प्रतिनिधिसभा सदस्यका लागि मनाङमा उम्मेदवारी दिएका कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका तीनै उम्मेदवार यतिवेला काठमाडौंमै मत माग्न व्यस्त
४ मंसिरको निर्वाचनका लागि उम्मेदवारहरू आ–आफ्ना क्षेत्रमा प्रचारप्रसारमा अहोरात्र खटिएका छन् । तर, मनाङबाट उम्मेदवारी दिएकाहरूको प्रचारप्रसार भने जिल्लामा नभई राजधानी काठमाडौंमा व्यापक छ ।
वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट मनाङमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका कांग्रेस नेता टेकबहादुर गुरुङ मात्रै होइन, उनका प्रतिस्पर्धी एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ पनि काठमाडौंमै भोट माग्न व्यस्त छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका मुख्या गुरुङको प्रचारप्रसार पनि अहिले काठमाडौंमै केन्द्रित छ । मनाङ प्रदेश सभा (क) बाट प्रतिस्पर्धामा रहेका एमाले उम्मेदवार राजनबहादुर गुरुङ त काठमाडौं बस्ने मनाङेहरूकहाँ घरदैलो सकाएर जिल्ला फर्किसकेका छन् ।
‘हाम्रो चुनाव प्रचारप्रसार अलिक भिन्न हुन्छ । अधिकांश मनाङे काठमाडौंमै बस्ने भएकाले हामी उहाँहरूलाई यहीँ भेट्छौँ । प्रायः सबै परिवारभित्रकै सदस्यहरू हुन् । घरघर पुगेर भेटघाट गर्छौँ । सन्चो–बिसन्चो सोध्छौँ, पारिवारिक माहोलमा रहेर मत माग्छौँ,’ पूर्वमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङले भने, ‘यसरी मैले ५–६ सय परिवारलाई भेटिसकेँ हुँला ।’ उनी दिनमा कम्तीमा चार घर पुग्छन् । आसपासका नातागोतालाई पायक पर्ने घरमा बोलाएर भलाकुसारी गर्दै मत माग्छन् । चुनावको सम्मुखमा परेका दसैँ, तिहारजस्ता ठूला पर्व उनका लागि चुनावी माहोल बनाउन अनुकूल साबित भए ।
काठमाडौंमा लगभग प्रचारप्रसार सकेका गुरुङ अब केही दिनमा मनाङ जाने योजनामा छन् । ‘हाम्रो मनाङमा चुनावी प्रतिस्पर्धा अन्यत्रको भन्दा फरक छ । एक हिसाबले पारिवारिक प्रतिस्पर्धा भन्दा फरक पर्दैन,’ उनले भने, ‘मैले यहाँ भोट मागेर लगभग भ्याएँ, तीन–चार दिनमा मनाङ जान्छु होला ।’
संघअन्तर्गत एउटै निर्वाचन क्षेत्र रहेको मनाङमा ६ हजार आठ सय ४४ मतदाता रहेको निर्वाचन आयोगको तथ्यांक छ । जसमध्ये ६५ प्रतिशत काठमाडौंमै छन् । बाँकी अधिकांश पोखरा र लमजुङ सदरमुकाम बेँसीसहरमा बस्छन् । काठमाडौंमा खासगरी नयाँबजार, स्वयम्भू, सीतापाइला, कमलपोखरी, नक्साल, बालाजु, कलधारा र ढल्कु क्षेत्रमा मनाङेहरूको बक्लो बस्ती छ ।
एमालेका प्रतिनिधिसभा उम्मेदवार पोल्देन छोपाङ गुरुङ र मनाङ प्रदेश सभा (क) बाट उम्मेदवारी दिएका राजनबहादुर गुरुङले पनि काठमाडौंमा रहेका मनाङेका घरघर पुग्ने, पारिवारिक भेटघाट गर्ने र भलाकुसारीसँगै मत माग्ने गरेका छन् । उनीहरूले दसैँ र तिहारको बीचमा मात्रै काठमाडौंका पाँच सयभन्दा बढी मनाङेलाई भेटे । विदेशमा रहेकाहरूसमेत पर्वका वेला घर फर्किने भएकाले सबैलाई काठमाडौंमै भेट्दा उनीहरूलाई फाइदा भयो । अधिकांश नातागोताकै पर्ने भएकाले ढोगभेटसँगै खानपिन गरेर रमाउँदै मत मागे । पोल्देन अहिले पनि काठमाडौंमै छन् भने राजनबहादुर बेँसीसहर पुगेका छन् । पोखरामा र बेँसीसहर बस्नेसँग पनि भेटघाट गर्ने योजना उनीहरूको छ ।
