लुलाको हातमा जर्जर र विभाजित ब्राजिलको बागडोर

विगतमा असामान्य रूपमा लोकप्रिय राष्ट्रपतिको छवि बनाएका लुला दोस्रो कार्यकाल समाप्त भएको १२ वर्षपछि तेस्रो कार्यकालका लागि तयार भएका छन्

बिहिबार, १७ कार्तिक, २०७९
डिजिटल संस्करण

ब्राजिलको राष्ट्रपतिमा जितसँगै लुइस इनासिओ लुला दा सिल्भाले ठूलो राजनीतिक पुनरागमन गरेका छन् । दोस्रो चरणको चुनावमा उनको झिनो अन्तरको विजय सन् १९८० को दशकको उत्तरार्धमा ब्राजिल लोकतन्त्रमा फर्किएयताको सबैभन्दा प्रतिस्पर्धात्मक जित थियो । खसेका लगभग ११ करोड ९० लाख मतमध्ये लुलाले ५०.९ प्रतिशत र प्रतिस्पर्धी जैर बोल्सोनारोले ४९.१ प्रतिशत मत प्राप्त गरेका छन् । प्रतिस्पर्धामा केवल २० लाख मतको मात्रै भिन्नता छ । यो जितसँगै सन् २००३ र २०१० को सरकारमा आर्थिक वृद्धि र सामाजिक समावेशीकरण दुवै हासिल गरेर असामान्य रूपमा लोकप्रिय राष्ट्रपतिको छवि बनाएका लुला दोस्रो कार्यकाल समाप्त भएको १२ वर्षपछि तेस्रो कार्यकालका लागि तयार भएका छन् । 

निर्वाचनमा बोल्सोनारोले लुलाको अघिल्लो सरकारका वेला केही अधिकारीको भ्रष्टाचारका मामिलालाई चुनावी मुद्दा बनाएका थिए । लुलाले भने बोल्सोनारो शासनकालमा कोभिड–१९ महामारीको मामिलालाई चुनावी मुद्दा बनाएका थिए । स्मरण रहोस्, ब्राजिलमा अमेरिकापछि कोभिड–१९ का कारण सबैभन्दा बढीको मृत्यु भएको थियो । सन् २०१८ मा बोल्सोनारोले अनुभवहीन र अपेक्षाकृत रूपमा नयाँ रहेका फर्नान्डो हडाडलाई पराजित गरेका थिए । त्यसवेला अहिलेको जस्तो परिस्थिति थिएन किनभने सन् २०१७ मा लुलालाई भ्रष्टाचारको आरोपमा सजाय दिइएको थियो र उनी उम्मेदवारीका लागि अयोग्य बनेका थिए (पछि लुलामाथि लागेको भ्रष्टाचारको आरोप उल्टियो) तसर्थ सो चुनाव भ्रष्टाचारको विषयमा केन्द्रित भएन । बरु त्यसवेला मतदातामाझ अर्थतन्त्र मुख्य चासोको विषय बनेको थियो । 

लुलाको गठबन्धनमा वामपन्थीदेखि मध्यम दक्षिणपन्थी १० दल छन् । पुरातनपन्थी क्याथोलिक र मध्यम दक्षिणपन्थी पार्टी सोसल डेमोक्रेटिक पार्टीका पूर्वसदस्य गेराल्डो अल्कमिनले लुलाकै अभियानमा उपराष्ट्रपतिका लागि प्रतिस्पर्धा गरेका थिए । त्यसैगरी ब्राजिलियन डेमोक्रेटिक मुभमेन्टका सदस्य सिमोन टेबेटले राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा प्रतिस्पर्धा गरेका थिए, पछि दोस्रोमा लुलालाई समर्थन गरेका थिए र उनले सम्भवतः लुलाको मन्त्रिपरिषद्मा स्थान पाउनेछन् ।

यो गठबन्धन कहिलेसम्म सँगै रहन्छ, त्यसको निर्धारण लुला प्रशासनको भावी कार्यसम्पादनले गर्नेछ । चुनावी अभियानभरी जब वर्तमान राष्ट्रपतिको पराजय एक मुख्य उद्देश्य थियो, तब गठबन्धन एकजुट रह्यो । यसरी नै एकजुट हुन सक्छ वा सक्दैन, चासोको विषय हो । जब सरकारले अर्थतन्त्रको दिशा र बोल्सोनारोको प्रशासनबाट सबैभन्दा गम्भीर रूपमा प्रभावित क्षेत्रबारे कठिन निर्णय लिनुपर्नेछ, त्यसवेला दरार निम्तिन सक्छ । वातावरण, जनस्वास्थ्य, शैक्षिक एवं मानव अधिकार र परराष्ट्र नीतिका मुद्दा विशेष रूपमा प्रभावित छन् ।
बोल्सोनारोले अहिलेसम्म चुनावी नतिजा स्वीकार गर्ने वा धाँधली भएको दाबी गर्ने कुनै बयानबाजी गरेका छैनन् । उनको चरित्र र उनलाई राष्ट्रपतिसम्म पु¥याउने अभियानको सार आगामी दिनमा परीक्षण हुनेछ । यस अभियानलाई कट्टर इसाई प्रोटेस्टेन्ट, गोमांश (कृषि व्यवसाय) र बन्दुक (प्रहरी र सेनाका केही हिस्सा र बन्दुक मालिक) को उग्र–दक्षिणपन्थी गठबन्धनका रूपमा बुझिएको छ ।  

