किसानलाई धानको, उम्मेदवारलाई मतको पिरलो

मंगलबार, २२ कार्तिक, २०७९
डिजिटल संस्करण

बर्दियामा धान काट्ने चटारो छ । झिसमिसेमै घरबाट निस्कने किसान दिनभर खेतमै हुन्छन् । हिजोआज बर्दियाका खेतमा किसान मात्र होइन, उम्मेदवारहरू पनि खेतखेत पुगिसकेका देखिन्छन् । मतदातालाई खेतमै भेट्ने र मत माग्ने गरिरहेका छन् । 

‘मतदातालाई घरमा नै भेट्ने हो भने कि त साँझ, कि त बिहानै घरमा पुग्नुपर्ने भयो,’ बर्दिया २ (ख) कि एमाले उम्मेदवार कृष्णी चौधरीले भनिन्, ‘दिउँसोको समयमा भेट्नका लागि खेत–खेतमा नै पुग्ने गरेका छौँ ।’ घरमा भएकालाई चोक–चौराहमा जम्मा गरेर र खेतमा भएकालाई खेतमै गएर भेट गरेको उम्मेदवार चौधरीको भनाइ रहेको छ । 

बर्दिया २ का एमालेका उम्मेदवार पंकजसिंह राठौर पनि धान काटिरहेको स्थानमा गएर भोट मागिरहेका छन् । उनले भने, ‘हामीलाई मत माग्न हतारो भएजस्तै कृषकलाई धान काट्न पनि हतार छ । उनीहरूलाई आफ्नो र पार्टीको एजेन्डाबारे बताउने र भोट माग्ने काम गरेका छौँ ।’ 

बर्दिया २ का गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेश पन्त पनि किसानका खेतमा भोट माग्न पुगेका छन् । व्यवसायीका रूपमा छवि बनाएका पन्तले किसानका सम्पूर्ण समस्या समाधान गर्नका लागि आफू उम्मेदवार भएको भन्दै भोट मागेका छन् । 

भोट माग्न खेतबारीमै पुगेका उम्मेदवारलाई किसानले छोटो समयमा धेरै गुनासा सुनाउने गरेका छन् । ठाकुरबाबा नगरपालिका– ५ को रामप्रसाद थारूले भोट माग्न पुगेका एमाले नेता राठौरलाई किसानलाई समयमा मल बिउ नपाएको र सिँचाइको व्यवस्थाबारे गुनासो गरे । उनले भने, ‘दुःख गरेर उब्जाएको अन्नको बजार मूल्य न्यून रहेको छ ।’ 

धान काट्दै गर्दा भेट भएकी ठाकुरबाबा– ५ की शान्ति थारूले जुन जनतालाई जिताए पनि गरिबको समस्या जस्ताको तस्तै रहेको गुनासो गरिन् । व्यवस्था फेरिए पनि अवस्था नफेरिएको गुनासो गरिन् । उनले भनिन्, ‘गरिबलाई जीविकोपार्जन हुने गरी रोजगारको व्यवस्था हुनुपर्छ, कृषकका समस्या समाधान हुनुपर्छ । जंगली जनावरबाट हुने क्षति कम गर्न सरकार लाग्नुपर्दछ ।’ 

बर्दिया १ का एमालेका उम्मेदवार लक्ष्मण ज्ञवालीसमेत मतदातालाई भेट्न खेतमै जाने गरेका छन् । संगठन र कार्यकर्ता परिचालन गरी चुनावी प्रचारप्रसारमा होमिएको, फुर्सद हुनासाथ कृषकको खेतबारीमा पुग्ने गरेको उनको भनाइ छ । 

बर्दिया १ का गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार सञ्जय गौतमले कहिले खेतबारी र कहिले घरदैलोमा जाने गरेको बताए  । गौतमले भने, ‘मतदाता जता छन् उतै जानुपर्याे, कहिले खेतमा कहिले घरमा ।’ 

