डेढ अर्ब लगानीमा नौ मेगावाटका तीन सोलार प्लान्ट बनाउँदै प्राधिकरण

बिहिबार, २४ कार्तिक, २०७९
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणले करिब डेढ अर्ब (एक करोड १५ लाख युरो) लगानीमा थप नौ मेगावाटको सोलार पावर प्लान्ट निर्माण गर्ने भएको छ । प्राधिकरणले नवलपरासी, लमजुङ र सुर्खेतमा उक्त क्षमताको सोलार प्लान्ट बनाउन लागेको हो । प्राधिकरणले नै अघि बढाएको यो दोस्रो सोलार प्लान्ट आयोजना हो ।

यसअघि नुवाकोटमा २५ मेगावाटको सोलार प्लान्ट सञ्चालनमा ल्याइसकेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका– ७ स्थित गण्डक जलविद्युत् केन्द्रको गण्डक जलविद्युत् केन्द्रको ९.७ बिघा जग्गामा सोलार प्लान्ट बन्नेछ । जसको क्षमता ६ मेगावाट हुनेछ । त्यस्तै, लमजुङस्थित मध्यमस्र्याङ्दी आयोजनाको जग्गामा एक मेगावाट र सुर्खेतस्थित झुप्राखोला जलविद्युत् केन्द्रको जग्गामा दुई मेगावाटको सोलार प्लान्ट बनाइनेछ । 

उक्त तीन आयोजनाको जग्गासहित सम्पूर्ण स्वामित्व प्राधिकरणकै रहेको छ । यसरी आफ्नै जग्गामा सोलार प्लान्ट बनाउँदा लागत कम पर्ने प्राधिकरणको भनाइ छ ।  आयोजनालाई आवश्यक पर्ने सवस्टेसनसमेत नजिकै रहकाले उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सजिलो हुने बताइएको छ । यो आयोजनाहरूमा ब्याट्री भने हुँदैन, फलस्वरूप दिउँसो घाम लागेको वेला उत्पादन हुने यसको विद्युत् स्टोरेज गर्न सकिँदैन । आयोजना निर्माणका लागि जर्मन सरकारको केएफडब्लू विकास बैंकमार्फत ६० लाख युरो अनुदान प्राप्त हुने छ । बाँकी रकम भने नेपाल सरकार र प्राधिकरणले लगानी गर्नेछन् । 

हाल यस आयोजनाको सम्भाव्यता अध्ययनलगायतका काम सकिएको छ । अब एक वर्षभित्र इपिसी मोडलमा ठेक्कापट्टाका सम्पूर्ण प्रक्रिया पूरा गरी आयोजना निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । आयोजनाको निर्माण २०८१ पुसभित्र सक्ने लक्ष्य राखिएको छ । 

 गण्डक जलविद्युत् केन्द्रको पुनर्स्थापना  र आधुनिकीकरण गरिने
प्राधिकरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका– ७ सूर्यपुरास्थित १५ मेगावाटको गण्डक जलविद्युत् केन्द पुनर्स्थापना र आधुनिकीकरणसमेत गर्ने भएको छ । विद्युत्गृहका टर्बाइन, ब्रेकर, गभर्नरजस्ता इलेक्ट्रोमेकानिकल उपकरण पुराना र जीर्ण बनेर चल्न नसके अवस्थामा पुगेपछि प्राधिकरणले पुनर्स्थापना  र आधुनिकीकरण गर्न लागिएको हो ।

विद्युत् केन्द्र परिसरमा रहेका अधिकांश भवन र संरचनासमेत जीर्ण बनेका छन् । नेपाल र भारत सरकारबीचको गण्डक सिँचाइ तथा जलविद्युत् आयोजना सम्झौताबमोजिम निर्माण गरिएको जलविद्युत् केन्द्रबाट १९७९ को अप्रिलबाट विद्युत् उत्पादन सुरु भएको थियो । भारतबाट गण्डक सम्झौताबमोजिम नेपाललाई जलविद्युत् गृह ३१ ऋगस्ट १९८१ मा हस्तान्तरण गरिएको थियो ।

सुझावित समाचार