बरु भोट नहाल्ने, आनन्दले बस्ने हो । भोट माग्ने वेलामा मात्र आएर के गर्नु ?’ उनले भने ।