झापा क्षेत्र नम्बर ५ मा आदिवासी जनजातिको मुख्य मुद्दा आदिवासी रंगशाला हो। कमल–५ मा ०६७ मा आदिवासी रंगशालाको नाममा शिलान्यास गरिएको रंगशालाको नाम पछि परिवर्तन गरियो। ०७२ सालको बजेटमा एमालेको दबाबमा मदन भण्डारी रंगशाला भएपछि त्यसयता आदिवासीले विरोध जनाउँदै आएका छन्। मंगलबार झापाको कमलमा आयोजित एक कार्यक्रममा आदिवासीहरूले दलका उम्मेदवारलाई आदिवासीमाथि प्रहार गर्न किन मत दिने ? भन्दै प्रश्न गरेका छन्।
आदिवासी जनजाति महासंघ झापाको आयोजनामा भएको उम्मेदवारसँगको अन्तर्क्रिया कार्यक्रममा आदिवासी जनजातिको पहिचानमाथि आक्रमण भएको भन्दै आपत्ति जनाएका हुन्। आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डव चौधरीले दलहरूले नियत राखेर कमल–५ को आदिवासी रंगशालाको नाम परिवर्तन गरेको र दमकको फाल्गुनन्द सभागृहको नाम परिवर्तन गरेकोप्रति आपत्ति जनाए।
‘आदिवासी जनजातिको सयौँ चिहान भत्काइएको छ। सुरुमा आदिवासी रंगशालाकै नाममा शिलान्यास भयो। पछि नाम परिवर्तन भएको छ। किन हाम्रो छातिमाथि टेकेर हिँड्नुभएको? कपुरथान भत्काएर बनाउन थालेको रंगशालाको नाम किन परिवर्तन गरेको?’ अध्यक्ष चौधरीले भने, ‘हामीले मत दिएर नाम परिवर्तन गर्न पठाएको हो? हामीले हाम्रो आस्थामाथि प्रहार गर्न मत दिएर पठाएका हौँ ? तपाईंहरूले आदिवासी रंगशाला बनाउने यहाँ प्रतिबद्धता जनाउनुपर्छ।’
उक्त अन्तर्क्रिया कार्यक्रममा झापा–५ मा विभिन्न दलबाट उम्मेदवार बनेका प्रतिनिधि र प्रदेश सभा उम्मेदवारलाई बोलाइएको थियो। एमाले अध्यक्ष तथा झापा–५ का प्रतिनिधिसभा उम्मेदवार केपी ओलीलाई समेत बोलाइएको थियो। यद्यपि, ओली कार्यव्यस्तताले नआएको आयोजकले जनाएको छ। एमाले झापा–५ (२) का उम्मेदवार होम थापा पनि कार्यक्रममा सहभागी भएनन्। कार्यक्रममा गठबन्धनका तर्फबाट कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार डा. खगेन्द्र अधिकारी, कांग्रेसका तर्फबाट झापा–५ (१) का उम्मेदवार जीवन राई, माओवादीका तर्फबाट झापा–५ (२) उम्मेदवार रेवतराज पुरी, एमालको तर्फबाट झापा ५ (१) उम्मेदवार हिक्मत कार्की र अन्य साना दलका उम्मेदवारहरूको पनि सहभागिता थियो।
कार्यक्रममा बोल्दै कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार डा. अधिकारीले समाधिस्थल भत्काएर निर्माण सुरु गरिएको आदिवासी रंगशालाको नाममा राजनीति गर्न नहुने बताए।
एमालेबाट झापा ५(१) का उम्मेदवार तथा प्रदेशका पूर्वमन्त्री हिक्मत कार्कीले एमाले पहिचानको पक्षधर रहेको बताए। एमालेले नै आदिवासी जनजातिको हक अधिकार स्थापित गर्न पहल गरेको दाबी गरे। उनले आदिवासी रंगशाला सोही नाममा बन्ने दाबी गरे। यद्यपि, एमालेले झापा–५ का लागि बनाएको प्रतिबद्धतापत्रमा मदन भण्डारी रंगशाला बनाउने उल्लेख छ।
माओवादीका तर्फबाट झापा–५ (२)का उम्मेदवार रेवतराज पुरीले विगतदेखि नै आफूले आदिवासी रंगशाला निर्माणका लागि पहल गरिरहेको बताए। प्रदेशमा गठबन्धनको सरकार बनेपछि पहल गरेर आदिवासी रंगशालाको नाममा एक करोड बजेट ल्याएको दाबी गरे। ‘चिहानमाथि राजनीति भयो। आदिवासी जनजातिको मुटुमाथि छुरा हानियो। एमालेले आदिवासी रंगशालाको नाम परिवर्तन गरेर मदन भण्डारी बनायो,’ उनले भने, ‘बरु मेरो ज्यान जाओस् तर आदिवासी रंगशाला बनाइन्छ। जिते पनि हारे पनि पाँच वर्षमा आदिवासी रंगशाला बनाउँछौँ।’
कांग्रेसबाट झापा–५ (१) मा उम्मेदवार बनेका जीवन राईले निर्वाचित भएपछि पहिचानलाई जोगाउने बताए। आफू पनि आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्ने बताउँदै उनले आदिवासी जनजातिका पीडा धेरै जानकारी भएको बताए।