सिट भागबन्डामा असन्तुष्टि जनाएका खोटाङ कांग्रेसका नेताहरू बिस्तारै गठबन्धनको चुनावी सभामा देखिन थालेका छन्। सत्तागठबन्धनमा सिट बाँडफाँड हुँदा प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङ माओवादी केन्द्रको भागमा परेको थियो। त्यस्तै, प्रेदश (क) नेकपा (एकीकृत समाजवादी) र प्रदेश (ख) नेपाली कांग्रेसको भागमा परेको थियो।
केन्द्रमा भएको समझदारीअनुसार सत्तागठबन्धनका तर्फबाट माओवादी केन्द्रले पोलिटब्युरो सदस्य तथा प्रदेश १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’लाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ। त्यस्तै, प्रदेश (क)मा एकीकृत समाजवादीले वीरबलकाजी राई र प्रदेश (ख)मा कांग्रेसले भूपेन्द्र राईलाई उम्मेदवार बनाएको छ।
सिट बाँडफाँडमा असन्तुष्टि जनाउँदै कांग्रेस खोटाङ जिल्ला कार्यसमितिले प्रदेश २ मा महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई बागी उम्मेदवारी दिन लगाएको छ। पोखरेलले धारा चुनाव चिह्न पाएका छन्।
सत्तागठबन्धनको केन्द्रीय परिपत्रप्रति चर्को असन्तुष्टि जनाउँदै आएका खोटाङका कांग्रेस नेताहरूमा पछिल्लो समय भने गठबन्धनविरुद्धको असन्तुष्टि कम हुँदै गएको उनीहरूको व्यवहारले झल्को दिन थालेको छ। प्रदेश (क)मा पोखरेललाई गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिन लगाएर घरदैलो अभियानमा होमिएका कांग्रेस नेताहरू अहिले एकपछि अर्को गर्दै गठबन्धनका उम्मेदवारसँग खुल्न थालेका छन्।
गत शुक्रबार खोटाङ बजारमा भएको गठबन्धनको चुनावी सभामा पूर्वराज्यमन्त्री सर्वधन राई र पूर्वजिल्ला सभापति नरेशकुमार श्रेष्ठलगायतका नेताहरू सहभागी भएका थिए। सो सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री राईले गठबन्धनबाहेकका उम्मेदवारलाई आफूहरूले नचिन्ने बताएका थिए। ‘धारा हो कि खै के चुनाव चिह्न छ रे ! त्यो हामीलाई थाहा छैन। अब हामी सबै मिलेर गठबन्धनका साझा उम्मेदवारलाई जिताउनुपर्छ,’ उनले भनेका थिए, ‘सिट भागबन्डामा खोटाङ कांग्रेस अन्यायमा परे पनि पार्टीको केन्द्रीय निर्देशनलाई मानेर जानुपर्छ । तीनवटै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरूको जित निश्चित छ।’
शनिबार साकेला गाउँपालिकाको मानेभञ्ज्याङमा भएको चुनावी सभामा कांग्रेसको प्रदेश १ समिति सदस्य जितेन्द्रसिंह ठकुरी, जिल्ला पार्टी उपसभापतिद्वय इवन राई र तीर्थराज भट्टराईलगायतका नेताहरू सहभागी भएका थिए। त्यस्तै अधिकांश महाधिवेशन प्रतिनिधि, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू, भ्रातृ संगठन तरुण दल, नेपाल विद्यार्थी संघलगायतमा आबद्ध नेता, कार्यकर्ताहरू पनि गठबन्धनको पक्षमा उभिन थालेका छन्। जिल्ला सभापति विष्णुकुमार राई पनि चाँडै गठबन्धनका पक्षमा खुल्ने कांग्रेस नेताहरूको दाबी छ।
जिल्लामा एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेका छन्। सत्तागठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच चुनावमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्युरो सदस्य एवं निवर्तमान सांसद विशाल भट्टराई, प्रदेश सभा (क)मा पार्टीको प्रदेश समिति सदस्य एवं संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेश सभा (ख)मा एमालेको जिल्ला अध्यक्ष रामप्रसाद दंगाल चुनावी मैदानमा छन्।
प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मंगाेल नेसनल अर्गनाइजेसनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र जयन्द्रकुमार राईले स्वतन्त्र उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभा र प्रदेश सभा (क)मा स्वतन्त्रसहित आठ–आठ तथा प्रदेश सभा (ख)मा ६ जना चुनावी मैदानमा उत्रिएका छन्।
१० स्थानीय तह रहेको जिल्लामा कांग्रेस पहिलो शक्ति हो। यहाँको ६ पालिका प्रमुख, चार उपप्रमुख र ३२ वडाध्यक्ष कांग्रेसले जितेको छ। त्यस्तै, दुई पालिका प्रमुख, दुई उपप्रमुख र २४ वडाध्यक्ष जितेको माओवादी केन्द्र दोस्रो तथा दुई पालिका प्रमुख, दुई उपप्रमुख र १९ वडाध्यक्ष जितेको एमाले तेस्रो दल बनेको छ। नेकपा (एकीकृत समाजवादी)ले एक उपप्रमुख र दुई वडाध्यक्ष जतेको छ।