एकपटक स्वामी रामतीर्थ जापान पुगेका थिए । त्यहाँ उनको खुब सत्कार गरियो । भ्रमणका दौरान उनलाई एउटा स्कुलमा आमन्त्रित गरियो । स्कुल घुम्न गएका वेला के सोचेर हो कुन्नि स्वामी रामतीर्थले एकजना सानो विद्यार्थीसँग सोधे, ‘तिमी कुन धर्म मान्छौ ?’
‘बौद्ध धर्म,’ विद्यार्थीले गौरवसाथ जवाफ दियो ।स्वामीले फेरि प्रश्न गरे, ‘महात्मा बुद्धका बारेमा तिम्रो के विचार छ ?’ एकछिन सोचेर ती विद्यार्थीले जवाफ दिए, ‘बुद्ध त भगवान् हुन् ।’ यति भन्दै उसले मनमनै बुद्धको ध्यान गरेर आफ्नो देशको प्रथाअनुसार बुद्धलाई प्रणाम गर्यो ।
तब स्वामीले त्यो विद्यार्थीलाई फेरि सोधे, ‘तिमीलाई कन्फ्युसियसबारे केही थाहा छ ?’ विद्यार्थीले श्रद्धाभावले जवाफ दियो, ‘कन्फ्युसियस एक महान् सन्त थिए ।’ उसले वृद्धलाई जसरी नै कन्फ्युसियसको पनि ध्यान गरेर उनलाई पनि प्रणाम गर्यो ।
त्यसपछि स्वामीले मुस्कुराएर प्रश्न गरे, ‘अब मेरो अर्को एउटा प्रश्न छ, यसको जवाफ देऊ । मान यदि कसैले तिम्रो देशमा आक्रमण गर्छ र त्यो आक्रमणकारीको सेनापति बुद्ध या कन्फ्युसियस हुन्छन् भने तिमी के गर्छौ ?’
स्वामी रामातीर्थले यति भन्नासाथ सो विद्यार्थीको अनुहार क्रोध र जोशको मिल्दोजुल्दो भावले तम्तमायो । उसले कड्केर बोल्यो, ‘म आफ्नो तरबारले बुद्धको टाउको छिनाउनेछु र कन्फ्युसियसलाई लात हान्नेछु ।’
स्वामी रामतीर्थ बालकको यो जवाफ सुनेर अत्यन्त प्रसन्न भए । उनले त्यस बालकलाई बोकेर उसको अनुहार चुम्दै भने, ‘जुन देशको रक्षक तिमीजस्तो महान् हुन्छ, त्यो देशको कसैले केही बिगार गर्न सक्दैन ।’