थपलियाको प्रश्न– सांसद विधायक हुन् कि विकासे कार्यकर्ता ?

सोमबार, २१ कार्तिक, २०७९
डिजिटल संस्करण

झापामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारको घोषणापत्र विकासे कार्यकर्ताको जस्तो भएको टिप्पणी गरेका छन् । झापाको बिर्तामोडमा आइतबार भएको अन्तर्क्रिया कार्यक्रममा थपलियाले प्रतिनिधिसभा तथा प्रदेश सभा उम्मेदवारले घोषणापत्रमा कस्तो विधेयक बनाउने भन्दा पनि विकासका कामलाई उल्लेख गरेको बताएका हुन् । 

‘मैले दलका घोषणापत्र पढेको छु । भ्याएसम्म उम्मेदवारको घोषणापत्र पनि हेरेको छु । हाम्रो संविधान र कानुनले भनेअनुसार प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरू विधायक हो, विकासे कार्यकर्ता होइन,’ उनले भने, ‘एउटा विधायकले त यस्तो विधेयक पो बनाउँँछु भन्ने होइन र ? म यस्तो धारा बनाउँछु भन्ने हो र ? विधायकले बाटोमा गिट्टी हाल्दै हिँड्दा देश कतातर्फ जान्छ ?’

उनले निर्वाचन आयोगले वैज्ञानिक ढंगले निर्वाचन खर्च सीमा छुट्याएको बताए । उनले पहिलोपटक प्रत्येक निर्वाचन क्षेत्रमा फरक–फरक निर्वाचन खर्चको सीमा तोकिएको दाबी गरे । ‘प्रत्येक निर्वाचन क्षेत्रको निर्वाचन खर्च विवरण फरक–फरक छ । यो तीनवटा दृष्टिकोणबाट व्याख्या गरेका छौँ,’ उनले भने, ‘त्यहाँको उम्मेदवारले कति क्षेत्र भ्रमण गर्नुपर्दछ, त्यहाँ कति मतदाता छन् ? र त्यहाँ कति मतदानस्थल छन् भनेर तयार गरेका छौँ । त्यसको समग्र व्यवस्थापनका निम्ति निर्वाचन खर्चको सीमा छुट्याएका छौँ ।’ 

थपलियाले तोकिएको सीमाअनुसार मात्र खर्च गर्न उम्मेदवारलाई आग्रह गरे । ‘धेरैजसो राजनीतिक दलको चुनाव चिह्न त अस्ति स्थानीय तहमै लडेजस्तो हो । त्यो चिह्न यस्तो छ भन्न जाँदा पनि पैसा नै लाग्छ भनियो भने कतै हामीले हाम्रो संविधान र प्रणालीप्रति नै प्रश्न त गरिरहेका छैनौँ ?’ थपलियाले भने, ‘संविधानमा सार्वभौमसत्ता भनेको नागरिक नै हुन्, मतदाता नै हुन् र राज्य शक्तिका स्रोत मतदाता नै हुन् भनिएको छ,’ उनले भने, ‘के राज्य शक्तिका स्रोत पनि खरिद–बिक्री हुन सक्छन् ? के मतदाता भनेको तपाईंको पैसामा मत तलमाथि पार्ने प्राणी हो ? यही व्याख्या गर्न खोजेको हो ? यदि यस्तो हो भने यो आपत्तिजनक छ । यो नागरिकमाथिको अपमान हो । यसको हिसाब मतदाताले लिन्छन् ।’ 

उनले उम्मेदवारको खर्च अडिट हुने बताएका छन् । गलत खर्च विवरण बुझाए कारबाही हुने चेतावनी दिए । ‘तपाईंहरूले बनाइदिएको कानुनमा उम्मेदवारको खर्चको अडिट आयोगले गराउनेछ । अडिट गर्दा तलमाथि भयो भने कारबाही हुन्छ । हार्नुभयो भने अर्कोपटक उम्मेदवार नहुनुहोला ! जित्नुभयो भने तपाईंको घाँटीमाथि तरबार झुन्डिएको छ । हारे पनि आफ्नो विवरण दुरुस्त राख्नुहोला,’ उनले भने, ‘अडिटरलाई जवाफ दिनसक्ने गरी राख्नुहोला । झुटो विवरण पेस नगर्नुहोला ।’

सुझावित समाचार