मौसम प्रतिकूलताले उच्च हिमाली जिल्लामा निर्वाचन तयारी प्रभावित

बिहिबार, २४ कार्तिक, २०७९
डिजिटल संस्करण

- उपल्लो डोल्पाका मतदान केन्द्र पुग्ने बाटाघाटा हिउँले पुरिए, अन्यत्र खटाइदिन भन्दै कर्मचारीको निवेदन
- जुम्लामा सडक बिग्रँदा सकस, भरियामार्फत निर्वाचन सामग्री पठाइयो 
- सदरमुुकाममै मतदान केन्द्र सार्न दार्चुलाका व्याँसवासीको माग, भोट माग्न छाङरू–तिंकर पुग्दैनन् उम्मेदवार 
- सदरमुकाम पुगेका निर्वाचन सामग्री हिमपातका कारण मतदान केन्द्रसम्म पुर्‍याउन समस्या, हेलिकोप्टर माग

हिउँले पुरिएको डोल्पा सदरमुकाम दुनैबाट उपल्लो डोल्पा जाने बाटो 

मौसम प्रतिकूलताका कारण उच्च हिमाली जिल्लाहरूमा निर्वाचन तयारी प्रभावित बनेको छ । हिमपात र भौगोलिक विकटताका कारण मतपत्र ढुवानीदेखि मतदान केन्द्रसम्म पुग्ने कर्मचारी र मतदातालाई समस्या देखिएको छ । 

उच्च हिमाली क्षेत्रमा रहेका मतदाता तल्लो भेगमा बसाइँ सर्न थालेका छन् । हिमपात सुरु भएसँगै कतिपय जिल्लामा बाटाघाटा बन्द भएका छन् । सडकबाट ढुवानी सहज नभएपछि निर्वाचन सामग्री हेलिकोप्टरमार्फत पठाइएको छ । कतिपय ठाउँमा मतदान केन्द्र सार्न मतदाता र अन्यत्र खटाउन कर्मचारीको गुहार छ । 

निर्वाचन आयोगले प्रतिकूलताबीच अधिकांश हिमाली र विकट जिल्लामा मतपत्र ढुवानीको काम सकेको जनाएको छ । आयोगमा सहायक प्रवक्ता ऋषिराम भुसालले सबै जिल्लामा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पठाइसकिएको बताए । उनका अनुसार मनाङ, मुस्ताङ, जुम्ला, डोल्पा, हुम्ला, बाजुरा र मुगुमा हेलिकोप्टरमार्फत मतपत्र ढुवानी गरिएको छ । 

कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा हिमपात बढ्दै जाने देखिन्छ : मौसमविद् सजिना शाक्य मौसम पूर्वानुमान महाशाखा
पहाडी जिल्लाका केही क्षेत्रमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । पश्चिमी वायुका कारण बैतडी र बाजुराका केही ठाउँमा हल्का वर्षा भएको छ । चिसो बढ्दै जाँदा उच्च हिमाली भेगमा पनि हिमपात सुरु भएको हो । हामीसँग हिमपातको यकिन तथ्यांक त खासै उपलब्ध हुँदैन, तर गण्डकीदेखि पश्चिम, त्यसमा पनि कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा हिमपात बढ्दै जाने देखिन्छ । क्रमशः यो क्रम मुलुकका अन्य हिमाली भेगमा पनि सुरु हुन्छ ।

मौसम प्रतिकूलताका हिसाबले सूचीकृत हिमाली जिल्लाहरूमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम पूर्व र म्याग्दी रहेका छन् । मौसम प्रतिकूलताका कारण सडकमार्गबाट सम्भव नभएका जिल्लामा हेलिकोप्टरमार्फत चुनावी सामग्री पठाइएको हो । 

उपल्लो डोल्पाका मतदान केन्द्र पुग्ने बाटा हिउँले पुरिए
हिमपातले उपल्लो डोल्पाका मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पठाउन सकिएको छैन । कात्तिकसँगै धो, तिन्जे, साल्दाङ, छार्कामा पर्ने मतदान केन्द्रसम्म पुग्ने बाटाघाटा हिउँले पुरिएपछि निर्वाचन अधिकृतको कार्यालय डोल्पाले विकल्प खोजेको छ । सदरमुकाम दुनैबाट तीनदेखि सात दिनसम्मको दूरीमा उपल्लो डोल्पाका तीन स्थानीय तहमा २२ वटा मतदान केन्द्र छन् ।

भौगोलिक रूपमा विकट र हिमपातका कारण से–फोक्सुन्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पठाउन समस्या भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ । हिउँद लागेसँगै उपल्लो डोल्पामा दैनिकजसो हिमपात भइरहेको छ भने न्यूनतम तापक्रम माइनसमा झरेको डोल्पोबुद्ध गाउँपालिकाका स्थानीय पेमा छेवाङ गुरुङले बताए ।