बर्दिया १ : कांग्रेसका गौतम ह्याट्रिकको दाउमा
बर्दिया १ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट यसपटक उम्मेदवारी दिएका सञ्जय गौतम ह्याट्रिक गर्ने सोचसहित मैदानमा छन् । उनलाई एमालेका लक्ष्मण ज्ञवालीले चुनौती दिइरहेका छन् । यिनै दुईबीच नै मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको छ । एक स्वतन्त्रसहित यहाँ १० उम्मेदवार मैदानमा छन् । 

एमालेका उम्मेदवार ज्ञवालीले बर्दियाका भूमिहीन सुकुमबासी, मुक्तकमैया र बर्दियाका जनताको हकअधिकारका लागि आन्दोलन गरेको, उनीहरूको सुखदुःखको साथी भएको हुनाले आफूलाई जनताले मत दिने बताए । । ज्ञवालीले भने, ‘जनता गठबन्धनको दास होइनन्, उनीहरूको मत स्वतन्त्र छ । एमालेसँग भिजन छ ।’ राष्ट्रियताको रक्षाका लागि पनि जनताले एमालेलाई भोट दिने उनले बताए । 

गठबन्धनको तर्फबाट बर्दिया १ का उम्मेदवार कांग्रेस उम्मेदवार सञ्जय गौतमले विगतमा आफूले बर्दियामा धेरै विकास निर्माणका काम गरेको कारणले जनताले भोट दिने दाबी गरेका छन् । प्रतिगामी तत्वलाई परास्त गर्न गठबन्धन बनेको र त्यसैका लागि पनि जनताले आफूलाई भोट दिने उनको भनाइ छ । 

ठूला पार्टीसँग जनता असन्तुष्ट भएको भएको र त्यसको आधारमा आफूले जित पछ्याउने दाउमा अन्य उम्मेदवार छन् । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुरसिंह थारूले जनताका लागि केही नगरेको कारणले अहिले नेपाली जनता सबै पार्टीसँग असन्तुष्ट रहेको र नागरिक उन्मुक्ति पार्टीलाई भोट दिने दाबी गरे । उनले भने, ‘थारू, जनजाति, दलित, पछाडि पारिएका र अन्यायमा परेका समुदायको आवाज बोल्ने प्रतिबद्धताका साथ चुनावमा होमिएको छु । मलाई जनताले जिताउँछन् ।’

यस्तो छ स्थानीय तहको अंकगणित
स्थानीय तहमा वडाध्यक्षले प्राप्त गरेको मतपरिणाम हेर्दा वाम–लोकतान्त्रिक गठबन्धन अगाडि देखिन्छ । गत चुनावमा एमालेले ३६ हजार आठ सय १२ मत ल्याएको थियो । कांग्रेसले ३४ हजार ६ सय २२ मत र माओवादी केन्द्रले २४ हजार तीन सय ४१ मत ल्याएको थियो । गत चुनावको आधारमा एमालेको भन्दा सत्तागठबन्धनको मत २२ हजार एक सय ५१ मत बढी छ । 

स्थानीय तहको मतभारलाई सत्तागठबन्धनका उम्मेदवार भने पूर्ण रूपमा विश्वस्त देखिँदैनन् । एकातर्फ गठबन्धनको मुख्य दल कांग्रेसभित्रै उम्मेदवारी दर्ताको क्रममा देखिएको विवादले पनि केही असर गर्ने आकलन छ । 

त्यसैगरी, स्थानीय तहमा भाग नलिएको रञ्जिता श्रेष्ठको अध्यक्षता भएको नागरिक उन्मुक्ति पार्टीको पनि प्रभाव बढ्दै गएको छ । थारूलगायतका समुदायको  पहिचान र रेशम चौधरीको मुद्दालाई मुख्य एजेन्डा बनाएको हुनाले थारू समुदायमा प्रभाव बढ्दो छ । 

गत प्रतिनिधिसभाको चुनावमा एमाले र माओवादीको गठबन्धन भए पनि तत्कालीन एमालेका उपाध्यक्षसमेत रहेका वामदेव गौतम पराजय भएका थिए । करिब ३० हजार भोटले अगाडि भए पनि कांग्रेसका उम्मेदवार सञ्जय गौतम विजयी भएका थिए । बर्दियामा अहिले गठबन्धनको परिणाम कस्तो आउँछ भन्नेमा कुतूहल छ । 

