नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि ‘नबिल फ्लेक्सी क्याप फन्ड’ नामक खुलामुखी म्युचुअल फन्ड निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाइ मूल्य १० रुपैयाँको सात करोड ५० लाख इकाइमध्ये पहिलो चरणमा पाँच करोड इकाइ सार्वजनिक रूपमा निष्कासन खुला गरेको हो ।
सात करोड ५० लाख इकाइमध्ये बिजपुँजीबापत एक करोड १२ लाख ५० हजार इकाइ वा कुल निष्कासन गरिने इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइमध्ये कोष प्रवद्र्घक नबिल बैंक लिमिटेडका लागि १४ प्रतिशत वा एक करोड पाँच लाख इकाइ सुरक्षित राखिएको कम्पनीले जनाएको छ । यसबाहेक योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई १ प्रतिशत वा सात लाख ५० हजार इकाइ सुरक्षित गरिएको उल्लेख छ ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम एक सय इकाइदेखि अधिकतम ७५ लाख इकाइसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यो फन्डमा लगानीकर्ताले छिटोमा कात्तिक २७ गतेसम्म र ढिलोमा मंसिर ७ गतेसम्म धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्ने जनाइएको छ । योजनाको निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले गर्ने कम्पनीले जनाएको छ ।