एक सातासम्मको लामो यात्रा, जोखिमपूर्ण बाटो, हिउँले भरिएका अग्लाअग्ला हिमाल चढ्नुपर्ने भएकाले पनि उपल्लो डोल्पाका मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पठाउन समस्या भएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । ‘मतपत्रलगायत निर्वाचन सामग्री जिल्लामा आइसकेको छ, मतदान केन्द्रमा कुन–कुन कर्मचारी पठाउने भनेर पनि तय भइसकेको छ,’ उनले भने, ‘तर, कर्मचारी र निर्वाचन सामग्री कसरी पठाउने भन्ने समस्या छ । हिउँले समस्या भइरहेको हो ।’ कर्मचारी र निर्वाचन सामग्री हेलिकोप्टमार्फत पठाउनुको विकल्प नरहेको सुवेदीले बताए । आयोगसँग उपल्लो डोल्पामा पर्ने १५ वटा स्थानमा हेलिकोप्टर प्रयोगका लागि अनुमति मागिएको उनले जानकारी दिए । 

उपल्लो डोल्पा खटाइएका कतिपय कर्मचारीले आफूहरूलाई अन्यत्र खटाउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् । भौगोलिक रूपमा विकटता, लामो समयदेखिको हिमपातले चिसो बढेको र चार हजार मिटरभन्दा अग्ला लेक पार गरेर मात्र मतदान केन्द्रमा पुग्नुपर्ने भएकाले अन्यत्र खटाइदिन निवेदन दिइएको एक कर्मचारीले बताए । 

डोल्पाको औसत तापक्रम अधिकतम २० डिग्री सेल्सियसदेखि न्यूनतम माइनस १० डिग्रीसम्म हुने गर्छ । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उपल्लो डोल्पामा लेक लागेर सुनील विकको ज्यान गएको थियो । डोल्पामा ६८ मतदान केन्द्र छन् भने २२ हजार सात सय ७४ मतदाता छन् ।

जुम्लामा सडक बिग्रँदा सकस, भरियामार्फत निर्वाचन सामग्री पठाइयो 
सडकमार्ग सञ्चालनमा आउन नसक्दा जुम्लामा सेनाको हेलिकोप्टरमार्फत तीन लाख आठ हजार मतपत्र सेनाको हेलिकोप्टरमार्फत खलंगा पुर्‍याइएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माका अनुसार आयोगले जुम्लाका लागि आवश्यक पर्ने मतपत्र यसअघि गाडीमार्फत सुर्खेत पुर्‍याएको थियो । तर, असोज अन्तिम साता वर्षासँगैको बाढीपहिरोले कर्णाली राजमार्गका विभिन्न क्षेत्रमा क्षति पुर्‍याउँदा मालबाहक ठूला गाडी चल्न सकेका छैनन् । जसकारण मतपत्रसहित निर्वाचन सामग्री हेलिकोप्टरमार्फत सुर्खेतबाट ढुवानी गर्नुपर्ने अवस्था आएको हो ।

सदरमुुकाममै मतदान केन्द्र सार्न व्याँसीहरूको माग 
दार्चुलाको व्याँस गाउँपालिकाका बासिन्दाले सदरमुकाम खलंगामै मतदान केन्द्र राख्न माग गर्दै ६ कात्तिकमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले पनि मतदान केन्द्र सार्न आयोगलाई सिफारिस गरेको छ । मुख्य निर्वाचन अधिकृत खेमराज भट्टका अनुसार स्थानीयको मागअनुसार खलंगाका दुई ठाउँमा मतदानस्थल राख्न सिफारिस गरिएको बताए । छाङरू, तिंकरमा बस्दै आएका स्थानीय गाउँमा हिमपात हुने भएपछि उनीहरू खलंगा झर्न लागेका हुन् । जसअनुसार तिंकरको मतदान केन्द्र मोती महिला संघ तिंकर खलंगा र छाङरूको मतदान केन्द्र कैलाश आधारभूत विद्यालय छाङरूमा हुनेछ । छाङरूमा तीन सय ८३ र तिंकरमा दुई सय ३४ जना मतदाता छन् । यहाँका हरेक वर्ष वैशाख जेठ महिनामा गर्मी छल्न व्याँसको छाङरू तिंकर उक्लिने गर्छन् भने जाडो छल्न कात्तिक मंसिरमा खलंगा झर्ने गर्छन् । गत स्थानीय तहमा भने उनीहरूले छाङरू र तिंकरमै मतदान गरेका थिए । ६ महिना व्याँस र ६ महिना सदरमुकाम खलंगामा बस्ने गर्छन् । उनीहरू कात्तिक अन्तिम साताभित्र खलंगा बसाइँ सर्ने तयारीमा छन् ।

भोट माग्न छाङरू–तिंकर पुग्दैनन् उम्मेदवार 
कालापानीका कारण सधैँ चर्चामा रहिरहने गाउँ हो व्याँस गाउँपालिका, १ को छाङरू र तिंकर । नेताहरूको भोट माग्ने मुख्य एजेन्डा राष्ट्रियताको नारा बन्दै आएको कालापानीमुनिका यी दुवै गाउँमा भने उम्मेदवार भोट माग्नसमेत पुग्दैनन् । ६१ वटा वडा रहेको दार्चुलाका अन्य वडामा नेता भोट माग्न पुग्छन् । छाङरू र तिंकर गाउँ जान आफ्नै भूमि भएर घोरटोबाटोसमेत छैन ।

दार्चुलामा नरेन्द्रसिंह कार्की, डोल्पामा रामचन्द्र न्यौपाने, हुम्लामा नरजन तामाङ, जुम्लामा मानदत्त रावल, काठमाडौंमा केशव पाण्डे

सुझावित समाचार