मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा चुनावको विषयमा अहिले जिल्लामा चर्चा–परिचर्चा हुन थालेको छ । मेलापात, पानी–पँधेरा, चियापसल, चोक–चौतारीमा अहिले चुनावकै विषयमा कुरा हुन थालेको छ । नागरिकलाई सपना देखाई सपना तुहाउनेलाई नभई सपना पूरा गर्न सक्नेलाई विचार गरी मत दिने धारणा व्यक्त गर्छन् लमजुङका नागरिक ।
आउँदो चुनावमा जिल्ला र जिल्लावासीको हकहितमा काम गर्न सक्ने उम्मेदवारलाई मत दिने धारणा राख्छिन् बेँसीसहर– ८ की ८७ वर्षीया चिजकुमारी श्रेष्ठ । उनले भनिन्, ‘भोलि विजयी हुने उम्मेदवारले गाउँघरको विकास गरून्, युवाले देशमै रोजगारी पाउने वातावरण सिर्जना होस्, बाटोघाटो, खानेपानी, यातायातको सुविधा होस्, सबै जनताको असल अभिभावक भएर उनीहरूले कसैलाई काखा, कसैलाई पाखा नगरी काम गरून् भन्ने दल तथा दलका उम्मेदवारसँग अपेक्षा राखेी छु ।’
त्यस्तै, बेँसीसहर नगरपालिका– ११ रामचोकबेँसीका अर्जुन सेढाईं पनि गाउँको विकास गर्ने र जनताको सुखदुःखमा साथ दिनेलाई भोट दिने बताउँछन् । यतिवेला लमजुङमा लोकतान्त्रिक–वाम गठबन्धन र एमालेले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।
मुख्यतः लमजुङमा लोकतान्त्रिक–वाम गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ। लमजुङमा लोकतान्त्रिक–वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका देवप्रसाद गुरुङ चुनावी मैदानमा छन् । उनी माओवादी केन्द्रका महासचिव हुन् । लमजुङको विकास र समृद्धिका लागि आफूले पहिलेदेखि नै काम गर्दै आएको र भावी दिनमा पनि जिल्लामा विकासका गतिविधिलाई अघि बढाउने उनले बताए । एमालेबाट प्रतिनिधिसभा चुनावका लागि एमालेका पृथ्वीसुब्बा गुरुङ चुनावी मैदानमा छन्। उनी गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत हुन्। उम्मेदवारहरू नागरिकको घरघरमा पुग्न थालेका छन् । जिल्लामा चुनावी प्रचारप्रसारमा नेता तथा कार्यकर्ता परिचालन गरेका छन् ।
चुनाव जित्ने दुवैको दाबी
लोकतान्त्रिक–वाम गठबन्धन र एमालेका उम्मेदवारहरूले आफूहरूको जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् । लमजुङ जिल्ला कांग्रेसको किल्ला रहेको, यहाँ कांग्रेसको वर्चस्व रहेकाले लोकतान्त्रिक–वाम गठबन्धनका सबै उम्मेदवारले चुनाव जित्ने वाम–लोकतान्त्रिक गठबन्धनको तर्क छ । वाम–लोकतान्त्रिक गठबन्धनबाट लमजुङमा प्रदेश सभा (क) का लागि कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ, प्रदेश सभा (ख)का लागि कांग्रेसका निवर्तमान जिल्ला सभापति भेषबहादुर पौडेल चुनावी मैदानमा छन् ।
स्थानीय तहको चुनावमा एमाले एक्लैले धेरै स्थानीय तह जितेको र लमजुङ एमालेको किल्ला भएकाले आफूहरूले चुनाव जित्ने एमालेका उम्मेदवारहरू तर्क गर्छन् । लमजुङमा एमालेबाट प्रदेश सभा (क) मा एमालेका केन्द्रीय सदस्य जमिन्द्रमान घले र प्रदेश सभा (ख)मा एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी चुनावी मैदानमा छन् । प्रतिनिधिसभातर्फ एउटा निर्वाचन क्षेत्र रहेको लमजुङमा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् ।