बर्दिया २ : त्रिपक्षीय भिडन्त
बर्दिया २ मा त्रिपक्षीय भिडन्तको सम्भावना देखिएको छ । यस क्षेत्रमा एमालेका पंकजसिंह राठौर, गठबन्धनबाट माओवादीका सुरेश पन्थ र राप्रपाका विनय रावलबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

यस क्षेत्रमा दुई स्वतन्त्रसहित आठजना उम्मेदवार चुनावी मैदानमा छन् । केही महिनाअगाडि मात्र कांग्रेसबाट राप्रपामा प्रवेश गरेका उम्मेदवार विनय रावलको प्रभाव बलियो भएकाले गठबन्धन र एमालेका दुवै उम्मेदवारलाई जितमा चुनौती थपिएको छ । 

अर्कोतर्फ, कारागारमा कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी रद्द भएसँगै स्वतन्त्र उम्मेदवारी दिएका उनका बुबा लालवीर चौधरीलाई पार्टीले आधिकारी उम्मेदवार भन्दै चुनावी अभियान सञ्चालन गरेको छ । 

करिब ८० प्रतिशत थारू समुदायको बसोवास रहेको यो क्षेत्रमा थारू समुदायको पहिचानलाई मुख्य एजेन्डा बनाएको हुनाले स्वतन्त्र उम्मेदवार चौधरीले उल्लेख्य मत ल्याउने आकलन छ । 

स्वतन्त्र उम्मेदवार चौधरी र राप्रपा नेपालका उम्मेदवार रावलले ल्याउने मतको आधारमा मुख्य प्रतिस्पर्धी एमाले र  सत्तागठबन्धनका उम्मेदवार कसले जित हात पार्छ भन्ने विश्लेषण गर्न कठिन रहेको स्थानीय नेताहरूले बताउँछन् । 

यद्यपि, एमाले, सत्तागठबन्धनमा माओवादी र राप्रपाका उम्मेदवारले एक–अर्कालाई प्रतिस्पर्धी मानेर चुनावी अभियान सञ्चालन गरेका छन् । 

एमालेका उम्मेदवार राठौरले बर्दियाको विकास तथा राष्ट्रियताको संरक्षणका लागि आफूलाई जनताले भोट दिने बताए । उनले भने, ‘यस क्षेत्रको समस्यालाई नजिकबाट बुझेको छु । जनताको सेवामा निरन्तर लागिरहेकाले पनि मलाई भोट दिएर जिताउँछन् ।’

गठबन्धनको तर्फबाट उम्मेदवार माओवादी केन्द्रका सुरेश पन्थले लामो समयदेखि बर्दियामा असहाय, दीनदुःखीका लागि सेवा गरेको र बर्दियाको विकासको मोडलको खाका आफूसँग भएको हुनाले चुनाव जित्ने बताए । 

उनले भने, ‘देशको विकासका लागि र संविधानको रक्षाका लागि गठबन्धन बनेको हो । त्यसैका लागि पनि जनताले गठबन्धनलाई भोट दिन्छन् र जिताउँछन् ।’

बर्दिया २ को अंकगणितमा गठबन्धन धेरै अगाडि
स्थानीय चुनावको वडाध्यक्षको मत परिणामअनुसार वाम–लोकतान्त्रिक गठबन्धनमा आबद्ध दल बलियो देखिएको छ । एमालेको मत २३ हजार दुई सय ९० रहेको छ । त्यसैगरी, सत्तागठबन्धनको मत ७० हजार तीन सय ९२ रहेको छ । सत्तागठबन्धन र एमालेको मतको मतान्तर ४७ हजार एक सय दुई छ । राप्रपा र स्वतन्त्र उम्मेदवारको समेत प्रभाव राम्रो भएकाले पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ । 

सुझावित समाचार