आइसिसी टी–२० विश्वकपअन्तर्गत सुपर १२ को समूह २ मा भारतले बंगलादेशलाई डकवर्थ लेविस आधारमा पाँच रनले निराश पारेको छ । भारतले पहिलो ब्याटिङ गरी २० ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । लक्ष्य पछ्याएको इनिङ्समा वर्षाले खेल रोकिएको थियो । वर्षाका कारण खेल रोकिनुअघि बंगलादेशले सात ओभरमा विनाविकेट ६६ रनको योगफल बनाएको थियो । पुनः सुरु भएको खेलमा बंगलादेशले १६ ओभरमा नयाँ लक्ष्य रूपमा एक सय ५१ रन पाएको थियो ।
बंगलादेशले १६ ओभरमा ६ विकेट गुमाएर एक सय ४५ रन बनायो । भारतमाथि अप्रत्याशित जित निकाल्न बंगलादेशलाई अन्तिम ओभरमा २० रन आवश्यक थियो । भारतका लागि अर्सदीपले बलिङ गरेका थिए । उनले इनिङ्सकै अन्तिम ओभरमा केवल १४ रन मात्र दिँदै भारतलाई पाँच रनको रोमाञ्चक जित दिलाए । अन्तिम ओभरमा अर्सदीपले एक छक्का र एक चौकाको सामना गरेका थिए । अन्तिम बलमा बंगलादेशका नुरुल हसनले एक रन मात्र लिएपछि भारत विजयी भयो । भारतका लागि लोकेश राहुलले ३२ बलमा चार छक्का र तीन चौकाको सहयोगमा ५० रन जोडे । सूर्यकुमार यादवले १६ बलमा ३० रन बनाए । बंगलादेशका लागि ओपनर लिटोन दासले २७ बलमा तीन छक्का र सात चौकाको सहयोगमा सर्वाधिक ६० रनको योगदान दिए ।
नेदरल्यान्ड्ससँग जिम्बावे स्तब्ध
समूह २ को प्रतिस्पर्धामा नेदरल्यान्ड्सले जिम्बावेमाथि पाँच विकेटको सानदार जित निकालेको छ । एडिलेडमा पहिलो ब्याटिङ गरेको जिम्बावे १९.२ ओभरमा एक सय १७ रनमा समेटियो । जिम्बावेका सिकन्दर राजाले सर्वाधिक ४० रन बनाए । नेदरल्यान्ड्सले १२ बलअघि जित निकाल्दा म्याक्स ओले सर्वाधिक ५२ रनको योगदान दिए ।