बोल्सोनारोले आफ्नो राष्ट्रपति चुनावी बहसको अन्तिम टिप्पणीलाई स्विकार्न सक्छन् अर्थात् ‘जसले धेरै भोट पाउँछ, उसले चुनाव जित्छ’ भन्दै पराजयको घोषणा गर्न सक्छन् । तथापि उनले आफ्ना आदर्श डोनाल्ड ट्रम्पको पाइला पछ्याउन सक्छन् र चुनावी धाँधलीको भाष्य फैलाएर लुलाको विजयको वैधतालाई अस्वीकार गर्न सक्छन । सन् २०१४ मा राष्ट्रपतीय चुनावमा सोसल डेमोक्रेटिक पार्टीका एसिओ निभ्सले ब्राजिलको कानुनअन्तर्गत चुनावी नतिजालाई सर्वोच्च निर्वाचन अदालतमा चुनौती दिएझैँ चुनौती दिन सक्नेछन्, तर त्यसका लागि बलियो प्रमाण पेस गर्नुपर्नेछ । तर, अदालतले निभ्सविरुद्ध गरेजस्त फैसला आउन । चुनावमा विजयी भएपछि लुलाले ‘मलाई मत दिने मतदाता मात्र नभई म २१ करोड ५० लाख ब्राजिलवासीका लागि सरकार चलाउनेछु’ भन्दै भाषण गरेका थिए । उनले भावी सरकारका केही उद्देश्य पनि प्रस्तुत गरेका थिए । भोकमरी र गरिबी घटाउने, आर्थिक विस्तारलाई प्रोत्साहन गर्ने र औद्योगिक क्षेत्रलाई बलियो बनाउने उनको सबैभन्दा बढी प्राथमिकतामा रहेका तीन योजना हुन् । लुलाले अमेजनमा वनफँडानीको दरलाई सीमित पार्न विदेशी साझेदारसँग काम गर्ने आवश्यकताबारे पनि जोड दिएका थिए ।

 लुलाको सरकारले कठिन चुनौतीको सामना गर्नेछ । लुला अघिल्लोपटक राष्ट्रपति हुँदाका तुलनामा अहिले सरकारी कोषमा निकै कम सम्पत्ति छ । लुलाले चुनावी अभियानका क्रममा न्यूनतम पारिश्रमिकमा उल्लेखनीय वृद्धि गर्न प्रतिबद्धता व्यक्त गरेका छन् । यसले अहिले नै सात प्रतिशत रहेको मुद्रास्फीति बढाउन सक्छ । उत्पादकत्व अझै पनि ठप्प छ र उद्योग विश्वव्यापी मञ्चमा अत्यधिक अप्रतिस्पर्धी छ । वास्तवमा राजनीति लुलाको सबैभन्दा कठिन अवरोध हुनेछ । बोल्सोनारो पराजित भए पनि उनका धेरै सहयोगी देशभरका प्रमुख राजनीतिक पदमा निर्वाचित भएका छन् । सिनेटमा बोल्सोनारोको लिबरल पार्टी सबैभन्दा ठूलो समूह हो, त्यसैगरी राष्ट्रिय कंग्रेसको तल्लो सदनमा पनि लिबरल पार्टी सबैभन्दा ठूलो छ । 

राज्यस्तरमा बोल्सोनारो–समर्थित उम्मेदवारले २७ मध्ये ११ गभर्नरमा पहुँच बनाएका छन्, जबकि लुला–समर्थित उम्मेदवार आठ राज्यमा मात्रै गभर्नर छन् । अझ महत्वपूर्ण के छ भने सन् २०२३ देखि बोल्सोनारो समर्थित गभर्नरले ब्राजिलका तीन ठूला र सबैभन्दा महत्वपूर्ण राज्य मिनास गेराइस, रियो दि जेनेरियो र साओ पाउलोको नेतृत्व गर्नेछन् । बोल्सोनारोले राष्ट्रपति पद छाड्न सक्छन्, तर बोल्सोनारोवाद ब्राजिलबाट हट्नेछैन । (परेरा किंग्स कलेज लन्डनको स्कुल अफ ग्लोबल अफेयर्सका भिजिटिङ प्राध्यापक हुन्) 
द कन्भर्सेसनबाट

सुझावित समाचार