आठ करोड मतपत्र छापियो

शुक्रबार, १८ कार्तिक, २०७९
डिजिटल संस्करण

४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि करिब आठ करोड मतपत्र छापिएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीका लागि चार करोड तथा समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी करिब आठ करोड मतपत्र छपाइ गरिएको निर्वाचन आयोगले जनाएको हो।

यससँगै शुक्रबारबाट मतपत्र छपाइको काम सकिएको छ। मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० रहेको छ। आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरेको थियो।

आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतपत्र ढुवानी सम्पन्न गरिसकेको छ। प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गतका मतपत्र प्रत्येक निर्वाचन क्षेत्रमा ढुवानी भइरहेको जनाइएको  छ। यसअन्तर्गत शुक्रबार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लाको मतपत्र ढुवानी गरिएको हो। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मतपत्र यसअघि नै ढुवानी भइसकेको छ।
 

See More On

सुझावित समाचार