‘अन्य जिल्लाको भन्दा मनाङको राजनीति अलिक भिन्न छ । यहाँ ठूलाठूला सभा–सम्मेलन हुँदैनन् । मत माग्ने घरघर पुगेरै हो । प्रायः मतदाता काठमाडौं, पोखरा र बेँसीसहरमा बस्छन् । उनीहरू मनाङ जाने मतदान गर्नका लागि मात्रै हो,’ राजनबहादुरले भने, ‘त्यसैले मत माग्न हामी उहाँहरू बस्ने घरमै पुग्छौँ । दसैँ र तिहारमा यस्ता धेरै भेटघाट भए । पारिवारिक माहोल बन्यो । पोल्देन माननीयज्यूले पनि काठमाडौंकेन्द्रित प्रचारप्रसार लगभग सक्नुभएको छ । मनाङको निर्वाचन राजनीतिकभन्दा पनि पारिवारिक प्रकृतिको भएकाले परिवारभित्रै प्रतिस्पर्धा र हारजित हुन्छ । मतदातालाई जबर्जस्ती गर्ने भन्ने नै हुँदैन ।’
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि मनाङमा प्रतिस्पर्धामा रहेका मुख्या गुरुङले काठमाडौंमा रहेका नातागोता र पारिवारिक ढोगभेटलाई महत्व दिएर प्रचारप्रसार गरिरहेका छन् । उनी पहिलोपटक चुनावी मैदानमा रहेकाले पनि भेटघाट अझ बाक्लो बनाएका छन् ।
थोरै मतदाता रहेकाले मनाङमा हारजित पनि थोरै मतान्तरले नै हुन्छ । ०७४ को निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्यका लागि पोल्देन र टेकबहादुर नै प्रतिस्पर्धामा थिए । त्यसवेला पोल्देनले दुई हजार एक सय ६७ मत ल्याएर चुनाव जितेका थिए भने टेकबहादुरले एक हजार एक सय १९ मत ल्याएका थिए । मनाङमा दुई हजार मत कटाउने उम्मेदवारले नै जित्ने निश्चितप्रायः हुन्छ ।
विगतमा मतदातालाई हेलिकोप्टर चार्टर गरेर पु¥याउने उम्मेदवारले मत प्रभावित पार्ने गर्थे । तर, अहिले त्यस्तो अवस्था भने छैन । प्रतिनिधिसभा उम्मेदवार टेकबहादुरले भने, ‘पहिला–पहिला मनाङमा सडक पुगेको थिएन । मतदातालाई मतदानस्थलसम्म लैजान कतिपय उम्मेदवारले हेलिकोप्टर पनि प्रयोग गरे होलान् । तर, अहिले अवस्था फेरिएको छ । मनाङमा सडक पुगेको छ । सार्वजनिक यातायातका साधन मज्जाले चल्छ । त्यसो हुँदा मतदाता बसबाटै मनाङ पुग्छन् । सहजताका निम्ति बस मिलाउनेसम्मका काम उम्मेदवारबाट हुन सक्लान् ।’
नतिजा अनपेक्षित
मनाङे पार्टी राजनीतिभन्दा पारिवारिक सम्बन्धप्रति प्रतिबद्ध हुन्छन् । त्यसैले स्थानीय तहमा पार्टीका उम्मेदवारले प्राप्त गरेको मत हेरेर नतिजा आकलन गर्नु मनाङको हकमा गलत हुन सक्छ । मनाङका चार स्थानीय तहका २७ मध्ये सात वडामा स्वतन्त्रले चुनाव जितेका छन् । पाँच वडामा कांग्रेसका उम्मेदवार र दुईमा एमालेका उम्मेदवार निर्विरोध भएका छन् । तर, स्थानीय तहमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा भएको देखिन्छ । जसमध्ये दुईमा एमाले र दुईमा कांग्रेसले जितेका छन् । मनाङको राजनीतिलाई नजिकबाट नियालेका नासो गाउँपालिकाका पूर्वअध्यक्ष चन्द्र घले भने राजनीतिक दलबाटै टिकट पाएको हुँदा पारिवारिकजस्तो देखिए पनि प्रतिस्पर्धा दलबीच नै हुने दाबी गर्छन् । ‘मनाङको राजनीति अन्यत्रको भन्दा फरक छ । हेर्दा पारिवारिक प्रतिस्पर्धाजस्तो देखिन्छ । तर, खासमा त्यो दलबीचकै प्रतिस्पर्धा हो । दलबाटै टिकट लिने हो । चुनावी नतिजामा केही फेरबदल हुनु अलग विषय हुन्,’ उनी भन्छन् ।